पत्र : पत्नीलाई (कविता)

आशा गर्दै मधुमिलनको दूर बस्दो पियासी
एक्लैएक्लै विकट पथमा यात्रु हिँड्दो नहाँसी
तिम्रो मान्छे विकल विचरो दीर्घरोगी वियोगी
पीडा एक्लो असहज छ यो अर्धमान्छे अभागी

नाता हाम्रो प्रणयरसको दिव्य नौलो महान
खाता हाम्रो विपुल मनको खुल्छ साँचो समान
के भो नौलो खबर पनि खै प्राप्त होला—नहोला
धेरै टाढा पर चहकिँदो जून छोला—नछोला

खोलाजस्तै सलल गतिमा कल्पनाका तरङ्ग
त्यतै मात्रै मनमहल यो सम्झनामा भरङ्ग
टाढै गाढा नजिक त फिका हुन्छ यस्तै भनेर
भित्तेपात्रो तिथि र मितिको बार, मैना गनेर

लेख्तै हेर्दै ललित रचना बस्छु कालो कुनामा
खस्रोमस्रो सरल खजना खान्छु सानो दुनामा
माया भन्ने यस जगतको बाँच्नलाई तगारो
मेरी माया चिरसहचरी भेट्नलाई हतारो

रामविक्रम थापा

मेरै भाका सरस कविता छन्द मेरो रमायो
मेरै पाखा अमरपुरमा लोकभाका जमायो
भोको प्यासी प्रिय नजरको यो प्रतीक्षा महान
ए मायाकी हिमकमल हे ! बिर्सिएको नठान

कालोपाटी दिनभर चकै घोट्छु हातै समाई
लेख्तै मेट्तै प्रतिफलविना बाँच्छु फोस्रो रमाई
माझीजस्तै अविरल सदा पार धेरै गराई
मैनाजस्तै बकबक गरी शव्द बोल्दै कराई

अग्लो आस्था तन र मनको उच्च मेरो हिमाल
पानीजस्तै तरल वनिता धन्य हो जो कमाल
मैजस्ता यी सहज कविता लेख्न पाए महान
जूनै जस्तो टहटह सधैँ बन्न पाए जवान

सानो बासै घर त नभनूँ शान्त हाम्रो कटेरो
तेरोमेरो नभन न प्रिये ! हो न तिम्रो न मेरो
आफ्नो भन्ने जगतभरको सिर्जना नै कमाइ
मेरो भन्दै धन र महलै हुन्छ के पो रमाई ?

पोको खोल्दा अतिशय बढी यो मनैका गथासा
धोको फेर्ने मन रहर जो भोलिवादी छ आशा
चिट्ठी मेरो अलमल भयो डाँक अन्तै हरायो
बासै मेरो अकर पहरो त्रास भुक्तै करायो

प्यासै जाग्दा स्वजनहरुको जल्छ आत्मा सुकेर
तेलैजस्ता तपतप खसे अश्रुधारा लुकेर
पानीजस्तै कलकल गरी सम्झनाको बहाव
यात्रा राम्रै तर पनि अहो ! मात्र तिम्रो अभाव ।

छन्द : मन्दाक्रान्ता

प्रतिक्रिया

सम्बन्धित