बिकृत बन्दै चाडपर्व,यसरी मनाऔँ तिहार हुन्न ?

ईटहरी । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहार घर आँगनमा भित्रिसकेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो चाड चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्वका तिहार मनाउने गरिन्छ ।
यो पर्ब अन्र्तगत पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार मनाईसकिएको छ भने तेस्रो दिन गाईतिहार र लक्ष्मीपुजा चौथोदिन गोरुपुजा र पाँचौ दिन भाईपुजा अर्थात भाईटिका मनाउने गरिन्छ । गाईतिहारका दिनमा बेलुका भैलो र गोरुपुजाको दिन बेलुका देउसी खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ ।
तर पछिल्लो समय यमपञ्चक शुरु नहुँदै देउसी भैलो शुरु गर्ने र तिहार सकिएको एक सातापछि सम्म देउसी भैलो खेलेर रकम संकलन गर्ने अनि बनभोज र अन्य रमाईलोमा खर्च गर्ने प्रचलन समेत उत्तिकै बढेको छ । देउसी भैलोको नाममा संस्कृति भन्दा बिकृति बढदै गएको छ । फुलैफुल र बत्तिको झिलीमिलीका रुपमा मनाईने यो पर्ब संस्कृतिको संरक्षण भन्दा पनि बिकृत बन्दै गएको छ । जुवातासजन्य खेलहरु अधिक रुपमा खेल्न थालिएको छ भने खानपान र अन्य कुरामा बढी खर्च बढ्दै गएको छ ।

अब तिहारमा यसो गरौँ ?
तिहारमा जुवातासजन्य खेलहरु अधिक रुपमा बढनुका साथै अनाबश्यक खर्च र बिकृति बढदै गएको छ । तिहार त्यसैपनि झिलिमिली र रमाईलोको पर्ब हो । झिलीमिली पार्ने नाममा एउटा घरमा १ देखि ५ लाखसम्म बत्तिमा खर्च गर्ने प्रचलन बढेको छ । देखासिकीका नाममा यसरी अनाबश्यक खर्च बढिरहेको छ । देखासिकीका रुपमा भन्दा यो पर्बलाई हर्ष र उमंगका रुपमा लिएर एकअर्कामा भाईचाराको सम्बन्ध बिस्तार गर्दै यो पर्ब हर्षोल्लासका रुपमा मनाउनुपर्छ ।
तिहारमा बत्तिमा गर्ने लाखौ खर्चलाई घटाएर सो रकम गरिब र असाहयहरुलाई दिन सके झुपडी र उनीहरुको मनमा पनि दिपावली हुने छ । बिभिन्न अनाथ आश्रमहरुमा गरिब र असाहयहरु कष्टकर जिवन बिताईरहेका छन । उनीहरुलाई यस्ता अनाबश्यक खर्च कटाएर सहयोग गर्न सके बेश हुन्छ । जुवातास,जााडरक्सी र फजुल खर्च कटाएर असाहयहरुलाई सहयोग गरौँ,देउसी र भैलोका नाममा गलत कुरालाई पश्रय नदिऊ,अनाबश्यक बत्ति बालेर लोडसेङिलाई प्राथमिकता नदिऔँ ।

के हो तिहार ?
तिहारमा यमराज समेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक भन्ने गरिएको छ । यम यातनाबाट मुक्ति पाउन घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको छ ।
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । दोस्रो कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । तेस्रो दिन औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।
कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । चौथो दिन कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ । पाँचौ दिन तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।
यस्तो बिबिध साँस्कृतिक महत्वको यो पर्बलाई हामी सबैले आपसी सदभाव र भाईचाराको सम्बन्ध बिस्तार गर्दै एकआपसमा मिलेर मनाउनु जरुरी छ । यो पर्बमा हुने अनाबश्यक खर्चलाई घटाएर गरिब असाहय र दिनदुखीका लागी थोरै भएपनि सहयोग गर्न सकियो भने यो पर्बको महत्व झन बढेर जाने छ । हुनेखानेका लागी मात्र भन्दा हुँदा खानेका लागी समेत यो पर्ब बिशेष र समान बन्नुपर्छ । तिहारको सबैलाई शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित