घोडा (कविता) : हेम विश्वकर्मा

एकदिन साथी
दौडाउनु छ
कर्णाली तिरैतिर
न्यायको सामाजिक घोँडा

संविधानको लगाम लाएर
अर्थतन्त्रको बलियो खुट्टा भएको
समानताको लठ्ठीले चुट्दै चुट्दै
बडो उल्लासका साथ
एकदिन साथी
दौडाउनुछ
गण्डकी तिरैतिर
समृद्दीको आर्थिक घोडा

हेम विश्वकर्मा

संघियताले पोसेर
धर्मनिरपेक्षताले पालेर
असमानतालाई टेक्दै टेक्दै
सामाजिक विभेदको धुलो उडाउँदै
नमिल्दा विचारहरुका चुरे नाघ्दै
एकदिन साथी
दौडाउनुछ
कोशी तिरैतिर
स्थिरताको राजनैतिक घोडा

तर साथी
मरिसकेका घोडचढीहरु
दौडाउन खोजिरहेछन्
हाम्रो छातीमाथी
एकात्मकताको राजतान्त्रीक घोडा ।

प्रतिक्रिया

सम्बन्धित