नेवार जाति ! लाखेनाच र संखुवासभा

“बहुल जाति भाषा धर्म संस्कृति छ विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।”
गणतन्त्र प्राप्ति पछिको नेपाली राष्ट्रिय गानका पछिल्ला हरफहरु स्रष्टा प्रदिप कुमार राईको रचना हो र तीनकोटी नेपालीको साझा भावना हो । जातीय संस्कृतिहरुको सम्मिश्रणबाट नै कुनै पनि देशको संस्कृतिको निर्माण हुन्छ । राष्ट्र भन्नु नै जनता, भाषा, कला, साहित्य, संस्कति अनि प्राकृतिक सम्पदाहरुको समग्रता हो । एक सय २५ जाति र एक सय २३ भाषा रहेको नेपाल संसारको अनुपम साँस्कृतिक विशालताले युक्त मुलुक हो । गोपाल, महिषपाल, किराँत, लिच्छवी वंश पछि नेपाल खाल्डोमा शासन गर्ने मल्लहरु नेवार जातिका शासक थिए । नेपालको इतिहासमा ‘स्वर्णयुग’ भनेर चिनिने मल्लकालमा प्रारंभ भएका सुख–दुःख, मिलन–विछोड, आमोद प्रमोदका अनेकन क्रियाकलापहरु आज नेवारी संस्कृति बनेका छन् । त्यसमध्ये गाईजात्रा र लाखेनाच देशैभरी नेवारहरुका गौरवमय परम्पराका रुपमा जीवन्त छन् ।

नेपाल मण्डलमा नेवारहरु कसरी आए भन्ने सम्बन्धमा इतिहास विदहरुको छुट्टाछुट्टै मत देखिन्छ । इतिहासकार बाबुराम आचार्यले नान्यदेवसंगै भारतको सिम्रौनगढबाट कर्नाटक हुँदै नेवारहरु नेपाल पसेको कुरा उल्लेख गरेका छन् । अर्का इतिहासकार एवं राजनितिज्ञ डा. डिल्लीरमण रेग्मीले नेवार जातिको आगमन चीनको पहेंलो नदी(थ्भिियध च्ष्खभच) सेरोफेरोबाट नेपाल छिरेका हुन् भनेका छन् । उनले ४३ प्रतिशत पूर्व एसियाबाट, १० प्रतिशत मध्य एसियाबाट र २५ प्रतिशत दक्षिण एसियाबाट नेवार नेपाल छिरेको बताएका छन् । डिएनए परिक्षणको रिपोर्ट अनुसार नेवारका मुल पुर्खाहरु १० हजार वर्ष पहिले प्रागऐतिहासिक कालमा चीनको पहेंलो नदी सेरोफेरोमा भएको उल्लेख गरिएको छ । डा. रेग्मीले नेवार जाति हैन, राष्ट्र हो भनेका छन् । पूर्वेली ब्राम्हणहरु रिमाल, देवकोटा, सुवेदी, आचार्य तथा दक्षिणका ब्राम्हणहहरु मिश्र, झा, आदी पनि नेपाल मण्डलमा पसेपछि नेवारी संस्कृति अपनाउन र भाषा प्रयोग गर्न थाले । नेवाः अर्थात नेपाल भाषा प्रयोग गर्दा उनीहरु पनि नेवार बन्न पुगेका थिए । बज्रचार्य, कर्मचार्य, गुरुवाचार्य, उदास, श्रेष्ठ अनेक थरका नेवार नेपालमा छन् ।

 

तारा बहादुर बुढाथोकी ‘पाख्रीबासे कान्छो’

काठमान्डौ मुख्य थलो बनाएका नेवारहरु मुलुकका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका छन् । पूर्वमा हेर्दा धनकुटा बजार, भोजपुरको टक्सार बजार र संखुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरुमा नेवारहरुको बसोबास छ । यहाँका आङ्ला, स्याक्सिला, बाह्रबिसे, सेकाहा, ओक्तेन, माल्टा, तुम्लिङटार आदी ठाउँहरुमा छिटफुट नेवारहरु भएपनि मुलतः तीन नगरका बजार क्षेत्रमा नेवारहरु सांस्कतिक परम्परा सहित बसोबास गर्छन् । भोजपुरको टक्सार बजार पछि संखुवासभाको चैनपुर बजार, खाँदबारी र पाँचखपनको वाना र सिभुवामा लाखे नाच एवं जात्राको संस्कृति पनि जीवन्त छ । काठमान्डौको धुलिखेल, साँगा, ललितपुरबाट, कोही धनकुटा, कोही भोजपुर, कोही तेह्रथुम हुँदै नेवार संखुवासभा छिरेको देखिन्छ । ८६ वर्षिय छत्रबहादुर श्रेष्ठ म्याङ्लुङे कान्छा भन्छन्, किमाथांका नाकाबाट मात्र नुन आपुर्ति हुन्थ्यो । भोटको नुन देशभरी वितरण गर्न एक भाई किमाथांका र अर्को खाँदबारी बसेको आठ पुस्ता भयो । नुन दक्षिणबाट आउन थालेपछि किमाथांकाका नेवार चाहीँ म्याङ्लुङ बजार गए ।

नेवार जातिले नेपालमा गौरवमय अतीतको विरासतको रुपमा लाखे नाच नाच्दै आएको छ । चाहे शान्ति भैरव रुपमा, चाहे कंश वा पुतना राक्षसीको रुपमा अथवा अकाल मृत्यु गराउने भुतकै रुपमा संझेर होस्, लाखेको मुकुण्डो बन्छ र नृत्य हुन्छ ।

दुई प्रकारको लाखे नाच

१. श्रावण र भाद्र महिनामा नचाइने लाखे नाच जो नेपाल भरी नचाइन्छ । यो ‘गुँला’ लाखे हो । यो सबै थरका नेवारले नचाउँछन् ।
२. असोजमा इन्द्रजात्राको दिन मात्र नचाइने लाखे, ‘युँला’ लाखे (मोजिता लाखे) । यो रञ्जितकार थरका नेवारले मात्र नचाउँन पाउँछन् ।

खाँदबारीको लाखे

आफूहरु नौं वर्षको हुँदा देखि नै लाखे नाच्ने गरेको कुरा १९९० सालमा एकै दिन जन्मेका खाँदबारी निबासी नारायण बानियाँ(वैदार लहटे) र छत्रबहादुर श्रेष्ठ(म्याङ्लुङे कान्छा) बताउँछन् । उनीहरु भन्दा पहिले नै खाँदबारीमा ढुंगेधाराका चन्द्र बहादुर, सूर्यबहादुर र तेज बहादुर श्रेष्ठहरु लाखे भएर नाचेका सम्झना सुनाउँछन् उनीहरु । घले माइला भन्ने कृष्णराज शाक्य, ठूलो लहटे, दिलिप श्रेष्ठ, छत्रबहादुर श्रेष्ठहरु वि.सं. २०११÷०१२ साल देखि २०३० सालसम्म नाचेका रहेछन् । त्यसपछि खाँदबारीको पोखरी बजार माथिबाट स्व. सुन्दर बज्रचार्य, पोखरी बजार मुनीबाट स्व. गजेन्द्र श्रेष्ठ शक्तिशाली लाखे निस्किन्थे । २०३० सालपछि यी दुई जनाले २०५० सम्म लाखे नाचको नेतृत्व गरेको पाइन्छ ।

जगदिश शाक्य, नरजीवन श्रेष्ठ, योगराज श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ उतिबेलाका उत्कृष्ठ हाँस्यव्यंग्य कलाकार थिए । त्यसपछि नारायण कुमार श्रेष्ठ, दिपक बज्रचार्य, निरञ्जन श्रेष्ठ (खानपा १ वडाध्यक्ष) युथ क्लवका अध्यक्ष सोनाम लामा लगायत उत्कृष्ठ लाखे नाच्छन् । ढोलबाजेको लाखेनाच पनि देखिन थालेको छ भने डेढ दशक यता खाँदबारी युथ क्लवले संगठित रुपमा लाखे नाचेको पाइन्छ । हाल खाँदबारीमा दुई दर्जन बढी लाखे नाच्ने गरेको छ । यसरी खाँदबारीमा जात्राको इतिहास सय वर्ष भन्दा लामो छ ।

खाँदबारीको कृष्ण मन्दिर

१९९० साल तिर धरानमा नपाइनाले सामानहरु लिन मानिसहरु तराईको हनुमान नगर पुग्थे । १९९० माघ २ गते सोमबार भूकम्प जाँदा खाँदबारीबाट प्रभुराम श्रेष्ठ, गोवा साहु, रनमान मास्के, नरबहादुर श्रेष्ठ, पूर्णमान श्रेष्ठ, डुम्रेली साहु र बरबोटे(गोपी साहु) हनुमान नगरबाट ढाकरमा सामान बोकेर आउँदै थिए । त्यतिबेला भुइचालो गयो । गोवा साहु भूकम्पले चिरीएको जमिनमा भासीएर तिघ्रा च्यापिए रे ।

उनलाई दुखसुख साथीहरुले ल्याए । दुई ओटा लौरो टेकेर भित्र बाहिर गर्दा केही वर्षमा उनको घरमा एक जना साधु बाबा आएछन् । गोवा साहुले दक्षिणा दिएपछि उनकै घरमा बसेर भोलिपल्ट एउटा अनौंठो लौरो छोडेर गएछन् । लौरो खोलेर हेर्दा दशओटा असर्फि (दश तोला सुन) लौरो भित्र पाए । साधु बाबाले यो लौरो खोल्दा निस्केको सम्पत्तिले पाटी बनाइदिनु भनेका कारण राधाकृष्ण मन्दिरको पाटी र मन्दिर बनाएको हो भन्ने मान्यता छ । राधाकृष्ण मन्दिर जहाँ सर्वप्रथम हिमालय माविको स्थापना भयो र जनसेवा पुस्तकालय खाँदबारी स्थापना भयो । यहीँ मन्दिरमा लाखे नाच विषर्जन गरेपछि खाँदबारीमा लाखेनाच समापन हुन्छ । आज पनि खाँदबारीको कृष्ण मन्दिर जहाँ लाखे सेलाइन्छ ।

चैनपुरको लाखे

चैनपुर खाँदबारी भन्दा पुरानो र बहुसंख्यक नेवारहरुको बसोबास भएको बजार हो । ६० वर्ष अघि देखि नै धातुको मुकुण्डो बनाउने कारखाना नै छ । अर्जुन चैनपुरे, सुरेन चैनपुरे जस्ता गायक÷संगितकार अनि ज्ञानु उदास जस्ता कवि र बासु शाक्य जस्ता नेता चैपुरकै हुन् । १९५० साल जाँचमा नै जग्गा नापी दर्ता गर्न सफल भोलामान श्रेष्ठहरुको पुस्ता निकै पुरानो मानिन्छ । सय वर्ष भन्दा पहिले नै ६०–७० घर नेवार समुदायको बसोबास भएको पाइन्छ । यहाँ लाखे नाच भीमसेन स्थानबाट प्रारंभ गरेर कृष्ण मन्दिरमा समापन गरिन्थ्यो ।

अहिले क्लवको कार्यालयबाट शुरु गरिन्छ । चैनपुरमा लाखे नाच्ने गीत पनि छ । गाइन्थ्यो, गाइन्छ । माधव कर्माचार्य, पर्वत श्रेष्ठ, केशवलाल श्रेष्ठ, देवेन्द्र शाक्य र राजकुमार कर्माचार्यहरु लाखे गीतका बेजोड गायकहरु हुन् । गणेश प्रसाद श्रेष्ठ, देवेन्द्र कर्माचार्य र विश्वनाथ कर्माचार्य उत्कृष्ठ लाखे नर्तक हुन् । आजभन्दा तीन वर्ष पहिले चितवन नारायण गढमा सम्पन्न भएको राष्ट्रिय लाखे नाच प्रतियोगितामा चैनपुर तृतीय भएको छ । यसरी चैनपुरमा लाखेको छुट्टै परम्परा । यसरी नै पाँचखपन नगरपालिका सिभुवाको लाखे नाच निकै लोकप्रिय छ । यहाँका लाखेहरु राष्ट्रिय नाच प्रतियोगितामा उत्कृष्ठता हासिल गर्दै आएका छन् ।

लाखे नाच नागपञ्चमीबाट शुरु हुन्छ र कृष्ण जन्माष्टमीमा सम्पन्न हुन्छ । नागपञ्चमीबाट प्रारंभ हुनुको कारणबारे बुढापाकाहरु फरक मत राख्छन् । नागपञ्चमीमा कालीनागको पुजा गरेर शहकालको, वर्षाको माग गर्दै नाच प्रारंभ हुन्छ । यो दिन कंशराजको जन्म भएको, काली नागको जन्म भएको आदी मान्यता छ भन्छन्, एकथरी । अर्काथरी नागपञ्चमीबाट चाडबाड प्रारंभ हुने र क्वाँटी पूर्णिमा नेवारको महान चाड भएकाले त्यस दिन खाने पिउने रमाउने विचारले प्रारंभ हुन्छ भन्छन् । जेहोस्, क्वाँटी पूर्णिमाका दिन नेवार समुदायका मानिसहरु नौंजोर कपडा लाउने, नौं धारा नुहाउने, नौं थोक खाने र नौं नाता बोलाउने चलन थियो पहिले । अहिले नौं प्रकारका गेडागुडी (क्वाँटी) खाने प्रचलन त्यसैको अवशेष हो ।

पूर्णेको भोलिपल्ट गाईजात्रा हुन्छ, द्धितीयाको दिन हिले जात्रा हुन्छ । त्यसपछि गाउँमा नाच्दै सीधा माग्न जाने चलन थियो । त्यसबेला कृष्ण अष्टमीको दिन बजारमा फर्कन्थे । कृष्ण जन्माष्टमीको दिन पुजा पाठ लाएर कृष्ण र कंशको युद्ध जस्तै खेला बजारमा प्रदर्शन हुन्थ्यो । मध्यरात्रीमा लाखेका वस्त्रभुषण फुकालेर कृष्ण मन्दिरमा कृष्णको सामु समर्पण गरिन्थ्यो । त्यसबेला कृष्णको प्रहारबाट लाखेको हार भएको अभिनय सम्पन्न हुन्थ्यो । कंश हारेपछि कृष्णको रथको तयारी हुन्थ्यो । सिपाहीँ जात्रा र सिन्दुर जात्रा पनि प्रस्तुत हुन्थे ।

लाखेको मुकुण्डो

लाखेको मुकुण्डो तामा र पित्तलको धातुबाट बनेको हुन्छ । पहिले यसको तौल आधा किलो हुन्थ्यो । १९५० साल तिर मकुण्डो भत्तपुरतिरबाट ल्याइन्थ्यो । १९९०–२०१० सम्म यो भोजपुरको टक्सारमा ताम्राकारहरुले तयार गर्थे । झण्डै ६० वर्ष अघिबाट मुकुण्डो संखुवासभाको चैनपुरमा तयार हुने गर्छ । लाखेको मुकुण्डोमा लगाइएको पछाडीको रौं चाहीँ चौंरीको पुच्छर हो । दाँत चाँदीको बनाइन्थ्यो । अहिले अलि हलुका मकुण्डोहरु बनेको पाइन्छ । यो मकुण्डोमा नेपालको हनुमान ढोका दरबार स्क्वायरको गेटमा भएको कालभैरवको आकृति रहेको छ । नेवाःदबु (नेपाल नेवार संघ) को केन्द्रिय अध्यक्ष नरेश ताम्राकारका अनुसार लाखेको मुकुण्डो तीन ओटा कुराको प्रतिक मानिन्छ ।

१ शान्ति भैरव : नाच्नेलाई शान्ति भैरव मानेर पुजा गरिन्छ ।
२. कंश अथवा पुतना (राक्षस) : श्रीकृष्णलाई मार्न खोज्ने राक्षस ÷राक्षसी मानिन्छ ।
३. अकाल मृत्यु गराउने भुत : काठमान्डौ उपत्यकामा अकालमा मृत्यु भुतले गराउने भन्ने मान्यता भएपछि भुतको प्रतिकको रुपमा उसलाई खुशी पार्न मुकुण्डो बनाएर नाच्ने गरेको पाइन्छ । ताम्राकारसंगैको कुराकानीमा उनले भने लाखे जात्रा र मुकुण्डो लगाएर नाच्ने प्रचलन त मल्लकाल भन्दा पहिले गुणकामदेव कै पालामा प्रारंभ भएको हो । अहिले पनि आभुषण लगाउँदा काम्ने मान्छे बजारमा छदैछन् । छत्रबहादुर श्रेष्ठ र घले माइला लाखेको आभुषण लगाउँदा आफूहरु काम्ने गरेको बताउँछन् ।

लाखेको गरगहना र भेषभुषा

लाखेको अनुहारमा दोहोरो फेटा बान्छ । टाउकोको वरीपरि बाँध्ने फेटा ठूलो फेटा र टाउकोबाट चिउँडो तिर बाध्ने फेटा सानो फेटा हो । हातमा रुमाल, कम्मरमा घुङ्गुरु सौन्दर्यता र माधुर्यताको लागि प्रयोग गरिन्छ । उसले लगाउने लेहेंगा चोली पहिले छिट्को कपडाबाट बन्थ्यो । आज भन्दा ७० वर्ष अघि खाँदबारीको नेवारनीले तानबाट खाडी कपडा बुन्थे । सेकाहाका नेवारले त्यो कपडा १२ हातको १ थान खाडी एक रुपैंयामा किनेर लैजान्थे । अनि हर्रो, बर्रो आदी अनेक वनस्पतिको रङ बनाएर छिपामा काठले छिप्थे । यो कालो भुईमा सेतो छिप्दा÷छिटा भएको कपडा बन्थ्यो । यसलाई कसैले छिपेको कपडा, कसैले छिटेको कपडा भन्थे । हिजो आज युवाहरु रंगी चंगी कपडाको लेहेंगा र छातीमा चन्द्र सूर्य भएको चोली पनि प्रयोग गर्छन् ।

लाखे नाचका बाजा गाजा

लाखे नचाउँदा ढोल, झ्याम्टा, सनाही र बासुरीको बाध्यवाधन प्रयोग गरिन्छ । यसरी ढोल बजाउँदा चार प्रकारको तालमा बजाइन्छ ।
१ बाटो हिड्ने पारा : पहिले घरहरु नजिकमा थिएनन् । एउटा घरबाट अर्को घर जाँदा अलिअलि विस्तारै नाच्दै जाँदा स्लो मोसनमा बाटो हिड्ने पारा बजाइन्थ्यो ।
२ नाच्ने पारा : नाच्ने घरमा पुगेपछि आगनमा नाच्न थाल्दा सुरु गरेर घुमाउदै बिट मारिन्छ । नाच सकिन्छ । यसलाई घुमाउने पारा पनि भनिन्छ ।
३. पल्टने पारा : बिचबिचमा घुमाइन्छ र अलिक तिब्रता दिइन्छ ।
४ उफ्रने पारा : बिट नमारीकन उफारी उफारी नचाउने जोडतोडले बजाइन्छ ।
हिजोआज खाँदबार, चैनपुर र वाना तिरका कलाकारले पल्टने र बाटो हिड्ने पारा नाच्न र बजाउन विर्षदै गएको पाइन्छ ।

नेवारहरु मनोरञ्जन र कलाका पारखी र सर्जक नै हुन् । सधै रमाइलो गरेर बिताउन चाहन्छन् । उनीहरु बाह्रै महिना रमाइलो गर्न चाहन्छन् । प्रताप मल्लले चक्रवर्तेन्द्र मल्लको मृत्युमा शोकाकुल रानीको चित्त बुझाउन शहर भरीका मृतकका घरबाट गाइजात्रा निकाल्न हुकुम दिएपछि गाइजात्राको चलन चलेको हो । सबैको उस्तै देखे पछि चित्त बुझ्छ भन्ने मनोविज्ञान छ यसमा । एक दिन गाइजात्रा गरेर पितृप्रति शोक व्यक्त गरेपछि भोलीपल्टै हिले जात्रा निकालेर रमाइलो आमोद प्रमोद गर्छन् र अझ अरु वर्ष मृतकलाई सम्झेर शोक मनाउँदैनन् । यसबाट नेवार समुदाय सधै शोकमा डुवीरहन हुदैन । एक दिन शोक मनाउने र सधैलाई पिडा विर्षिएर अघि बढ्नु पर्छ भन्ने मान्यता पनि राख्छन् ।

लाखे नाचेर नचाएर आफू त आनन्दित हुन्छन् नै तमाम समुदायलाई पनि मनोरञ्जन प्रदान गर्छन् । पहिले पहिले त मनोरञ्जनका विद्युतिय सामग्री थिएनन् । तमाम मान्छेहरु सोहोरिएर लाखे र जात्रा हेर्न आउँथे । आजकल कम आउँछन् । संस्कार पनि अन्य जातिले मुकुण्डो लगाएर सारा गाउँले डाँडेर खाने माध्यम बनाउनु गलत पनि छ भन्ने सोचाई पनि छ कतिपयका । जेहोस्, पूर्वीपहाडका खाँदबारी, टक्सार, चैनपुर, वाना र सिभुवाका डाँडाहरुमा परम्परादेखि नै नाच्दै आएका लाखे नाच अनेकौं संशोधनका बाबजुद पनि नेवारी सांस्कृतिक परम्पराका रुपमा बाँचेकै छ । यसैले त डा. रेग्मीले भने झैं मलाई पनि भन्न मन लाग्छ, ‘नेवार जाति हैन राष्ट्र हो’ ।

स्रोतहरु :
१ं छत्रबहादुर श्रेष्ठ –म्याङलुङे कान्छा (८६ वर्ष) खाँदबारी
२. केशवलाल शाक्य, चैनपुर
३. कृष्णराज शाक्य –घले माइला (८७ वर्ष) खाँदबारी
४. नारायण बानियाँ –वैदार लहटे (८६ वर्ष) खाँदबारी
५. नारायण कुमार श्रेष्ठ –शिक्षक हिमावि,खाँदबारी
६. नरेश ताम्राकार –नेवाःदवु केन्द्रिय अध्यक्ष
७. पुस्तक : नेवारी जातिको चिनारी लेखकहरु ः प्रा.डा. प्रेमशान्ति तुलाधर, प्रा. मणिकलाल श्रेष्ठ, प्रा.डा. सुन्दरकृष्ण जोशी, सह–प्रा. ओमकारेश्वर श्रेष्ठ, सह–प्रा. तुयु बहादुर महर्जन

तस्बीर ः लेखक तारा बहादुर बुढाथोकी र खाँदबारीको लाखेनाच

Purbeli

TV

प्रतिक्रिया

सम्बन्धित