यी उर्जा हुन् देशका (कविता )

छ्न्द-शार्दूलविक्रीडित
१)
मेरो देश बनोस् अभिन्न जगमा उम्दा चमत्कार हून्
उर्जास्रोत नदी हिमाल बहुधा पर्याप्त आधार छन् ।।
खोलाका तटमा विकास बलिया पक्कीरहून् देवल
पैरोको डरमा कुनैपल नहोस् आनन्दहोस् केवल ।।
२)
कास्की पश्चिम मार्ग पर्यटनको दैलो बनोस् वाग्मती
कर्णाली रसुवा मनोहर रहोस् मुस्ताङ होस् उन्नति ।।
कोशीपूर्व इलाम पान्थर सदा खेती चियाका रहून्
झापा मोरङ साथमा सुनसरी ती धान भण्डार हून्।।
३)
नाका जोगबनी विराटनगरी भन्सार उद्योग हून्
हेटौंडा विरगंज गाैर मिथिला रोज्गारका योग्यहून्।।
सौराहा वनजन्तु बाघ चितुवा भण्डार तोरी रहून्
वासस्थान बनोस् सदा हृदयको नारायणी त्यैं बहून् ।।
४)
मोती भानु सदा सदा अमर हून् साहित्य को क्षेत्र मा
गोर्खा गोरख लुम्बिनी कपिल झैँ जाज्वल्य सर्वत्रमा।।
पाल्पाली सिपका टिलिक्क करुवा टोपी शिरैमा रहून्
रोल्पा जाजरकोट रूकुम सदा थुम्का अझैँ उच्च हून् ।।
५)
पुर्खाको दरवार सात छ तला शोभा नुवाकोटको
चौतारा पथको छ सिन्धु नगरी नाका रहोस् भोटको।
झोलुङ्गे पुलको विकास गतिमा टेवा रहोस् पर्वत
जुम्लाका रसदार स्याउ घरका खाँदा सधैं गर्व छ।।

६)
म्याग्दीका झरना सदा बगिरहून् रूँप्से झनै सुन्दर
स्याङ्जा वास बसी उडेर पुतली आँधी तरे हुन्न र।।
रेसुङ्गा सँग होस् कफी र अदुवा गुल्मी र सल्यानको
चुन्ढुङ्गा चिउरी प्रसिद्ध रहँदा अर्घा छ कल्याणको।।
७)
ताप्लेजुङ् सबको धरोहर थलो लिम्बू किराँती शिर
माथिल्लो चुचुरो प्रसिद्ध थलमा पाथीभरा मन्दिर।।
थुम्का तेह्र वटा गुराँस नगरी छन् आठ राई यहाँ
पाख्रीबास हुँदै वसन्तपुरका लालित्य लाली जहाँ।।
८)
ट्याम्केको चुचुरो उचाइ रहँदा देखिन्छ दोसाँधमा
पूजापाठ भए हिमाल तटको खोटाङ् हलेशी जहाँ ।।
नाम्चे सोलु प्रसिद्ध छन् जगतमा अग्ला हिमाली छ्टा
फेदीमा छ नदी सफा गगनझैँ बग्दै रहेको सदा।।
९)
आफ्नै देश सुरम्य शान्त हितमा यात्रा सदा गर्दछु
झन्डा साथ लिँदै सदा हृदयमा माटो भनी मर्दछु ।।
माटोमा तन हुन्छ घुम्छ जहिले जप्दैछु पूजा गरी
सिङ्गोशान्तअखण्ड कायम रहोस् इच्छा छ आत्मा भरि

छवि वैरागी घिमिरे
सुन्दर हरैँचा -९

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित