सरकार, निर्मला हत्याकाण्डमा बम दिदिबहिनी र एसपीका छोरालाई कारबाही हुन्छ की हुन्न ?

करिब अढाई महिना अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन आईतबार साँझ सार्वजनिक गरिएको छ । हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन ३७ पेजको प्रतिबेदन सार्बजनिक गरेको हो । समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको आलोचना भएको भईरहेका बेला सो प्रतिबेदन सार्बजनिक भएको छ । प्रतिवेदनमा तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

कसरी भएको थियो घटना ?

गत साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । त्यसपछि उनको बलात्कार र हत्यामा संलगन भन्दै स्थानीय प्रहरीले केही निर्दोष ब्यत्तिहरुलाई पक्राऊ गरी थुनामा राख्यो र केहीलाई सार्बजनिक समेत गर्यो । प्रहरीको सो नाटक स्थानीयले पचाएनन् । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्कियो । आन्दोलनका क्रममा थप एकजनाको मृत्यु भयो ।

त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए । अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइरहे पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

छानबिन समितिको प्रतिबेदन के भन्छ ?

बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई बबिता भनिने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ । निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ । निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ । समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ ।

किन लुकायो प्रहरीले तथ्य ?

जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामद गरी लगेको उल्लेख भए पनि बरामद गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ । प्रतिवेदनको २४ र २५ पृष्ठमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण नष्ट हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’

अब के हुन्छ ?

सोही घटनामा आरोपी दिलिपसिंह विष्टलाई केरकार गर्ने क्रममा यातना दिने प्रहरीका साथै तत्कालीन एसपी डिल्लीराज विष्ट समेतलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ । त्यसैगरी प्रहरीको गोलीबाट घाइते भएकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । पीडितलाई सामाजिकरुपमा पुनस्र्थापना गराउन सिफारिस गरिएको छ । प्रतिबेदनले सोही घटनामा बम दिदिबहिनी र एसपी सहित उनका छोरालाई शंकाको घेरामा राखेको छ । अब हेर्न बाँकी छ प्रतिबेदनले भनेअनुसार उनीहरुमाथि अनुसन्धान हुन्छ या पुरानै पारामा प्रतिबेदन नै गलत भन्दै दोषीलाई उम्काउने प्रयास गरिन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित