सिमाको यौन शिक्षा

एनी तामाङ

 

संसारका सम्पूर्ण स्वास्थ जीवहरुले यौनेच्छा राख्छन् । मानिस अपवादमा पक्कै पर्दैन । जगतका सम्पुर्ण प्राणीको प्रजनन् प्रकृयाको लागि यौन अत्यावश्यक छ भनेर हामीलाई सर्वविदितै छ यद्धपि विज्ञानले प्रमाणित गरेकोछ कि बिना शारिरीक सम्पर्क नै सन्तानोत्पादन गर्न मिल्छ । तर आजसम्म यो सबै परिवेशमा लागु गर्न सम्भव भएको छैन । फेरी हामी यौन सम्बन्धित बिषयमा खुलेर कुरा गर्न किन सक्दैनौं ? हामी लजाउँछौ । फलानोले के भन्ला भनेर हामी डराउँछौं जब की फलानो पनि मैले वा तपाईंले के भन्नु होला भनेर डराइरहेको हुन्छ । कसैले त्यस बिषयमा खुलेर कुरा ग¥यो भने उसको नकरात्मक टिकाटिप्पणी गर्छौं । सरल भाषामा भन्दा उसको कुरा काट्छौं । कोही फुत्त आकाशबाट झरेको वा धरतीबाट निस्केको त छैन नि ! फेरी किन हामी बिरोध गर्छौं आफ्नै अस्तित्व राख्ने प्राकृतिक प्रकृयाको ?

मनोविज्ञान अनुसार जुन कुरा दबाबमा हुन्छ, त्यसले हामीलाई असह्य बनाउछ र बिस्फोट हुन धेरै समय लाग्दैन । इतिहास साक्षी छ दबावमा भएका कुराले विस्फोटको रुप लिएको । राणा शासनको अन्त्य त्यसै भएन । पञ्चायति ब्यवस्था त्यसै हटेन । अझ धार्मिक ग्रन्थ पल्टाउदा पनि यो कुराको प्रमाणित हुन्छ कि दबावले बिस्फोट निम्त्याउँछ । हैन भने कुरूक्षेत्रको युद्धलाई सम्झनुस् । यो कुरा हामीलाई थाहा नभएको बिल्कुलै होइन । फेरी किन हामी यौनका कुरालाई दबाउँछौ ? यसको परिणाम पनि त भोगेका या देखेकाछौं ! समाजमा बलत्कारको घटना दिनहुँ जस्तो मिडियामा आउँछन् । नआएका घटना कति होलान् ! त्यो घटनामा एउटी जवान महिला मात्र होइन, बच्चीदेखि बृद्दासम्म शिकार भएकाछन् । कहिलेकहीं त आफ्नै बुवा, दाईभाईबाट पनि बलत्कार भएको सुनिन्छ । त्यस्तै पुरुष पनि बलत्कार नभएको नहोलान् । मात्र सम्प्रेषण नहुँदा अन्जान नबनौं । तर जनावर जगतमा यो किन लागु हुन्न ? कारण स्पष्ट छ – त्यहाँ योनेच्छा दवाइएको हुन्न । वास्तबमा हामी जुन कुरा गर्न हुन्न भनेर बन्देज गर्छौ, त्यही गर्न आतुर भइन्छ । यो मानव गुण हो । अब यौनलाई ढाकेर राख्नु कत्तिको उचित होला त ?

यौनलाई पबित्रताको बिषयमा जोडेर हेरौं त, कतै पनि गलत देखिंदैन । ग्रीक धर्म ग्रन्थ अनुसार संसारकी सबभन्दा सुन्दर महिला, हेलेनको जन्म भगवानहरुको पिता, जिअसले राजाहाँसको रुप लिई रानीलाई बलत्कार गरेर भएको हो । हिन्दु धर्म ग्रन्थ अनुसार बलवान कर्णको जन्म सूर्य देवताले कुन्तिसंग गरेको संसर्गको परिणाम स्वरुप भएको हो । अब भन्नुस् सुन्दरता र शक्ति पनि यौनसंग सम्बन्धित छ भने हामी किन यौनका कुरामा नकरात्मक सोंच राख्छौं । हिन्दु धर्मवालम्वीहरुले कुन्तिलाई पञ्चकन्याको रुपमा पुज्छन्, जब की उनको शारिरीक सम्बन्ध बिवाह पूर्व नै भएको थियो । द्रौपति पनि पञ्चकन्या भित्रै पर्छिन् जब कि उनको त पाँचजना श्रीमानहरु थिए । यदि वहाँहरुको पूजा गर्छौ भने किन फरक ब्यवहार गरीन्छ यही समाजका त्यस्ता नारीलाई ?

यौनको बिषयमा हाम्रो बुझाई नै सिमित छ । हामी सोंच्छौ त्यो शारिरीक संसर्ग हो । तर त्यो एकदमै साँघुरो सोंचाई हो । यौन त त्यो अवस्था हो जसले हामीलाई स्वर्गीय आनन्द दिन्छ । त्यस्तो आनन्द शरीरसंग शरीर जोडेर मात्र होइन, हेरेर, छोएर, पढेर, महसुस् गरेर प्राप्त गर्न सकिन्छ । कसरी तृप्त बन्नुहुन्छ त्यो तपाईंमा भर पर्छ । यौनको लागि साथी नै चाहिन्छ भनेर सोंच्नुहुन्छ भने तपाईं गलत हो । एक्लो ब्यक्तिले पनि भरपुर आनन्द लिन सकिन्छ । त्यसको लागि माथि चर्चा गरे झैं तपाईले मन परेको मान्छेलाई चित्त बुझुन्जेल हेर्नुुस् । उनको तस्वीरमा छुनुस्, म्वाई खानुस् । त्यस बिषयका लेख पढ्नुस् । या त कल्पनामा रम्नुस् । ऐनाको अगाडि गई आफ्नै प्रतिबिम्बलाई नियाल्नुस् । त्यही प्रतिबिम्बलाई साथी सम्झनुस् र यौन क्रिडाको आनन्द लिनुस् । हस्तमैथुन गर्नुुस् ।

मैले यी कुराहरु भनिरहँदा तपाईंले मलाई गलत सोंच्नुहोला या लजाउनु होला । तर मनन् गर्नुस् त यौन उत्तेजनाबाट आउने घटनाहरु निर्मुल गर्न यी क्रियाकलाप कसो सहयोगी नहँुदो हो ? यसले सम्बन्ध सुधारमा पनि ठूलो भूमिका निभाउछ । तपाईंहरुले बिचार गर्नु भएकोछ ? श्रीमान – श्रीमतीबिच पनि बलत्कार हुन सक्छ । हुन त ति दुईलाई शारीरिक सम्पर्क राख्ने अनुमति छ समाजबाट, कानुनबाट । तर के उनीहरु दुवैको चाहना अनुसार हुन्छ त यौन सम्पर्क ? यदि त्यसो भएको छैन भने ति दुइमा एक पक्कै पनि बलतकृत भएकोछ आफ्नै श्रीमान वा श्रीमतीबाट । तर श्रीमान – श्रीमतीले एकअर्काको चाहना बुझेर अन्य यौन क्रिडा अपनाउने हो भने सम्बन्धमा सम्झौता हुदैन र सम्बन्ध सुमधुर हुन्छ । के तपाईहरुले बुझ्नुभयो मैले यौनका कुरा भनेको के हो ? मैले भनेको यौन सम्बन्धित कुराले कुनै असभ्यता निम्त्याउदैन । बरु यसले त यौनजन्य अपराधबाट बचाउँछ । अब भन्नुस् यौनका बिषयमा कुरा गर्न किन लजाउनु या डराउनु ?

हामी यौनका कुराहरु लुकीलुकी हेर्छौ या पढ्छौं । हामी सबैले अर्धनग्न तस्वीर नै मन पराउँछौ । महिला दिदीबहिनीलाई पनि त्यस्तै मन पर्छ ;चाहे त्यस्तो पहिरन लगाउनुस् या नलगाउनुस् । यदि त्यसो नहुँदो हो त किन राख्नुहुन्छ चासो ? किन कुरा गर्नुहुन्छ त्यस्ता कपडा लगाउने केटीहरुको बारेमा ? किनकी तपाईंको पनि रहर छ त्यस्तो पहिरन लगाउने । फेरी पनि आफ्नो इच्छा दवाउनु भएकोछ । त्यो इच्छाले डाहाको रुप लिएर हो तपाईंले बिरोध गरेको । अब मलाई गाली गर्न लाग्नुभयो ? माफ गर्नुस्, सत्य कुरा तितो हुन्छ ।

चर्चित पोर्न स्टार सन्नी लिओनको जति नकरात्मक टिप्पणी हुन्छ, त्यति नै उनी चर्चामा आउँछिन् । कारण, उनलाई हेरीन्छ ; उनलाई रुचाएरै हो हेरेको । तपाईं आफै भन्नुस्, हामी कति खोक्रो आडम्वरमा सभ्यता देखिरहेकाछौं ?

हाम्रा सन्ततिले पनि यही सिकिरहेकाछन् । हामी जति छुपाउँछौं, त्यति नै उनीहरुको कौतुहलता बढ्छ ।ं यदि बुवाले आमालाई लुकेर म्वाई खाएको बच्चाले देख्यो भने उसले त्यसलाई नकरात्मक सोंच्छ । तर उसको अगाडि आमा र उसलाई म्वाई खाँदा सामान्य ठान्छ । हाम्रा बच्चाहरुले जति लुकेर सिक्छन्, त्यो अपूर्ण हुन्छ । जसको कारण उनीहरुले पनि यौनका बिषयमा ज्ञान पाउन सकेका छैनन् । घरमा त्यस विषयमा कुरा हुँदैन । बिद्यालयमा पनि आवश्यकता अनुसार हुदैन । कुनै निजी प्रकाशनहरुले यो बिषयमा चर्चा नगरेको होइन । तर त्यो सिमित छ । जब प्रत्येक बिद्यालयले त्यस्ता विषयलाई पनि प्राथमिकतामा राखेर पठनपाठन सुरु गर्छ, तब मात्र केही अपेक्षा राख्न सकिन्छ । साथै छोराछोरीले पनि यौनका विषयमा आफ्ना बाआमासंग खुलेर जिज्ञासा राख्न सके र ति जिज्ञासा मेटिन सक्यो भने मात्र उनीहरुले यौनलाई सामान्य सोंच्छन् । अन्यथा यौन आवश्यकता होइन, सधैं समस्याकै रुपमा रहन्छ । अनि जब ति सन्ततिले सबैतिर छाउँछन् तब यौनलाई साँच्चीकै आधारभूत आवश्यकताको रुपमा लिइन्छ । त्यसपछि यौन हिंसा, बलत्कार, बाल बिवाह, यौन रोग जस्ता घटना र समस्या हराउन थाल्छन् ।

तर वर्तमानमा यौन जस्तो अत्यावश्यक विषयमा ज्ञान नभएको कारणले धेरैले पिडित हुनु परेकोछ । बिभिन्न प्राणघातक बिमारको शिकार हुनु परेकोछ । त्यस्तो बिमारीले उपचार गर्न पनि लाज या समाजको डरको कारण नसकेको देखिन्छ । हुन त बिगतको तुलनामा सुधार देखिन्छ । एच आइ भि संक्रमणबाट मृत्यु हुने मानिसहरु ३० प्रतिशतले घटेकाछन् । ंयसमा सरकारी तथा गैरसरकारी पहललाई भुल्न हुन्न । परीवर्तन ल्याउन त सबैले लाग्नै पर्छ । तर सबै भन्दा छिटो परीवर्तन तब हुन्छ, जब हामी आफै परीवर्तनको लागि तयार हुन्छौं । यौनको विषयमा नजान्दा यस्ता समस्याहरु आएकाछन् । के अब पनि हामीले यो कुरालाई लुकाउने ? के हाम्रा सन्ततिलाई वास्तबिकता नखोल्ने ? उनीहरुलाई पनि यही समस्या हस्तान्तरण गर्ने ?”

यो लेख सिमाले तीन महिना अगाडि लेखेकी थिइन् । तर उनलाई यो प्रकाशन गर्ने अनुमति भएको थिएन उनको परिवारबाट । उनी एक अबिवाहित केटी भएकोले यौनका कुरा गर्नु उचित भएन । उनले यो लेख निकाल्नु भनेको आफ्नो चरित्रमा ठेस पु¥याउनु हो । फेरी को होला उनीसंग बिहेको लागि राजी ? चरित्रहीन भन्लान् दुनियाले । उनी माइतीको लागि भार पो हुने हो की !

यस्तो छ समाजको सुझबुझ यहाँ । यदि उनको ठाउँमा पुरुष हुँदो हो त यस्ता कुरा कहाँ उब्जिनु र ? उनी नेपालकी चेली हुन्, जहाँ महिलाको लागि हरेक क्षेत्रमा सिमाना खिचिएकोछ । विश्वमै महिला हिंसाको मुद्धा उठेकोछ । यो महिला हिंसाको परिणाम त हो नि । फेरी यहाँ हुने हिंसालाई सामान्य किन नलिने त ? यो कुरालाई सिमाले राम्ररी बुझेकीछिन् । त्यसैले त उनको कुनै गुनासो छैन यो लेख प्रकाशनको अनुमति नहुँदा । उनी सही र गलत राम्ररी छुट्याउन सक्ने शिक्षित नारी हुन् ।

“एउटै लेखको कारणले मेरो चरित्रमा असर पुग्छ भने पुगोस् । मलाई यहाँ लेख्न स्वतन्त्रता छैन भने कसरी देलान् जिउन ? जहाँ म पल–पल स्वतन्त्रताको लागि छट्पटिन्छु, त्यस्तो जीवनको के अर्थ ?” सिमाले आफ्नो लेख प्रकाशनको लागि कसैसंग अनुमति लिन आवश्यक ठानिनन् र आफ्नो स्वतन्त्रताको सिमाना आफै कोर्ने निर्णय गर्दै जस्तोसुकै नतिजा ब्यहोर्न तयार भइन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित