ऋतु परिर्वतन

“संचार माध्यममा अन्धविश्वासको प्रभावबाट भएका घटनाहरु छरिएका देखिन्छन् । त्यसले हामीलाई खासै प्रभाव पार्दैन । तर जब ती घटना प्रत्यक्ष वा परोक्ष रुपमा हामीसंग जोडिन्छन् नि, हामीलाई असह्य महसुस् हुन्छ । त्यति मात्र कहाँ हो र ? त्यसको खुलेर विरोध गर्न नि पछि परिदैन ।” सरिता मिस गाउँले महिलाहरुलाई चेतना फैलाउन हरेक साँझ त्यही सामुदायिक विद्यालयको कोठा न.ं पाँचमा बसेर उनीहरुको अगाडि अन्धविस्वासको बारेमा बोल्नुहुन्थ्यो । सबैजना मुर्ति झैं चुपचाप सुनिरहन्थे । वहाँ आफै महिला भएकोले नारीवादी सोंच वहाँको प्राथमिकतामा हुनु सामान्य थियो ।

“हर, यो अन्धविश्वासको चपेटाबाट कहिले मुक्ति मिल्ला ? प्रत्येक महिना नारी नछुने हुने रे ! रजस्वला एउटा प्राकृतिक उपहार हो । यसैको कारण त संसार चल्छ । यसमा दुई मत छैन । तर यो विचारमा मात्र सिमित देखिन्छ । मानव जीवन निरन्तरताको लागि अत्यावश्यक यो प्राकृतिक प्रक्रिया अछुतो हो भने मानव जीवन कसरी छोइय भो त ? हाम्रो समाज पितृसतात्मक हो । यो कुरा सबैलाई अवगतै छ । यही समाजले सिर्जेको मुल्य मान्यता पुरुषप्रधान हुनुमा कुनै शंका छैन । त्यसैले त पुरुषहरु अछुत हुने दिन हुन्न । हाम्रो देशको पश्चिमी भागमा दरिलो जरो गाडेको छाउपडी प्रथाले कति महिलाको ज्यान लिइराखेकोछ ! सम्झदा नि मन सिरिङ्ग हुन्छ । भोग्नेहरुको के हालत होला ?

कानुनले नियन्त्रण गर्न सकेको छैन । जबसम्म हामी स्वयं परिवर्तन चाहदैनौं, तबसम्म कुनै पनि वाह्य शक्तिले गतिलो प्रभाव पार्न सक्तैन । हर घरमा हर बाआमाले छोरीमा देवीको स्वरुप देख्न जरुरी छ । हर दिन देवीको पूजा अर्चना गरे झैं उनलाई पवित्र ठान्न जरुरी छ । तब मात्र पुरुष सरह नारी पवित्र भएको संस्कारको विकास हुन सक्छ ।” शिक्षित भनाउदा वर्गमा असन्तुष्टि देखाउनुहुन्थ्यो सरिता मिस ।

“भनिन्छ शिक्षाले ज्ञानको चक्षु खोल्छ । तर शिक्षित वर्गलाई नि अन्धविश्वासले जकडेकोे छ । खै त खुल्यो उनीहरुको आँखा ? शिक्षाको मूल स्रोत विद्यालयमा पनि पो अन्धविश्वास हाँगिएको रहेछ ! विद्यार्थी बेहोस हुँदा धामी बोलाएर झारफुक गरेको नि देखियो । बडो अचम्मको कुरो त बिमारी तुरुन्तै जाति भएर ठमठमी हिंड्यो । हैन कस्तो चमत्कार ! यो अवस्थामा को होला धामीझाँक्री विरोधि ? यसो गहिरेर सोँच्दा त उनीहरुले मनोचिकित्सकको भूमिका निभाको पो बुझियो । यस अर्थमा उनीहरुलाई चिकित्सकको संज्ञा दिन मिल्छ होला ? खैर जे होस्, तर धामीझाँक्रीको भरमा मात्र बस्नु चैं मुर्खता हो है ।

विज्ञानले हरेक क्रियाको प्रतिक्रिया हुन्छ भने झैं हामी जति भगवानमा आस्था राख्छौं, त्यति नै भुतप्रेतमा विश्वास हुन्छ । हामीमध्ये धेरैलाई राति पाइखाना जान नि डर लाग्छ । तर भगवानको नाम जप्दा केही हदसम्म डर कम हुन्छ । त्यस्तै धामीझाँक्रीमा विश्वास गर्दा बोक्सीमा नि विश्वास नहुने कुरो भएन । कति निर्दोष महिलाहरुलाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरी अप्रिय घटना भएको उदाहरण हाम्रो देशको कुनाकुनामा छरिएका छन् । तर के बोक्सोको आरोपमा पुरुष हिंसामा परेका छन् त ? एक्काइसौं शताब्दीमा पनि यस्तो दुरदशाको पक्कड हुनु बिडम्बना हो ।

आमा हुनु खुसीको कुरा हो । तर नारीलाई बच्चा बनाउने मेसिनको रुपमा हेरिन्छ । यही भेलामा नि धेरैको दुईभन्दा बढी सन्तान छन् । नारीलाई हप्काएर होस् या मक्ख पारेर, इच्छा विपरित काम गर्न बाध्य पारिन्छ । नारी भनेको धर्ती हो, जसले दुःख सहन सक्छिन् । यसो भनेर त मक्ख पो पारेका हुन् त ! पृथ्वीले त भार सहन नसकेर बेलाबेला विनासकारी प्रकोपकोले प्रहार गर्छिन् । हामी त मानव हौं । चेतनशील छौं । अनावश्यक कुराको विरोध गर्नु पर्छ । अन्यथा सधैं थिचोमिचोमा परिन्छ । यो कुरा हेक्का राखौं ।

धर्मले पनि अन्धविश्वासलाई दरिलो टेको दिएको पाइयो । नेपालका बहुसंख्यक मानिस हिन्दु धर्मका अनुयायी हुन् । यो धर्म अनुसार पितृलाई स्वर्ग पुर्याउने काम छोराले चढाएको पिण्डले गर्छ । अव आफै भन्नुस् त स्वर्ग जाने रहर कसको नहुदों हो ? अनि पिण्ड प्रदान गर्ने छोरो जन्माउनु रहर मात्र नभई बाध्यता पो भाकोछ त ! छोरो पाउन भ्रुण हत्या गर्न समेत पछि पर्दैनन् मान्छेहरु । तर अपराध गरेर पो कसरी पुग्लान् स्वर्ग ? यस्तै भइरहे भविश्यमा हाम्रो देशमा महिलाको खडेरी लाग्नेछ ।

हिजो विहानीको कुरा हो, पल्लो घरको चल्लो कागले लग्यो । त्यो देखेर सबै करायौं । त्यो काग आत्तिएछ । अलि परतिर पुगेर चल्लोलाई कुनै हानि नपु¥याई छोडेर उड्यो । एकजुट हुँदा आकाशमा उड्ने चरो त डराउँदोरछ ! मान्छेले त कसो नबुझ्दो हो एकताको ताकत ? हरेक नारीलाई भएको हिंसा आफैलाई भएको ठान्ने र एकजुट भएर त्यसको प्रतिकार गर्ने ।”

म त्यहीं भेलामा सामेल हुन्थे । वहाँको कुरा सुनेर मेरो मनमा एक किसिमको उर्जा उत्पन्न हुन्थ्यो । अनि यो समाजलाई परिवर्तन गर्ने कल्पना गर्थे । आफ्नै घरमा सकारात्मक सोंच ल्याउने हिम्मत गर्थे तबसम्म, जबसम्म म त्यो ठाउँमा हुन्थे ।

हुन त त्यस भेलामा हामी मध्ये केहीलाई शिक्षित भन्न मिल्थ्यो । विद्यालय स्तरको पढाई पुरा भएको थियो । सबै कुरा थाहा भएर नि नजाने झैं जिउन बाध्य थियौं । खै किन हो ? यही समाजको बानी भएर होला ! कुनै असहज महसुस् हुन्नथ्यो । तर थाहै नपाई सरिता मिसको कुराले मेरो अन्तरमनमा विद्रोहको विजारोपण गरेछ ! बिस्तारै म आफ्नो अधिकार शिला खोज्न थालेछु । ठूली छोरी चार वर्षकी हुँदा कान्छी जन्माएकी थिएँ । पक्कै पनि छोरो पाउने आश थियो त्यो बेला । तर अब भने म अर्को बच्चा चाहन्नथेँ । नानी चार वर्षकी हुँदा पनि मैले छोरो पाइन भनेर घरमा कचकच सुरु भाकोथ्यो । श्रीमानले बेवास्ता गरेको महसुस् हुन्थ्यो ।

समय बित्दै गयो । घरमा मलाई सबैले बेवास्ता गर्न थाले । नानीहरुलाई नि बोलाउन छाडे । श्रीमान विदेशिएर मसंग त सम्पर्क विहिन नै बने । कान्छी नन्दले भन्थिन्, “भाउजु, दाइको लागि त बाआमाले अर्कै भाउजु ल्याइदिने रे अनि हाम्रो भाइ हुन्छ ।” बिचरी सानी बच्चीलाई के थाहा उनकी प्यारी भाउजु गुमाउदैछु भनेर । मैले बुझ्ने, बुझाउने कोशिस नि गरिन किनकी म दयाको जिन्दगी चाहन्नथें । त्यसैले मैले माइतीको शरण लिएँ । यही एउटा विकल्प थियो । विदेशिएको नाटक गरेर काठमाण्डौंमा बसेको मेरो श्रीमान भनौंदोसंग पारपाचुके गरे । त्यसपछि नानीहरुको भविश्यको लागि वैदेशिक रोजगार मेरो बाध्यता भयो ।

सुन्छु सरिता मिसलाई नि गाउँमा बस्न मुस्किल भएर अन्तै सरुवा हुनुभो रे । राम्रो मान्छेको के भलो हुनु ? समाजमा कुरिति हट्दा शोसक वर्गको स्थान हुन्न । तर उनीहरु सधैं आफ्नो वर्चस्व कायम गर्न चाहन्छन् । यहाँ हजारौं सरिताको बली चढिसकेकोछ । वहाँ एक्लो पक्कै होइन । यो अनोठो कुरै भएन ।

बिहे अगाडि म ऋतु थापा भनेर चिनिन्थे । पछि ऋतु थापा भण्डारी मेरो नयाँ परिचय बन्यो । हुन त म धनी बने दुइटा थरको, तर जन्मैदेखिको थरलाई ओझेल पारेर पछि जोडिएको सम्बन्धलाई प्राथमिकता दिनु मलाई ठिक लागेको थिएन ।

विदेश जानेबेला कार्यालयमा मैले आफ्नो सर्टिफिकेट अनुसार कागजात तयार गरीदिन अनुरोध गरे । पारपाचुके गरेको कागज देखाएँ । तर मेरो अनुरोध स्वीकार्य भएन त्यो बेला । म पनि कहाँ कमकी थिएँ र ? रिसको झोँकमा पाति पढिन । “भोली म नेपालसँग बिहे गरौंला, के मेरो नाम ऋतु थापा भण्डारी नेपाल राख्छौ ? फेरि कार्कीसंग गरौंला, अनि ऋतु थापा भण्डारी नेपाल कार्की भन्ने ?” म यसरी छर्रा बर्से झैं बर्सेकोले सबैको नजर म माथि प¥यो । त्यसपछि धेरै पो बोले कि भन्ठानेर त्यहाँबाट निस्के ।

एउटी नारीले जोसंग बिहे ग¥यो उसैको थर स्वीकार्नु पर्ने नियम रे ! तर एउटी दलित नारीले छोइय पुरुषसंग बिहे गर्दा उनले किन छोइय हुन नपाउने त ? विचित्र छ बा ! अन्धविश्वासले निम्त्याएको महिला हिंसाले प्रत्येक नारीको मनमा पिडाको आगो हुर्हुरी दन्केको कुरालाई नकार्न सकिन्न । तिनै नारीसंग सम्बन्धित धेरै पुरुषहरु पनि उत्तिकै दुखी नभएको नहोलान् । यदि पराइ घरमा म एक्लिएको बेला मेरा माइतीले साथ नदिएकोभा जीवनले कुन मोड लिन्थ्यो होला ! म आज तपाईंहरु सामु आफ्ना जीवन भोगाइका अनुभव सुनाउन हुन्थे की हुन्नथे ! वहाँहरुको साथले आज मैले जिउने आधार पाएकीछु ।

ऋतु परिवर्तन हुँदा पूनः एक वर्षपछि वसन्त नै आउँछ । त्यसरी नै समय र परिस्थिती अनुसार म परिवर्तन हुँदै फेरि एक्लिएकीछु । बैवाहिक बन्धनबाट मुत्ति पाएकीछु । अब म स्वतन्त्र भइ बाँच्छु र कसैको हक खोस्दिन पनि । के तपाईं मलाई गलत नजरले हेर्नुहुन्छ ? नियालेर हेर्नुस् त म तपाईंकै बहिनी हुँ । म तपाईंकै दिदी हुँ । म तपाईंकै छोरी हुँ ।

नारीले पनि यो समाजमा स्वतत्र भई जिउने अधिकार छ । उनले पनि पुरुष सरह हर जिम्मेवारी निभाउन सक्छिन् । वस तपाई हाम्रो साथको सख्त आवश्यकता छ उनलाई । हाम्रो व्यवहारिक दृष्टि परिवर्तन गरौं, यो समाज आफै परिवर्तन हुन्छ किनकी समाज बनाउने त हामी नै हौं नि ! परिवर्तित समाज पनि केही समय गाह्रो होला । तर जब बानी पर्नेछ, अनि त कसले रोक्छ हामीलाई मानवताको बाटो पहिल्याउन ? सबैले सम्मानसाथ बाँच्न पाइनेछ अन्धविश्वास विहिन, लैंगिक भेदभाव विहिन समानताको समाजमा ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित