आशाको चिठी भित्र

आदरणीय आमा,

कोटी–कोटी नमन ।

आज म यो पत्र मार्फत मेरा मनका सम्पूर्ण तिता कुराहरु पोखाउन लागेकीछु । सुचना प्रविधिको विकास भएर नि मैले अन्य माध्यमको प्रयोग नगरी यो पत्र कोर्नुको कारण यस्ता कुराहरु मैले तपाईंसँग प्रत्यक्ष राख्न नसकेर हो । मेरो गुनासोले तपाईंलाई नरमाइलो लाग्न सक्छ । तर यो पत्र कोरेपछि केही हदसम्म भए नि मलाई यी भावनाले नपिरोल्ला भन्ने आशा छ ।

कुरा आज मेरो जन्म दिनको हो । किन सम्झनु भएन मलाई ? किन दिनु भएन आशिर्वाद ? सामाजिक सञ्जालमा धेरैले जन्म दिनको शुभकामना दिएका छन् आफ्नो आफन्तलाई । तर मलाई सम्झेनन् कसैले नि । दुःख लाग्नु त सामान्य कुरा हो । बिवाह अघि म तपाईहरुकी राजकुमारी थिएँ । तीन दाइहरुकी एउटै बहिनी भएर होला म सबैको आँखाको तारा थिएँ ।

हाम्रो गाउँमा मैले पाएको मायाको डाहा नगर्ने कोही थिएनन् शायद । कलेज जाँदा सबैको नजर पथ्र्याे ममा कारण सबैको नजरमा तपाईंहरुले मलाई दिएको जीवनशैली उदाहरणीय थियो । मेरा आवश्यकताहरु सबै पूरा गरीदिनुभकोथ्यो । म मख्ख थिएँ । तर आज मलाई एउटै दाईले नि सम्झनु भएन । वास्तवमै समयको शक्ति मान्नै पर्छ । हिजोअस्ति मात्र मबिना तपाईंहरुलाई खाना नरुच्ने तर आज मलाई नै बिर्सनुभयो है ? मलाई किन गर्नुहुन्न पहिले जस्तो व्यवहार ? म त सधैं चाहन्छु पहिले झैं मेरो जन्म दिन केक काटेर रमाइलो गर्दै तपाईंहरु माझ मनाउन पाउँ । के दाइहरुले मलाई गर्ने माया आफ्ना नानीहरुलाई नामसारी गर्नुभएको हो ? म पराई घरमा गएकी चेली हुँ । जन्म घर त मेरो आफ्नो घर भएन । पराई घरको कुरै छोडौं । बल्ल थाहा पाएकीछु , यो समाजमा नारीको घर हुँदोरहेनछ ! एकै ठाउँमा बसेर जन्म दिन मनाउन नसके नि शुभकामना दिन फोन त गर्न सक्नु हुन्थ्यो ।

म पहिले जस्तो जिद्दी छैन अब । मुसुरोको दाल, घिरौंलाको तरकारी, गुन्द्रुकको झोल जे भए नि खाना खान्छु । तपाईंहरुले चाहेको जस्तै अब म आत्मनिर्भर बनेकीछु । तर खै, मलाई शिक्षित बनाएकोमा तपाईंहरु प्रति आभारी हुँ कि गुनासो गरौं ? म एक्लिएकी छु । सरकारी जागिरे हुनु मेरो बाध्यता बनेकोछ । मैले धेरै कुरा गुमाएको महसुस् भएकोछ । परिवारबाट टाढिएर बस्नु मेरो रहर होइन । मेरो टाढाको बसाईले मलाई सबैबाट टाढा पा¥यो । वर्षमा एक पटक परिवारमा घुलमिल हुने अवसर मिल्छ । तर म आफैलाई पराई महसुस् गरीरहेकी हुन्छु । दशैं नि खल्लो लाग्छ । माइती घरमा मेरो लागि सिमाना कोरीएकोछ । जमरा राखिएको कोठामा मैले पस्न नपाउँदा मसंग दलितको व्यवहार गरीएको भान हुन्छ । सम्पूर्ण हिन्दु धर्मावलम्वीले मनाइने पर्व दशैंमा देवीको पूजा–आराधना गरीन्छ । तर म जस्ता नारीलाई त्यही पूजा कोठामा पस्न निशेध गरीन्छ । यो कस्तो संस्कार हो ? कस्तो परम्परामा जिउँदैछौं हामी ? किन मनन् गर्दैनन् शिक्षित कहलाउँदाहरु ? आमा, किन मलाई नि तपाईंहरुले यो समाजले भन्दा फरक व्यवहार गर्नुभएन ? के मलाई जन्माई–हुर्काई गरेर दलितलाई झैं व्यवहार गर्न तपाईंहरुलाई गाह्रो लाग्दैन ? आखिर किन गरीन्छ यस्तो व्यवहार ? के यो समाजबाट तिरस्किृत हुने डर हुन्छ ? या फेरी यही समाजको बानी भएर हो ? जे कारण भए नि परीवर्तनको लागि त सुरुवात हुन जरुरी छ र त्यो हाम्रो घरबाट होस् भन्ने चाहना छ मेरो । के मेरो प्रस्ताव स्वीकार्नुहुन्छ ?

एनी तामाङ

वर्ष दिनपछिको भेटमा त तपाईंले नै मलाईं भुल्नुभको हुन्छ । त्यसैले त मलाई पुकार्दा त्यहाँका नानीहरुको नाम लिनुहुन्छ । मैले पराई घरमा पनि त्यस्तै झेल्नु पर्छ । अझ देवरको नानीले तपाईंको घर कहाँ हो भनेर सोध्दाको पिडाको कुरै नगरुँ । यो कुरा सामान्य लाग्न सक्छ । तर मेरो भावनामा जोडिएको छ । मलाई आफ्नै परिचय बनाउने यात्राले भएको मेरो पहिचान नि गुमेको छ , आमा । समाजमा प्रतिस्ठा खोज्न लागेकी म आफन्तकै लागि विरानो बने ।

कसलाई गरौं म गुनासो ? मेरा दाईहरु बिदेशिदा वहाँहरुले मैले जस्तो परीचय गुमाउनुभयो त ? आमा, तपाईंले वहाँहरुको नाम भुल्नुभयो त ? के म नारी भएरै हो त , अस्तित्व जोगाउन गाह्रो भएको ? भर्खरै बुझ्दैछु म , तपाईंले मलाई ठुलो आवाजमा नहाँस् किन भन्नुहुन्थ्यो । वास्तवमै खुल्न सकिन्न रहेछ नारीले यो समाजमा । उनले जे गर्दा नि आलोचित हुने । झन् म जस्ता नारीहरु जसले पुरुष सरह बाँच्ने उदेश्य राख्छ , उनीहरुले गर्नु पर्ने सम्झौताको के कुरा गरौं र खै ? आमा, म सधैं पुरुष सरह जिउने चाहना राख्छु । मेरो पनि व्यक्तिगत स्वतन्त्रता छ । कुनै दिन म घर आउन ढिला हुँदा शंका नगरीयोस् । मैले स्पटीकरण दिन नपरोस् । तर तपाईंको ज्वाईं मसंग रिसाउनुहुन्छ । शायद उनले प्रश्न गर्न जायज हो । तर यो आम मानिसको सोंच मात्र हो । मैले त उसलाई गलत सोंचेकी छैन भने उसले किन गर्न सकेनन् विश्वास ?

हनुमानले जस्तै छाति फोरेर विश्वास दिलाउन नि सकिदैन । के नारी भएर जन्मिनु नै परीवार वा समाजको दृष्टिमा शंका रुपी अदालतको कठघरामा उभिएर आफ्नो चरीत्र जोगाउन उत्तर दिनु पर्ने हो ? या त डराएर घरभित्रै चिडियाखानामा थुनिएर घर मालिकले कोरेको सिमानाभित्र बस्नु हो ? किन पुरुष र महिलालाई हेरीने नजर अलग भएको होला ? शायद नारीले नै विरोध नगरेर हो ! आमा, तपाईंले नै भन्नुहुन्थ्यो जाडो मौसममा महिनावारी हुँदा कोठा बाहिरको खाटमा सुत्न गाह्रो हुन्छ भनेर । तर त्यस ताका भित्र सुत्ने कोशिष नै गर्नुभएन । के खराब असर गर्ने संस्कारलाई संरक्षण गर्नै पर्छ र ? किन गरीदैन विरोध ? अरुको त कुरै छोडौं , देशको सर्वोच्च पदमा रहेको राष्ट्रपतिलाई विधवाले मन्दिर अपवित्र बनाएको भनी गंगाजल छरेर चोख्याइयो । यस्तो देशको नागरीक हुँ म ! उफ् कस्तो सँस्कारमा बस्नु पर्ने !

खैर जे होस् , म सक्दिन यस्तो बन्धनभित्र बसेर जिउन । बरु म एक्लिएरै बस्न किन नपरोस् ! म सक्दिन अब यस्तो बाध्यता रुपी सिमाना भित्र अट्न । म नि आत्मनिर्भर बनेकीछु र म नि सबै जिम्मेवारी निभाउन सक्छु । फेरी किन मैले समानता पाउन नसक्ने ? आफुलाई असर गर्ने कुराको बिरोध गर्दा मलाई गलत सोंचिन्छ भने नि स्वीकार्य छ । म आफ्नै संसारको निर्माण गर्छु , जसले मेरो आत्मसम्मानको सदैव रक्षा गर्छ ।

आमा, पक्कै पनि मेरा कुरा तपाईंलाई मन परेन होला ! तर सोंच्नुस् त किन पठाउनुभयो मलाई विद्यालय , जहाँ समानताको चेतना दिइन्छ ? जब चेतनाको बिकास हुन्छ , तब परीवर्तनको चाहना हुन्छ । म चाहनालाई दवाउन सक्दिन । म जस्ता नारीका लागि म एउटा बिद्रोहको झिल्को हुँ र बिस्तारै समाजमा व्याप्त असमानतालाई जलाएर खाक बनाउने मेरो लक्ष हो । तपाईंलाई मेरो अनुरोध छ , मलाई यो लक्ष प्राप्तिको लागि साथ नदिए नि कुनै दुखेसो छैन तर नरोक्नुस् मलाई ।

हजुरकी छोरी

आशा

चिठी लेखिसकेर पठाउने हिम्मत गरीनन् आशाले किनकी उनले सोंचिन् , आमा पनि त एउटी नारी हुन् । वहाँले पनि त कुर्वान गर्नुभएकोछ आफ्ना रहरहरुको ? कसलाई चाहना नहुँदो हो र स्वतन्त्रताको ? परीवार, समाज भनेर सधैं नारीले संस्कार रुपी लक्ष्मण रेखाभित्र बस्नु परेकोछ । जसले यो लक्ष्मण रेखा पार गर्दछ , उनले समाजले सिर्जेको रावण रुपी कठिनाईको सामना गर्नुपर्नेछ । सानो हिम्मतले पुग्दैन नारीलाई समानता प्राप्तिको युद्धमा लड्न । तर सदियौंदेखिको यो असमानताले हद पार गर्दा नि खै किन चुप छन् नारीहरु ? आशाले आमालाई लेखेको चिठी तीन पटक पढिन् र अन्त्यमा च्यातेर फालिन् । तर उनले चिठीमा लेखेको लक्षलाई पूरा गर्ने प्रण गरीन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित