कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

मामुली एउटा कागज न हो
कागज हामी दिन्छु
मसी हामी दिन्छु
सिर्फ मेरो मान्छेको नागरिकता दिनुस् ।
शनिबार इटहरीमा कवि बद्री भिखारीले आफ्नो कविताकृति समुद्र साउती भित्र रहेको नागरिकता शीर्षकको कविता सुनाउँदा हलमा परर्र ताली बज्यो । कवि भिखारीको भर्खरै प्रकाशित भएको कविताकृति समुद्र साउतीको होमलन्च कार्यक्रममा भिखारीले कविता लेख्न नछाड्ने र निरन्तर लेख्ने बताउँदै आफ्नो संग्रहको दुईवटा कविता वाचन गरेका थिए ।
तर
यतिका समय
बेहिसाब बेखुस बाँचेँ
म राम्रै रहेछु त !
तिमीले उहिल्यै मलाई राम्रो भन्नुपर्दैनथ्यो ?

हलमा आमन्त्रित युवा कविहरु भिखारीले ‘तिमीले राम्रो भनेपछि’ शीर्षकको कविता वाचन गर्दा एकआपसमा कानेखुशी गर्दै कविताको स्वाद लिइरहेका थिए । इटहरीको कोशी सेन्ट जेम्स कलेजमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कवि जसराज किराँतीले लेख्ने कुरा समाजमा धेरै रहेको र त्यसलाई शील्पात्मक तरिकाले लेख्न कठिन हुने बताउँदै भने ‘बद्री एउटा कर्मचारी मात्रै होला भन्ने लागेको थियो होइन रहेछ ।’ सरल कविता लेख्नका लागि धेरै मुस्किल हुने र भिखारीको कविता सरल रहेको उनको टिप्पणी थियो । ‘हामीले साहित्यको हत्या गर्न हुन्न, साहित्य के हो त्यो पट्टी लाग्न आवश्यक छ,’ किराँतीले भने, ‘मानिसले कविता बुझ्न नजानेपनि सुन्न जान्नपर्छ ।’

कार्यक्रममा शुभकामना मंतब्य राख्दै बरिष्ठ भाषाविद् प्रा. डा टंक न्यौपानेले भने, कविता के हो त्यो संसारमा परिभाषित भएको छैन, तर जुन कुराले मन तान्छ त्यो कविता हो । भिखारीका कविताहरु सरल र सुन्दर रहेपनि बीचको समयमा एक दशक सम्म कविता नलेखिरहेकोप्रति न्यौपानेले भिखारीलाई इंगित गर्दै आगामी दिनमा निरन्तर कविता लेख्न शुभकामना दिए । त्यस्तै कार्यक्रममा बोल्दै बरिष्ठ कवि मनु मञ्जिलले कवि भिखारी समयकाल, परिस्थिति अनुसार चल्ने बताए । ‘समकालिन कवि भएर उभिन सक्नु ठूलो कुरा हो,’ उनले भने, ‘तपाईँले प्रेम गर्नुभयो, खाली ठाउँमा के गर्नुहुन्छ ? कि कविता लेख्नप¥यो, कि गीत लेख्नप¥यो त्यो कुरा गोल हान्नु बराबर हो ।’ प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले शुभकामना दिदैँ भिखारी एउटा सरकारी कर्मचारी रहेर पनि निरन्तर कविताको साधना गर्नु सराहनीय रहेको बताए ।

कार्यक्रममा भिखारीको कवितासंग्रहबाट कवि सन्तोष थेवेले हजुरआमा र उज्यालो, कवि राजेश बिद्रोहीले सिदार्थ, कवियत्री टीका आत्रेयले जस्तो–जस्तो, रंगकर्मी सोनु जयन्तीले ऐना शीर्षकको कविता वाचन गरे । कार्यक्रमको दोस्रो चरणमा कवि रमेश सायनले भिखारीलाई प्रश्न गर्दै भने –‘तपाईँले बीचको समयमा १२ बर्ष कविता नलेखि बसेँ र सबैभन्दा आनन्द कविताले दिन्छ भन्नुभयो, त्यो बीचमा के ले आनन्द दियो ?’
भिखारीले उत्तर दिदैँ भने–‘कविको कविता कहिल्यै मर्दैन, मैले १२ बर्ष कविता नलेख्दा कविता सोचेर आनन्द लिएँ । कविता लेख्नभन्दा बढी आनन्द कविता सोच्नमा हुन्छ ।’ त्यस्तै कार्यक्रमको अन्तिम चरणमा समुद्र साउतीमाथी अन्तक्रिया गरियो । डा. रामजी तिम्सिना, सीमा आभास र देवान किराँतीले अन्तक्रिया गरेका थिए भने विराट अनुपमले सहजीकरण गरेका थिए । उनीहरुले कवि भिखारीको संग्रह पढेपछि उनी हल्ला भन्दा माथी उठेर कविता लेखेको बताएका थिए ।

‘पछिल्लो समय हल्लाले कवि भएकाहरु छन्, तर भिखारी हल्लाभन्दा माथी उठेर कविता लेख्छन्’ बक्ता मध्येका देवान किराँतीले भने । साहित्य सञ्चार प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा धरान, इटहरी, तरहरा, बेलबारी लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो । भिखारीको उक्त संग्रहभित्र ४० वटा कविता समावेश गरिएको छ । उनको यो तेस्रो कृति हो यसअघि मुक्तकसंग्रह र कवितासंग्रह प्रकाशित भएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित