हरियाली सहर कि प्रकृति दोहन ?

स्मार्ट सिटि ?  जब धुलो, फोहोरमैलाको उरुङ चुलिन थाल्छ तब छेपाराको घर बनाउने कथा सुरु हुन्छ । अदूरदर्शी सोचमा अव्यवस्थित सहर विस्तार अर्कातिर सार्वजनिक स्थानका स्मार्ट शौचालयका योजनासँग हरियाली वातावरणका विषय गफमा निकै मार्मिक बन्छन् । काठमाडौँ जस्तो घना बस्ती बाक्लिसकेको सहरमा स्मार्ट सिटि निर्माणका बहस टेबलमा, कागजमा मात्र सम्भव हुने लाग्दैन ?

के सुन्दर सहरको संरचनाका लागि यहाँका कसैको कुनै घर या बस्तीलाई सार्न सकिएला ? समस्या घटाउने बाचामा मान्छे उराल्ने रणनीतिलाई पनि कुराजनीतिको रोग लाग्छ । वर्षायाममा फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रणका कुरा हराउँछन् । घरभित्र फोहोर कुहिएर फोहोरको गाडिको प्रतीक्षा गरिरहने हद नाघेपछि खुला स्थानमा उरुङ लाग्छ । देखिन्छ नि, “यहाँ फोहोर फालेमा यस्तो कारबाही हुनेछ, यति जरिवाना हुनेछ अर्थात् जथाभावी फोहोर फाल्ने मानिस असभ्य हो” बिचरा एक महिनासम्मको फोहोरको पोको आफ्नै कोठामा कुहाएर कति सभ्यता टिकाउला मानिसले ?

काठमाडौँ, विराटनगर, जनकपुरजस्ता कतिपय नेपालका सहरमा फोहोर व्यवस्थापन मात्रै पनि वातावरण संरक्षणको एउटा आधार बन्न सक्छ । काठमाडौँमा मात्रै १० लाख बढी प्लास्टिक प्रयोग हुने अनुमान गरिन्छ । सामान्य अवस्थामा एउटा घरमा ५ देखि १० केजीसम्मका बोत्तल, फोहोरजन्य पदार्थ फाल्ने तथ्याङ्कको नतिजासँगै हाम्रो देशमा दैनिक प्लास्टिकजन्य फोहोर मात्रै २०४ टन हुने फोहोरमैला प्राविधिक सहयोग केन्द्रको तथ्याङ्कलाई केलाउन सकिन्छ ।

रमेश भट्टराई ‘सहृदयी’

संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय ऐक्यबद्धता जाहेर गरेका सुन्दर खबरका बिचमा सुन्दर देश नेपाल आपूm दोषी नहुँदा समेत जलवायु परिवर्तनको सिकार बनिरहेको छ । बुद्धिजीवी, सचेतकको बृहत छलफलका क्रममा उक्त सम्मेलनको दोश्रो वर्ष अर्थात् ५ जुन १९७३ देखि विश्वमा वातावरण दिवसलाई अन्तर्राष्ट्रिय स्तरबाटै अङ्गीकार ग¥यो । यता नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ लाई ‘राष्ट्रिय सरसफाइ अभियान वर्ष’ को रूपमा मनाउने घोषणा पनि गरेको छ । विडम्बना, फोहोरले सडकको नाली थुनिन्छ, वार्षिक करिब २२ अर्ब बराबरको प्लास्टिक आयात गर्ने नेपालको अवस्थासँगै अन्य विकसित देश पनि यसबाट अछुतो त छैनन् । तर, व्यवस्थापन कि विकल्प भन्ने विषय आपैmँमा रहस्यात्मक छ ।

नेपालका पाल्पा, इलाम, दमक लगायतका केही जिल्लाले २० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलालाई निषेध गरेको पाइन्छ । स्वच्छ स्वासमा हावा लिएर वातावरणसँग रमाउन चाहनु मानिसको मात्रको पेवा रहर होइन । सारा जीव प्रकृतिकै उपज हुन् । तिनलाई पनि स्वतन्त्र बाँच्न पाउने अधिकार यो प्रकृतिले दिएको हो । फोहोरको टोकरीरूपी यो धर्तीमा मानिस वास्तविक सबैको बाधक बन्दै छ । प्रकृति संहारक मान्छेले आफ्ना लागि यो सुन्दर प्रकृतिलाई नरक त बनाएकै छ साथमा सजीव प्राणीको अस्तित्वमा समेत प्रहार गर्दै छ । यहाँ हावा, पानी, माटो, स्वच्छतालाई पैसाले किन्नुपर्ने चिज बनाइरहिने हो भने सजीव प्राणीको अस्तित्व कसरी सम्भव रहला ।

सगरमाथाबाट सङ्कलित फोहोरको व्यवस्थापनका प्रक्रियासम्म आइपुग्दा वातावरणीय प्रदूषणका विषय भयावह बन्दै छन् । बेलाबेलामा वातावरणीय संरक्षणका नीतिलाई अगाडि सार्दै २० वर्ष पुराना यातायातका साधनलाई विस्थापन गर्नेदेखि प्लास्टिकको झोला उत्पादनका कडाइ गर्नेसम्मका योजनालाई अघि सार्दै प्रदूषण परीक्षणका नीतिगत आधारलाई पनि तय गरिएका खबर आउँछन् । एक झ्वाँकमा आएर बिलाउँछन् । हामी सन्ततिलाई शिक्षित बनाएर प्रकृतिलाई जोगाउन सिकाउने विषयलाई उत्तम मान्नै छोड्यौँ । मानिस, प्रकृति र जीवको सहसम्बन्ध किताबमा सीमित हुन्छ ।

यहाँ ‘क्लीन सिटि’को भाषण भइरहँदा राजधानीमा ८९.५ प्रतिशत वायु प्रदूषण डिजेलबाट चल्ने गाडीबाट हुने साथै उद्योगको अस्तव्यस्तता र पुराना मेसिन, अव्यवस्थित बसोबास, मानवीय लापर्वाही आदि गन्जागोल धुलमाण्डौँका कथा उस्तै लाग्छन् । विश्वले परिवर्तनका अनेकौँ स्वरूपलाई अपनाएर दगुरिरहँदा हाम्रो मुलुकमा दसैँको मुखमा डिजेल, पेट्रोल, ग्याँसमा झनै महङ्गी बढिरहेको छ । विश्वमा शून्य प्रदूषण परियोजनाका नीति तथा कार्ययोजनाहरू तय भइरहेका छन् । सोचौँ, बेलायतले सन् २०४० देखि, स्कटल्यान्ड, नेदरल्यान्ड, चीन, भारत र फ्रान्सले २०३० देखि, नर्वे र अस्ट्रेलियाले २०२५ देखि, फिनल्यान्डले २०३९ देखि डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनमा रोक गरी विद्युतीय सवारीका अवधारणा तथा अत्याधुनिक प्रदूषणरहित सवारीसाधन प्रयोग गर्ने नीतिलाई सार्वजनिक गरिसकेका छन् । आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्ने तर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै स्वतन्त्र पन्छीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजाउनु आवश्यक छ । प्राणी अस्तित्वरक्षाको बाटो खन्नु जरुरी छ ।

दिवा स्पप्ना

अर्काको देशमा घुमेपछि यहाँको परिकल्पना गर्ने तर अव्यवस्थित सहरका घरैको घना जङ्गलमा कुनै रुख रोप्ने परिकल्पना दिवास्वप्ना लाग्दैन । एउटा भत्केको धुलाम्मे रोड बनाउन वर्षौँ कुर्नुपर्ने गफाडी नीतिमा विकासको गति कति तिव्र होला । हरियाली सहर बनाउन भन्दै वन फडानी गर्ने सोच र कल्पनामा कमसेकम सुन्दर, सफा र व्यवस्थित सहर बनाउने पाटोमा सचेतना छ र ? हिजो गाडीको हरनले कान खाने सहरमा केही राहतको महसुस गरिरहँदा नीति नै बलियो हुनुपर्ने रहेछ । सहरीकरणको दीर्घकालीन सोच नहुँदा आज काठमाडौँले भोगेको दुरावस्थाबाट मुलुकका अन्य सहरले पाठ सिकेर बेलैमा सचेत बन्नुपर्छ । काठमाडौँमा एकहप्ता फोहोर नउठ्दाका पीडा, हैजाको भय, रोग वृद्धि हुने पिरलो जस्ता समस्याका चाङ देखा पर्छन् । नेपाल वातावरण प्रदूषण गर्न माहिर देश भइरहँदा विश्वसम्पदा सूचीका हाम्रा धरोहरहरू वसन्तपुर दरबारदेखि पाटन दरबार स्क्वायर जस्ता क्षेत्रहरूलाई उक्त स्थानबाट च्युत हुनुपर्ने हो कि भन्ने भयसँग वर्तमान सरकार कति सचेत छ ?

वैज्ञानिक बस्ती तथा ढल व्यवस्थापनको साटो भद्रगोल सहरको दुरावस्थाको दबदबामा हरेक खुला सडक दुर्गन्धित र सौन्दर्यहीन लाग्छन् । गाउँका स्वच्छ पाखा पखेरीमा थोत्रा, पुराना जुत्ताचप्पल, प्लास्टिकले अलिअलि विस्तारवादी नीति लिएर दौडिँदै गर्दा पाटी, वनभोज या शुभ–अशुभ कार्यहरूमा सर्वश्रेष्ठ प्राणी मानिसले प्रकृतिका गर्भमा फोहोरपदार्थ फाल्नुलाई मन सानो पार्दैन, मान्छे । सिसा, टिनजन्य प्रकृतिका अपाच्य पदार्थलाई बिना हिचकिचाहट मिल्काउने आधुनिक आडम्बरमा गमक्क पर्ने मानिसले आपूmलाई प्रकृति विध्वंसक हुँ भन्न चाहँदैन ! हाम्रो सनातन संस्कारले सिकाएको वृक्षारोपण, प्रकृतिसंरक्षण तथा प्रकृतिपूजादेखि आजका पढाइने विषयमा राखिएका विषय भाषण, पढाइ र भावनामा अल्झिरहेकै छन् ।

विकास र परिवर्तनका नाममा कृत्रिमताको ढोल मात्र पिटेमा पुस्तौँपुस्ताले प्रकृतिको सजाय भोग्नुपर्ने कुरामा बोध हुनुपर्छ । वर्तमान सन्दर्भमा वायु, भूमि, ध्वनि र जलप्रदूषणको मुस्लोले मुलुकका लाखौँ मानव शरीरका अङ्गप्रत्यङ्ग मक्काउँदै छ । आज मानवीय सुविधाका लागि विकसित वैज्ञानिक सामग्रीको उचित उपयोग तथा फोहोरजन्य सामग्रीको व्यवस्थापनमा दर्बिलो तौरतरिका नहुँदा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता ग्यासको मात्रा बढेर अनगिन्ती थाहै नपाएका डरलाग्दा रोग जन्मिरहेका छन् । यो हाम्रो देशको मात्र दोष होइन तर हामी जलवायु परिवर्तनको सिकार बनिरहेकै छौँ । यहाँका सेताम्मे हिमाल पग्लिरहेका छन् । कतै दाना नलागेका मकै उब्जेका घटना कतै बिउ नउम्रिएका पीडा सुनिन थालिएका छन् । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा समेत् खाद्यचक्रको असन्तुलन हुनु, तापक्रमको बृद्धि हुनु, हिउँ पग्लिरहनु अर्थात् दैनिक जीवनका लागि अपरिहार्य पारिस्थितिक पद्धति खल्बलिनुले चुनौती बढ्दो छ ।

अबको आवश्यकता

कहिलेकाहिँ मन्त्रीजीले खरेटो बोकेको समाचार चर्चामा आउँछन् । हो, वाग्मती, विष्णुमती लगायत सडक सरसफाइको एकता कार्यक्रम तथा यदाकदा हुने गरेका राजधानीमा सफाइ अभियानसँगै घरटोल सफाइ गर्ने, नदी स्वच्छ पार्ने कार्यलाई त सह्राहना गर्नैपर्छ । प्रकृति संरक्षणमा वृक्षारोपण, वातावरण तथा वन व्यवस्थापनका हरेक तह तप्काले जाग्ने कार्य ढिलो भइसकेको प्रतित हुँदैछ । अल्पकालीन तथा दीर्घकालीन योजनासँग एकताको नातो गाँसेर पर्यावरणीय स्वच्छताको महायज्ञमा सचेत नागरिक अवश्य होमिन्छ । अबको संघीय सरकारले बेलैमा सचेत रहनु आवश्यक छ ता कि नेपालका पवित्र स्थलमा कुरूप ढाँचाका अव्यवस्थित बस्ती बस्न थाले । व्यवस्थित सहर र प्रदेश राजधानी बनाउने अभियानमा कदम चाल्दै गर्दा हरियाली सहरको पक्षमा जोड दिइयोस् । वर्षात्ले सास फेर्ने बाटो बनाउँदै गए हिलाम्मे हुने अनि वर्षात् रोकिएको केही घण्टामै उस्तै धुलाम्मे सहरबासीका स्वस्थतामै सङ्कटका लप्काले हिर्काइरहेका छन् । बढ्दो असचेत तथा अव्यवस्थित सहरीकरण र औद्योगीकरण, परम्परागत इँट्टाभट्टा तथा कोइला प्रयोग, पुराना सवारी साधन लगायत धुवाँ प्रदायक कारखनाहरूबाट निर्लज्ज फ्याँकिएका प्रदूषणका डङ्गुरले प्रकृति धमिलिँदो छ । थोत्रा सवारी साधनलाई विदाइको सिन्दुर पहराएर वैज्ञानिक यातायातका व्यवस्थापनका योजनाका कुराले राहत दिनै सकेन ।

आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्ने तर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै पक्षीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजेमा मात्र प्राणी अस्तित्वरक्षाको बाटो सोझिने आशा बढ्छ । अब करिब ६० प्रतिशत कार्बनडाइअक्साइडलाई सोस्ने तथ्यलाई नियालेर ‘हरियो वन नेपालको धन’ उखानलाई चरितार्थ गर्न बाक्ला बस्तीजन्य सहरदेखि निर्माणाधिन बस्तीले बुझ्नुपर्छ । स्थानीय सरकारबाटै दीर्घकालीन समस्यालाई ध्यानमा राखेर कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरी कुहिने फोहोरबाट प्राङ्गारिक मल तयार पारेर कृषकले करेसाबारीमा रमाउन पाऊन् ।

फोहोरका टोकरीले कुना कन्दरामा भिक्षादान माग्न थालून्, दीर्घकालीन वैज्ञानिक बस्ती व्यवस्थापनको नीतिले जिउन पाओस् । कुहिने र नकुहिने फोहोरबाट रुपैँया फल्दै गर्दा ‘फोहोरबाट मोहर’ भन्ने भावसँगै किसानले प्राङ्गारिक मललाई कोठेबारीमा घोप्ट्याओस् । कोही फोहोरबाटै बिजुली उत्पादनमा जुटून्, वैज्ञानिक र दीर्घकालीन प्रदूषण नियन्त्रण र रोजगारको दुई हातका लड्डु फलोस् । पुनः प्रयोग गर्न सकिने, प्रशोधन गर्न सकिने तथा नवीकरणद्वारा प्रयोगमा ल्याउन सकिने सामग्रीको सूची तयार पारेर प्रदूषण व्यवस्थापनका साथमा आय आर्जन र रोजगारको दोहोरो फाइदाका सम्भावनाहरू तड्पिरहेका छन्– सभ्यता सिक्न लालायित मानवबस्तीहरू । साथमा कानुनको दायराले निःस्वार्थ र दादावादका धब्बाबाट बच्न आम नागरिकको दायित्व जोडिन्छ । धुवाँरहित इलेक्ट्रिक यात्रु बस सञ्चालन गर्नसक्ने सम्भाव्यता बोकेको राजधानीले कमसेकम सडकका छेउमा प्रचारका लागि मात्र नभएर अपरिहार्य स्वच्छताको हरियाली वृक्षरेखामा साइनो जोडोस् ।

प्रतिक्रिया

सम्बन्धित