राजन मेहताको राजनीति र इनरुवाको युवा भविष्य

नेपाली राजनीतिमा युवाको उपस्थिति र भविष्य सधैँ संशयको घेरामा रहँदै आएको छ । स्वभावैले यथास्थितिप्रति विद्रोही, समयानुकूल परिवर्तनको पक्षधर र स्वतन्त्र हुने हुँदा अघिल्लो पुस्ताले हत्तपत्त जिम्मेबारी दिन मन नपराउने भएकाले युवाको उपस्थिति र भविष्यमा नानाथरि आशङ्का जोडिने गरेको हो ।
तर पनि युवाले आफ्नो समयमा सामाजिक, राजनीतिक, सांस्कृतिक आदि सबै खाले परिवर्तनमा निर्णायक हस्तक्षेप गर्दै आएका छन् । तथापि मुलुकमा लामो समयसम्म लोकतान्त्रिक अभ्यासको मूल आधार मानिने निर्वाचनका गतिविधि नहुँदा धेरै युवाका बल, बुद्धि, विवेक, सीप कँुजिए । केहीलाई युद्धमा होमेर अयोग्यताको बिल्ला भिराइयो, केहीलाई विदेश पठाएर समाज तथा राष्ट्र सञ्चालनको मूलधारबाट अलग पारियो ।

यस्तो पृष्ठभूमि र लामो अन्तरालछि २०७४ वैशाखमा स्थानीय तहको निर्वाचन भयो, जसको माध्यमबाट मुलकमै बसेर समाजमा सकारात्मक परिवर्तन र विकासको सपना बोकेका केही युवा अग्रमोर्चामा आए । तर, निर्वाचन लडेका धेरै कम मात्र ठाउँमा युवाले जिम्मेबारी पाए । स्थानीय तह निर्वाचनमा केही आसलाग्दा युवाहरू उही पुरानै नेताहरूसँग पराजित भए । २०५४ सालमा पनि उम्मेदवार भएका केही व्यक्तिहरूले मात्र स्थानीय तहको निर्वाचनमा बाजी मारेका थिए ।

धीरज भट्टराई

सिद्धान्ततः युवालाई परिवर्तनको संवाहक मानिन्छ । अहिले हाम्रो देशमा शासन–सत्ता चलाइरहेका सबैले युवा अवस्थामा समाज परिवर्तनका लागि अग्र–भूमिका निर्वाह र सफलता प्राप्त गरेका थिए । तर, अहिले आफ्नो समय बिर्सेर सत्ता र कार्यकारी पदको तालाचाबी आफैँसँग राख्ने मनोविज्ञानले ग्रस्त देखिन्छ, नेतृत्व । यस्तोमा युवाले हस्तक्षेप गर्नुको विकल्प हुँदैन । अचेल केही युवा साहसका साथ राजनीतिमा आएका छन्, तर तिनको सङ्ख्या औँलामा गन्न सकिने छ ।
राजनीतिमा युवा नेतृत्व विकासका अनेक तगारा छन् । ती तगाराहरूमध्ये युवालाई प्रतिपक्षको भूमिकामा बुझ्ने मनोविज्ञान प्रमुख हो । राजनीतिक नेतृत्वले युवालाई आन्दोलन, सङ्घर्ष, लडाइँ, विरोध र आलोचनाको वाहकका रूपमा बुझ्ने परमपरा छँदै छ । स्वयम् युवाले पनि आन्दोलन, लडाइँ, सङ्घर्ष र विरोधमा देखाउने साहस र विवेकको स्तरलाई राजनीतिक नेतृत्व र नीति–निर्माणको नेतृत्व गर्ने प्रक्रियामा कायम गर्न नसक्नु अर्को बिडम्वनापूर्ण परिस्थिति हो ।

इनरुवा नगरप्रमुख राजन मेहता जस्ता हाल मौका पाएका युवा पनि कुनै दिन राजनीतिक लडाइँ विरोध र आन्दोलनमा चाहेर नचाहेर प्रयोग भई मूलधारमा आएका हुन । आम बुझाइमा हिजो पार्टीका लागि प्रयोग भएको लडाकु प्रवृत्ति राजन मेहतामा अझै बाँकी छ भन्ने सोच भएको भान हुन्छ । तर, निर्वाचनको परिणामले दिएको पदको मर्यादाप्रति राजन मेहता सजक छन् र हुनुपर्छ । किनकि नेतृत्वले सहजै यो अवसर दिएको होइन । अनेक राजनीतिक अग्निपरीक्षा दिँदै युवा हुनुको दलिलसहित चौतर्फी दबाब सिर्जना गरेर, एक अर्थमा भन्ने हो भने इनरुवाका युवाहरूको भविष्य धितो राखेर नगरप्रमुखको जिम्मेबारी हात पारेका हुन् । यस अर्थमा राजन मेहताको काम र काँधमा इनरुवाका युवाको राजनीतिक भविष्य जोडिएको छ । चाहे त्यो काङ्ग्रेस होस्, चाहे कम्युनिस्ट होस् । अरू कुनै विचार समूह र दलबाट राजनीति गरिरहेको युवा नै किन नहोस्, राजन मेहता राम्रो जनप्रतिनिधि हुन नसकेको खण्डमा सम्पूर्ण युवामाथि नै प्रश्न गर्ने छन् जनताले ।

देश विकासका कर्णधार मानिने युवा उर्जा, आँट र साहस भएका जनशक्ति हुन् जसलाई व्यवहारमा कमै मात्र पत्याइएका छन् । युवालाई हत्तपत्त नपत्याउने यथास्थितिवादी सोचमा थोरै भए पनि परिवर्तन आई एक जुगमा एक चोटी युवाले मौका पाएको ठाउँ हो, इनरुवा । यस्तोमा राजन मेहता चुकेको अवस्थामा यहाँ धेरै वर्ष फेरि युवालाई विश्वास गर्ने वातावरण हुने छैन, जुन हाम्रासामु खडा चिन्तन र चुनौतीको विषय हो ।

तर यसबेला चिन्तनको मूल सन्दर्भबाट टाढिएर इनरुवाको केही युवा राजनीतिक रूपमा बरालिएको देखिन थालेको छ । केवल आफू नेता हुने उद्देश्यले राजन मेहताले यो गरेन, त्यो गरेन, यहाँ गल्ती ग¥यो, त्यहाँ गल्ती ग¥यो भन्नेहरू देखिन थालेका छन् । विरोधका लागि गरिएको विरोधको यो धरातलीय यथार्थ आम–युवाले समयमै पहिचान गर्नु जरुरी भएको छ ।

लोकतन्त्रमा विरोध गर्ने, आफ्नो कुरा राख्ने सबैलाई अधिकार र छुट हुन्छ । तर, विरोधको स्तर रचनात्मक हुनुपर्छ । यो यसरी गरिनुपर्ने हो, सही तरिका यो हो भनेर सुझाव दिनेहरूको यहाँ कमी देखिन्छ । विरोध गर्नलाई मात्र विरोध गर्ने परिपाटी पुरातन राजनीतिक शैली हो, यसको परिवर्तन आवश्यक छ । किनकि अहिले सडकमा देखिएको विरोध शैलीगत रूपमा हेर्दा आफू सफल हुन् अरूलाई असफल बनाउनुपर्ने आउट–डेटेड मनोविज्ञानबाट ग्रसित देखिन्छ । आफू सफल हुन्, सबै सफल हुनुपर्छ भन्ने मनोविज्ञान अहिले आवश्यकता र खोजी हो ।
अनेक सङ्घर्षपछि कार्यकारी पदमा पुग्ने अवसर पाएका मेहता असफल हुनु भनेका उनी एक्लै होइन, हामी इनरुवाका सबै सचेत युवा असफल हुनु हो । त्यसैले इनरुवाका हरेक युवाबाट नगर विकासका लागि सकारात्मक सुझाव र साथ आवश्यक आवश्यक छ । यदि हामीले समयमै यो कुरा बुझ्न सकेनौँ र व्यक्ति लाभ–हानीका लागि टुक्रे समूहको निर्माण गर्दै जान थाल्यौँ भने त्यसले इनरुवाको विकास र भविष्य प्रभावित त हुने नै छ, युवाहरूको सङ्घर्ष र अग्रजको विश्वास जित्ने अभियान धेरै पछि धकेलिनेछ ।

लोकतान्त्रिक पद्दतिमा विरोधीहरू हुन्छन् र हुनुपर्छ । समस्याको सही पहिचान गरी समाधानको उपाय खोजी गर्ने सही राजनीतिक दृष्टिकोण भएको विरोधीहरूको खाँचो राजन मेहताले पनि महसुस गरिरहेको हुनुपर्छ । विकासको मार्गमा बामे सर्दै गरेको इनरुवाको राजनीतिमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ । यसका लागि पनि राजन मेहता सफल हुनु आवश्यक छ । उनलाई रचनात्मक सिकाइ र कार्यशैली हस्तान्तरण गर्नु इनरुवाका सचेत युवाको कर्तव्य हो ।
०००
(लेखक नेपाली काङ्ग्रेसका इनरुवा नगर सचिव हुन् ।)

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित