किन मान्छे सत्ताको वरिपरी रहन चाहन्छ ? रंगमञ्च, ‘माउजङ्ग बाबु साहेबको कोट’

एकपटक सत्ताको नजिक भएर रजगज गरेका शक्तिशाली व्यक्तिहरुमा सत्ता वा व्यवस्था परिवर्तनपछि कस्तो मनोभाव होला ? किन मान्छे सत्ताको वरिपरी रहन चाहन्छ ?
राष्ट्रिय नाचघरको पे्रक्षालयमा चलिरहेको नाटक ‘माउजङ्ग बाबुसाहेबको कोट’ले राजनीतिक परिवर्तनपछि पहिला सत्ता नजिक हुनेहरुको मनोविज्ञान देखाउँछ । कक्षा १०को पाठ्यक्रममा रहेको भवानी भिक्षुको कक्षा ‘माउजङ्ग बाबुसाहेबको कोट’ लाई सांस्कृतिक संस्थान र नाट्यकर्मी महासंघको सहकार्यमा रंगसारथी नाट्य समूहले नाटकका रुपमा प्रस्तुत गरेको हो । विजय विस्फोटको नाट्य आलेख र निर्देशनमा भदौ २४देखि प्रदर्शन भईरहेको नाटकले विशेषगरी नेपालमा प्रजातन्त्र स्थापना भएको पाँच÷सात वर्षभित्र सत्ता नजिकका राणाले भोगेको मनोदशा प्रस्तुत गरेको छ । सुत्रधार रोहानी लामाले मूख्यपात्र माउजङ्ग बाबुसाहेबको परिचय दिएपछि भित्ताको पर्दामा राणाकालिन दरबार देखिन्छ अनि कथा अघि बढ्छ ।

२००७ सालको राजनीतिक परिवर्तनसँगै धेरै कुरा फेरिएका छन् । राणाहरुको सत्ता खोसियो, प्रजाहरु बाठा भए । देशमा प्रजातन्त्र आयो । तर माउजङ्ग बाबुसाहेबको दरबारको रफाब अझै उस्तै छ ।खासनाम हुमायुजङ्ग भएपनि उनलाई सबैले ‘माउजङ्ग बाबुसाहेब’ भनेर चिन्छन् । २००७ सालअघि राणा शासकका विश्वासपात्र उनी प्रजातन्त्र आएसँगै बिर्तावालबाट साधारण जनता भईसकेका छन् तर उनलाई त्यो ठाँटबाँट छाड्न मनै छैन । तर परिवर्तन आईसकेको छ । घरका सुसारे, चाकरहरुमा पनि पहिला जस्तो उत्साह देखिंदैन । माउजङ्गलाई सेनाका एकजना जर्नेलले प्रसिद्ध वेन्सन कम्पनीको ओभरकोट उपहार दिएका थिए । त्यहि कोट लगाएर जब उनी बाहिर निस्किन्थे, उनको जयजयकार हुन्थ्यो । कोटको तारिफ हुन्थ्यो । अहिले माउजङ्गलाई बाहिरबाट त्यति निमन्त्रणापनि आउँदैन । बाहिर पार्टीमा जान नपाउँदा उनकी रानी छट्पटाएकी छिन् । कसैले निमन्त्रणा गर्ला कि भन्ने आशामा सजिएर बस्छिन् तर निमन्त्रणा नआउँदा निराश हुन्छिन् । राणा शासन जस्तै पुरानो भईसकेको वेन्सन कोटपनि झुन्डिरहेको छ । तर माउजङ्लाई त्यो कोट पहिला जत्तिकै महत्वपूर्ण लाग्छ ।

एकदिन गृहमन्त्री उपस्थित हुने कार्यक्रममा उनलाई पनि निमन्त्रणा आउँछ । त्यहि कार्यक्रमका लागि उनि कोट मर्मत गर्न नेपालगञ्जदेखि भारतको लखनउसम्म पुग्छन् । मर्मत गरेर नयाँ जस्तै बनेको वेन्सन कोट लगाएर उनी कार्यक्रममा पुग्छन् । कार्यक्रममा सहभागीहरु गृहमन्त्रीको कुरा सुन्न, उनको नजिक पर्न चाहान्छन्, माउजङ्गप्रति मानिसहरुको खासै चासो छैन । उनी झनै निराश हुन्छन् । कार्यक्रमको अन्तिमतिर आयोजकहरु उनीसँग फोटो खिचिरहेका बेला एकजनाको हातले कोटको गोजी च्यातिन्छ । उनी दुखी र आक्रोशित हुन्छन् । तर अब पहिला जस्तो उनको रजगज छैन । त्यहि कोटले अनुहार ढाकेर घर फर्किन्छन् । उनलाई देखेर रानी र सुसारेहरु चकित पर्छन् । माउजङ्गको त अनुहारै फेरिएको छ, पुरा रुपै बद्लिएको छ । उनको त्यो अवस्था देखेर रानी र सुसारेहरुले प्रश्न गर्छन् ‘के भयो राजा साब ?’ माउजङ्ग छोटकरीमा उत्तर दिन्छन् ‘राणाज्युहरुको राज गयो ।’ परिवर्तनप्रति उसको स्विकारोक्तिसँगै नाटक सकिन्छ ।

नाटकमा सुत्रधार रोहानी लामासहित कलाकारहरु जेबि डिसी, कोपिला थापा, तुलसा पहाडी, अनिता थापा, किरण चापागाईं, रोहित खत्री, दिलिप खड्का, बालकृष्ण रिजाल र छेदा शेर्पाले अभिनय गरेका छन् । नाटकमा निर्देशक विस्फोटले नायकलाई दुई रुपमा देखाएका छन् । उनि भन्छन् ‘यो मेरो आफ्नै प्रयोगको शैली हो ।’यसैवर्षदेखि विद्यालय रंगमञ्चयात्रा सुरु गरेको रंगसारथीले ‘माउजङ्ग बाबु साहेबको कोट’असोज ५ सम्म प्रदर्शन हुने जनाएको छ । पाठ्यपुस्तकको कथामा आधारित भएकाले यो नाटकमा स्कुले छात्रछात्रले रुचि देखाएका छन् । निर्देशक विस्फोट भन्छन् ‘पाठ्यपुस्तकका कथामा नाटक प्रस्तुत गर्दा विद्यार्थीहरुलाई मनोरञ्जनसँगै बुझ्नपनि सहज हुने र युवापुस्तको रंगकर्ममा रुचि बढ्ने सोंचले हामी उनीहरुलाई लक्षित गरेर अभियान चलाईरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित