मेरो रहर : एनी तामाङ

शरीर काँप्ने कठ्यांग्रिदो जाडोमा विहानीले छरेको मन्द मुस्कानले दिने न्यानोपन संगै खुसीका लहर अनायसै पोखिन लागेको भान भएकोछ । यसरी सम्हाली नसक्नुको खुसी मैले त्यसै पाइन । यो खुसीको पछाडि आँसु र हिम्मत लुकेका छन् । विगतलाई सम्झँदा त मुटु नै भक्कानिन्छ । हिजोअस्ति जस्तो लाग्छ मैले यो जीवनकाल डो¥याउन संघर्ष गरेको । कति तितो अनुभव थियो त्यो ! त्यही तितो अनुभवले त होला मीठो आभाषको खोजी गरेको ! आफन्तको भिडमा पनि म एक्लै थिएँ । सायद म अरुले चिने झैँ घमण्डी र जिद्दी भएर होला ! किन मलाई आफ्नो रहर पुरा गर्ने भुत चड्यो थाहा भएन । त्यो रहरले नै त मलाई आफन्तबाट टाढा पा¥यो ।

मलाई नक्कली, उत्ताउली भनेर चिनेका थिए गाउँमा । सायद मैले आमाको लिपिस्टिक चोरेर लगाएर होला ! चम्चामा तेल दलेरै भए नि टुकी बालेर ध्वाँसोको गाजल बनाइ लगाएर होला ! के गर्नु आफुलाई साह्रै राम्री देख्थे म । आजसम्म पनि म उत्तिकै ऐना हेर्छु र राम्री पनि देख्छु । जव म ऐना अगाडि हुन्छु, आफ्नै प्रतिविम्ब पनि मेरो साथी बन्छ । एक्लोपनबाट मैले यसैगरी टाडिन सिकेकी छु ।

एनी तामाङ

नाच्ने रहरले पनि गजबले जरो गाडेको रहेछ ममा ! मेरी दिदी र म दुवै छिमेकीको घरमा पुजा हुँदाको रात नाच्दा साह्रै नराम्ररी पिटाइ खाएका थियौं कान्छा दाइको हातबाट । त्यसपछि उनले नाच्नै छोडिन् । तर मैले त टेरिन । गाउँमा विहे, पुजा, ब्रतवन्ध भएको रात मलाई नि जाने रहर तिव्र हुन्थ्यो । तर आफु त दाइहरुको धनी कहाँ जान पाउनु र ? उनीहरु नपुगेको ठाउँ नै नहुने । माइकमा त्यहाँ घन्केको संगीतको धुनले हातगोडा आफै चल्ने र मन थाम्नै नसकेर एक्लै नाच्थे म आगनमा अँध्यारो रातमा पनि । एक रात ठूल्दाइ आइपुगेछन् ! भुत भनेर सातोपुत्लो उड्यो उनको । धन्न पिटाइ परेन ! कान्छो दाइ नभएकोले मात्र बचियो ।

दाइहरु चै जहाँ नि जान पाउने, म र दिदी चै छोरी मान्छे रे ! उनीहरु जस्तो स्वतन्त्र हुन नपाउने रे ! हैन कति, बन्देज हो छोरी मान्छेलाई ? पारी गाउँमा आठ वर्षकी बच्चीको बलात्कार गरी हत्या भएपछि त झन् हामी नजरबन्दमै प¥यौं । ति फटाहहरुलाई थुन्न छोडेर हामी निर्दोष केटीहरुलाई लुकाउनु पर्ने कस्तो विडम्वना हो यो समाजको ?

नारी र पुरुष एक रथका दुई पाङ्ग्रा रे ! तर यो भनाईमा मात्र सिमित छ । नारी बलात्कार भएको समाचार निरन्तर सुनिन्छ । तर पुरुष बलात्कार भएको समाचार सम्प्रेषण भएको शायदै होला ! विवाहपछि नयाँ परिवेषमा घुलमिल भइ पतिको परिचयमा खुसी हुने नारीले सौता पनि झेलेको पाइन्छ । तर ति पुरुषले त झेल्न परेको छैन नि सौता उर्फ जार ! आफ्नो पतिलाई परमेश्वर मानेर पुजा गर्छिन् नारीले । तर पत्नीलाई देवीको रुपमा हेर्छन् त उनले ? हरेक घरमा बुवाको हैकम चलेको पाइन्छ । यदि आमाको हैकम देखिन्छ भने त्यो अपवाद मात्र हो । किनकी हामीलाई सर्वविदितै छ, यो समाज पितृसतात्मक हो । त्यसैले त आमाले तपाइँ भनेर सम्वोधन गर्दा बुवाले तिमी अथवा तँ भन्नुहुन्छ । हुन त अचेलका युवा वर्गमा तिमी भनी सम्वोधन गर्नु लोकप्रिय छ । तर यो तबसम्म सम्भव देखिन्छ, जबसम्म ति दुई आफ्ना मान्यजनबाट टाढा छन् ।

अझ हाम्रो घरमा त आमाले बाको जुठो खानुहुन्छ । तर बाले चै आमाको जुठो खानै हुन्न रे । खायो भने उनको आयु घट्छ रे ! यस्ता कुरा मलाई विल्कुलै पाच्य हुन्न । एक दिन खाना पस्किने पालो मेरो थियो । त्यो दिन बाले तिमीहरु खाउ म पछि खान्छु भन्नुभाथ्यो । आमाले खाएको कचौरामा दाल दिएकीथिएँ । ऐलेसम्म हट्टकट्ट छन् त बाबै !

म कति हठी स्वभावकी थिएँ ! एस. एल. सी. पछि शहरमा पढ्न मौका मिल्यो । हाम्रो परिवारमा म मात्र परे एस. एल. सी. उत्तीर्ण गर्ने । मेरो भूईंमा खुट्टै भएन । यही मौकामा नाच्ने रहर पुरा गर्ने विचार आयो । साथीहरुसंग डेरा बस्दा खुसुक्क नृत्य तालिम केन्द्रमा भर्ना गरे । छलकपट के धेरबेर टिक्न सक्नु ? बाआमा त रिसाउने भए नै, दाइको हातको चिउरा नि पाइयो । त्यो सबै त सधैं नि सहेकै हो । तर कोठामै थुनेर पो कस्तो अत्यचार गरे । मैले त्यसरी थुनिनु पर्ने गल्ती पो के गरे र ? कलाको पूजा गरिन्छ । तर यो कुरा मेरो परिवारले बुझेन त ! चरित्र नै बिगार्ने माध्यम ठान्यो नृत्यलाई । तर मैले किन बलि चढाउनु आफ्नो रहरको ? के रहर पूरा गर्ने मेरो अधिकार छैन ? कहाँ जाने म रहर पूरा गर्न ? कसलाई भन्ने ? आफ्नै परिवारले त बुझ्न सकेन । दुनियाले के बुझ्नु ? उनीहरु त दर्शक मात्र हुन् । पल्लो घरको काकी अनि माथ्लो घरको भाउजुले जस्तै घिउमा तेल थप्ने काम गर्छन् । परिवारलाई उकास्ने काम गर्छन् । पुरुषको त कुरै छाडौं यहाँ महिला नै महिलाको शत्रु छन् । हैन नारीहरुको बुझाइ कस्तो हो ? कुरै बुझ्न गाह्र्रो छ बा ! यस्तै समाजमा बस्ने बानी परेर पो हो कि ? जे होस्, हामीले जबसम्म आफ्नो सोंच परिवर्तन गर्दैनौं, तबसम्म हजारौं नारीहरुको रहरको बलि चढिनै रहन्छ ।

तर मेरो रहर कहाँ कमजोर थियो र ? यस्तो वातावरणमा पनि डगमगाएन । अझ यसले लक्षको पो रुप लियो । नाचेरै खाने निर्णय गरे । म प्रतिभा हुँ । फेरि आफ्नो प्रतिभा किन लुकाउनु ? पर्दामा आउने नारीलाई पैसा खर्च गरेर हेर्ने यो पुरुषप्रधान समाजले उनको कुरो काट्न नि छोड्दैन, अनि उनलाई नहेरीरहन नि सक्दैन । त्यसैले त फेसन अनि मोडलिङको आवश्यकता देखिन्छ यहाँ । अन्यथा यी कुराहरु प्हिले नै लोप हुन्थे । यसलाई मनोरञ्जन र अर्थोन्नतिको लागि प्रयोग गरेको देखिन्छ । मोहरा हुन्छन् नारी ।

आफ्ना घरका नारी घरमै थुन्ने बहानामा अमृतयुक्त बोली प्रयोग हुन्छ । त्यसैले मनन् गरौं, लाली र गाजल लगाउँदा त तिम्लाई असाध्यै राम्री देखिन्छ भन्दा मख्ख परेर उसको निम्ति सजिएर चिडियाखानाको जनावर झैं नबनौं । बराबरी सम्मान पाउन घरमा आर्थिक टेवा पु¥याउने कोसिस गरौं ता की आफ्नै कमाइमा बाँचेकीछु भनेर गौरव होस् र आत्मासम्मान बढोस् । म यहींको रैथाने भएकोले यही मनोरञ्जनको संसारमा जिउन थियो । पक्कै पनि हिम्मत लिएरै अघि बढे ।

कति छिटो समयले फड्को मारेछ ! दशक भएछ म घरबाट आफ्नो लक्ष पहिल्याउन हिंडेको ! जुनेली रातमा ताराहरुको साथ थियो मलाई त्यो बेला । मेरा साथीहरुले दिएको साथ

अमूल्य छ । उनीहरु प्रति सदा आभारी छु । आज म “प्रतिभा कला केन्द्र” खोलेर चलाइरहेकीछु । देशविदेशमा कार्यक्रम हुँदा टोली सहित जान्छु । आफ्नो–आफन्तसंग सामिप्यता छ । मेरो कुरा काट्नेहरुको कमी त कहाँ हुनु ? तर मैले यो समाजलाई राम्ररी बुझेकीछु । नारीहरु नै छन् धेरै आलोचक । तर मलाई उनीहरु प्रति कुनै गुनासो छैन । म पनि त एउटी नारी नै हुँ ।

सायद नारीहरु आफै चुकेका छन् आफ्नो अधिकारको संरक्षण गर्न । प्रकृतिले नारीलाई चुनेकी छिन् आफ्नो सन्तानको पहिलो गुरु हुन । त्यसैले प्रत्येक नारीलाई अनुरोध छ, कृपया यो सुवर्ण अवसरलाई गुम्न नदिम् । छोराछोरी दुवैलाई एकै खाले व्यवहार गरौं । लिंगको आधारमा उनीहरुको खेलौना नछानौं । सबै नारीको सम्मान गर्न सिकाम् छोरालाई । कुनै पनि छोरीलाई महिला हिंसा थाहै नहोस् ता कि उनी कुनै हिचकिचाहटबिना आफ्नो कामकर्तव्यमा लागि पर्न सकुन् । पक्कै पनि सुधारिन्छ घर अनि समाज , एवं रितले देश अनि संसार । समय लाग्छ, तर परिवर्तन अवश्य हुन्छ । अव मेरो रहर समाजमा नारीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको हेर्ने हो । यो काम तपाईं र म जस्ता नारीले नै गर्न सक्छौं । सोंच परिवर्तन गरौं, व्यवहार स्वतः परिवर्तन हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित