नीलो पहाड र तिम्रो नीलै सर्ट (कविता)

त्यो नीलो पहाड
र तिम्रो नीलो सर्ट उस्तै छ
दुवै शान्त

ती पहाडका डाँडाभरि
राता गुराँसहरू पोखिएका छन्
रातै लालुपातेहरू छरिएका छन्
र जोतिरहेको किसानले रोपिरहेछ रातै बीउ

तिम्रो नीलो सर्टभित्र छ रातै मुटु
र रातै रगत

पहाडमा आमाको सिउँदो रङ्गिएर बनेको छ
भविष्यसम्म हिडिरहने बाटो
बुबाको आँखाका डोबबाट बनेको छ
सन्तानले तिर्खा मेट्ने कुवा
हजुरबा हजुरआमाका काख लिएर बसेका छन्
चौतारिका वरपिपल
र सधैँसधैँ मुग्लानीलाई पर्खेर बसिरहने
कमेरो घर छ
नजिकैको पहराको ओसिलो छायासँग
दुःख साटिरहने आँगन छ

तिमीसँग आमाले नग्रा खियाइ दिएको
उकालीओराली छ
बुबाले झुसि भरेर दिनु भएको
एक टोपी माया छ
झरिहुरि छलिदिएको फुसको घरको
अमिट झझल्को छ

ती पहाड अझै
नीला नदी खोकिलाबाट बगाएर
खोजिरहेछन् कुलमान घिसिङहरू
भर्खरै आफ्नो पटुकीबाट हराएका
खेतबारीमा फल्ने सुनहरू
जबरजस्त समय उग्राएर
बसिरहेका छन् पहाडहरू

रेखा सुवेदी

तिमी अँध्यारो ईतिहास भत्काएर आएको
योध्दा हौ
तिम्रा हत्केलामा नीला ठेलाहरू छन्
जरुवा छ निधारमा
नीलै पसिनाहरूको
र ओठबाट नीलै शब्दहरू जुलुस लाइरहेछन्

पहाड काँध थापिदिएर बसेको छ
र तिमीलाई दिएको छ एउटा उचाइ
तिमी त्यहीबाट थालिरहेछौ भोलिको उज्यालो यात्रा

मलाई नीलो पहाड र
तिम्रो नीलो सर्ट उस्तै लाग्छ
पहाडमा रातो गुराँस छ
नीलो सर्टभित्र ज्युँदो तिमी
र रातो सपना

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित