अन्यौलमा प्रदेश १ को नाम र राजधानी

मोरङ । प्रदेश १ को नाम के राख्ने र स्थायी राजधानी कहाँ बनाउने भन्ने बिषयमा अझै पनि अन्यौलता कायमै रहेको छ । प्रदेशसभाको हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने भनिए पनि प्रदेशसभामा एजेन्डा प्रवेश गराउने विधिको विषयमा संसद सचिवालय नै अहिलेसम्म बेखवर छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुस दोस्रो साताबाट संसद सुरु हुने र त्यसमा प्रदेश नामाकरण र राजधानीको विषयलाई औपचारिक रूपमा प्रवेश गराइने बताउँदै आएका छन् । तर, त्यो विषयलाई कसरी प्रवेश गराउने भन्ने विषयमा भने संसद सचिवालय, सभामुख तथा कार्यव्यवस्था परामर्श समिति कतै पनि औपचारिक रूपमा छलफल भएको छैन । यो बिषयमा सचिवालयसँग कुनै परामर्श समेत भएको छैन ।

संसदमा मुख्यरुपमा तीन विधिबाट प्रदेशको नामाकरण र राजधानीको प्रस्तावअघि बढाउन सकिने भएपनि त्यो हुन सकेको छैन । अहिलेसम्म अन्य प्रदेशले गरेको अभ्यासका आधारमा नामाकरण र राजधानीका लागि अध्ययन समिति गठन गरेर त्यसले पेश गरेको प्रतिवेदनमाथि छलफल गरी मतदान गर्ने, कार्यव्यवस्था समितिले निश्चित कार्य्विधि बनाएर त्यसका आधारमा प्रस्ताव अघि बढाउने वा सोझै सामान्य प्रस्तावको रूपमा संसदमा छलफल गर्ने विधि अपनाउन सकिने प्राबधान रहेको छ ।

अहिलेसम्म प्रदेश नामाकरण र राजधानीको विषयले संसदमा कुनै पनि रूपमा प्रवेश पाएकै छैन । ‘बजेट अधिवेशनको अन्तिम समयमा सदनमा प्रदेशसभा सदस्यहरूले प्रसंगवस छलफल गरे तरपनि औपचारिक रूपमा संसदमा त्यो विषयले प्रवेश पाएन । दशैँ अघि नै प्रदेशको नाम र राजधानीको विषयलाई अघि बढाउने उद्देश्यले दुई तिहाई सदस्य भएको नेकपाको संसदीय दलको बैठकमा छलफल भएको भएपनि संसदमा प्रस्ताव ल्याउन भने सकेको थिएन । हिउँदे अधिवेशनको लागि संसद सचिवालयमा विभिन्न छवटा विधयेकहरू दर्ता भएका छन ्। तर, नाम र राजधानीको विषय अन्यौलमै छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित