पर्यटकिय स्थलमा साहित्यिक जमघट

मोरङ / मोरङको बेलबारी नगरपालिकामा रहेका पर्यटकिय र पुरातात्विक महत्व बोकेका स्थलहरुमा साहित्यिक जमघाट भएको छ । नेपाल र भारतका चर्चित साहित्यकारहरुको जमघटले बेलबारी ४ मा रहेको बेतना सिमसार र ५ मा रहेको धनपालगढी समेतका पर्यटकिय स्थल शुक्रबार र शनिबार स्रष्टामय बन्यो । गोकुलम, ओसियन पार्क लगायतका पर्यटकिय स्थलको पनि साहित्यकारहरुले अवलोकन गरे । पर्यटकिय एवं पुरातात्विक महत्व बोकेका स्थलमा भएको साहित्यिक उपस्थितीले पर्यटकिय स्थल र साहित्यबीचको सम्बन्धलाई सुमधुर बनाउन मद्धत गरेको बेलबारीका समाजसेवी एवं साहित्यप्रेमी प्रताप थापाले बताए । उनका अनुसार स्रष्टा समाज बेलबारीद्धारा आयोजित साहित्यिक विवेचना र कवि गोष्ठीमा भाग लिन भारतका सिक्किम, दार्जेलिङ, कालिमपोङ, जलपाईगुडी समेतका स्थानबाट साहित्यकारहरु बेलबारी आएका हुन् ।

स्रष्टा समाज बेलबारीका अध्यक्ष एवं पूर्व सांसद हर्कमान तामाङले कला साहित्यको जगेर्ना र दुई देशबीचको साहित्य सिर्जनाका बारेमा जानकारी लिने र दिने हिसावले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनका अनुसार नेपाल र भारतमा वर्तमान नेपाली साहित्यको अवस्थाका बारेमा दुई देशका साहित्यकारबीच चर्चा समेत भएको छ । कार्यक्रममा भारतीय भूमिमा बसेर पनि त्यहाँका साहित्यकारहरुले नेपाली साहित्य सिर्जनाको विकासमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरिएको जानकारी तामाङले दिए ।

भारतका नेपाली भाषी साहित्यकारहरुको सम्मान, स्वागत र सद्धभावमा बेतना सिमसारमा बाचन गरिएको कविताले सबैको मन छोएको थियो । साहित्यकार अमृत आचार्य (आचार्य अ) ले रचना गरेको ‘सीमाबाहिरका नेपालीहरुसंग’ शीर्षकको छन्द कविता साहित्यकार सुमित्रा पोखरेलले बाचन गर्दा सबै मन्त्रमुग्द बने । प्रवासी साहित्यकारलाई लक्षित गर्दै ‘आफ्नो देश हुँदा हुँदै पनि तिमी केले प¥यौ बाहिर, भाषा, भेष, कला र संस्कृति सबै छन् उत्तिकै आखिर’ भनेर पोखरेलले सुरु गरेको कविताले भारतका नेपाली भाषी साहित्यकारहरुको मन चस्काएको थियो । कविताले उनीहरुलाई आफूहरु साँच्चिकै नेपाली हुँदा हुँदै विभिन्न कालखण्डमा परिस्थितीले सीमापारीको बन्नु परेको भान गरायो ।

कार्यक्रममा मनप्रसाद शुब्बा, सुजनहाङ, राजकुमार तिम्सिना, डा. राजकुमार छेत्री, अमर वानिया ‘लोहोरो’, देवराज शर्मा, मेहरमान शुब्बा, रेमिका थापा, जयकुमार राई, मुक्तिनाथ शर्मा, कैलाश पाण्डे समेतका चर्चित नेपाली भाषी भारतीय साहित्यकार उपस्थित थिए । रेखा सुवेदी, अनिल पौडेल, बद्री अधिकारी, जयन्ता पोखरेल, बिन्दु दाहाल ‘मुकदर्शक’, मिश्रा वैजयन्त्री, सरोज दर्नाल, देवी वैरागी घिमिरे, सोम भट्राई, यज्ञराज सुवेदी ‘सुशेली’, जयबहादुर घिमिरे, मैयाँ रनपहेंली, उमा सिजापती, दीपक ‘शम्चु’, आचार्य अ, गोकुल राई, लक्ष्मी थापा, अनिल पौडेल, प्राडा सुष्मा आचार्य, डा, रामजी तिमल्सिना, प्राडा भीम खतिवडा लगायतको उपस्थिती थियो ।

कार्यक्रममा नेपाली तथा नेपाली भाषी साहित्यकारहरुले आआफ्ना रचना बाचन गरे । भारतबाट आएका नेपाली भाषी साहित्यकारहरुले नेपाली भूमि र नेपाली माटोको सम्मानमा आफ्ना सिर्जनाहरु बाचन गर्दा माहोल साहित्यमय बन्यो । उनीहरुको सिर्जनाले शान्तिका दुत गौतम बुद्ध नेपालमै जन्मिएको प्रष्ट्याउने काम पनि गरेको थियो । जसले जहाँबाट दावी गरे पनि बुद्ध नेपालमै जन्मिएको र नेपाललाई शान्तिभूमिका रुपमा विश्वमा चिनाउनु पर्नेमा नेपाली भाषी भारतीय साहित्यकारहरुको जोड थियो । नेपाली साहित्यकारहरुले मायाँ प्रेम, मुलुकले भोगिरहेका समस्या, समसामयिक राजनैतिक परिवेष, छिमेकी मुलुकबाट सहनु परिरहेको थिचोमिचो, नेपाल र भारतबीचको साहित्यिक सम्बन्ध लगायतलाई उजागर गर्ने हिसावले तयार पारेका सिर्जना सुनाएका थिए ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले कला साहित्य समाजको वास्तविक पहिचान भएकाले साहित्यकारका कलम सुस्पष्ट र प्रभावकारी हुनु पर्नेमा जोड दिए । साहित्य समाजलाई बाटो देखाउने, उज्यालोतर्फ, सभ्यतातिर र सुव्यवस्थातिर जान उत्प्रेरित गर्ने विषय भएकाले यसको विकासमा स्थानीय सरकारकातर्फबाट सबै हिसावले सहयोग गरिने बताए । सामाजिक चिन्तन र चेतनाको अथोचित विकासमा अहिलेको साहित्य सिर्जनाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने सुझाव सुवेदीले दिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित