अरू सारी फालेर हिट हुन्छन्, म चाहिँ सारी लाएरै हिट भएँ :सुनिता

काठमाडौं : रेडियो र भिडियो जक्की हुँदै लोकगायिका बनेकी सुनिता दुलाललाई साउन लागेसँगै भ्याइ-नभ्याइ छ। अहिले उनी तीज गीतको रेकर्डिङमा निकै व्यस्त छिन्। तीज गीत गायिकाका रूपमा चिनिएकी सुनिताका ‘चेलीको माइतीघर’, ‘फेरि आयो माइत जाने दिन’, ‘तीजको दर’ लगायत एल्बम चर्चित छन्। उनीसँग सृजना खड्का र जयन सुब्बा मानन्धरले खुलस्त संवाद गरेका छन्।

चुरा, मेहदी केही लाउनु भा’ छैन, साउन लागेन ? बिस्तारै लाग्दैछ। मेहदी खासै मन पर्दैन। एलर्जी हुन्छ कि भन्ने डर लाग्छ। चुरा चाहिँ लगाउँछु। यसपालि मठमन्दिर पनि खासै जान भ्याएकी छैन। तीज गीतको सुटिङले भ्याइ-नभ्याइ छ।

साउनको सोमबार धेरै जना व्रत बस्छन्, तपाईं बस्नुहुन्छ कि नाइँ ? बस्दिनँ। मंगलबार गणेशजीको व्रत चाहिँ बस्ने गरेकी छु।

शिवजीलाई छाडेर गणेशजी ? पहिला इमेज च्यानलमा ‘जन्मकुण्डली’ भन्ने कार्यक्रम चलाउँथेँ। कार्यक्रमका ज्योतिषले मैले मंगलबारको व्रत बस्दा राम्रो हुन्छ भन्नुभएको थियो। त्यसैले गणेशजीको भक्त भएँ।तपाईंलाई त सबैभन्दा बढी विदेश भ्रमण गर्ने गायिका भन्छन् नि? त्यस्तो होइन। अरू कलाकार पनि जान्छन्। तीजको बेला चाहिँ म धेरै जान्छु। यसपालिको तीजमा पनि विभिन्न देशमा दुई महिनाको सांगीतिक टुर छ।

विदेश भ्रमणको कमाइ पनि राम्रै होला नि ? कमाइ एकदमै राम्रो छ। तर, मेरो पैसाजति आफ्नै गीतको रेकर्डिङ र भिडियोमा खर्च हुन्छ। म गुणस्तरमा सम्झौता गर्दिनँ। यसपालिको तीज गीतको म्युजिक भिडियोमा पनि लगभग तीन लाख रुपैयाँ खर्च गरेकी छु। गीत र भिडियो राम्रो भए न विदेशमा डिमान्ड बढ्ने हो।तीजलाई किन यति धेरै प्राथमिकतामा राख्नुहुन्छ ? मलाई तीज गीतले चिनायो। तीज गीतले नै रातारात हिट बनायो। दर्शकले तीज गायिकाको ट्याग झुण्ड्याइदिनुभएको छ। ‘तीज क्विन अवार्ड’ पाएकी छु। साउन लाग्नेबित्तिकै सुनिता दुलालको गीत कहिले आउँछ ? भन्नेहरू पनि छन्। प्राथमिकतामा त राख्नैपर्‍यो नि।

तीजमा आफ्ना लागि विशेष के किन्नुहुन्छ ? तीजमा मेरो धेरै ठाउँमा कार्यक्रम हुन्छ। चार-पाँच वटा ढाकाको सारी किन्छु। सारीमा सहज महसुस गर्छु। मान्छेलाई सारी लगाउन घण्टौँ लाग्छ। मलाई पाँच मिनेट पनि लाग्दैन। मसँग धेरै सारी छन्। फ्यानले पनि सारी नै उपहार दिनुहुन्छ। घरमा सारी राख्ने ठाउँ नै छैन।यसपालि तपाईंको तीज गीत कस्तो खालको छ ? तीज भन्नेबित्तिकै आमाले पकाएको खाने भन्ने सम्झन्छौं। मेरो तीजको पहिलो एल्बम ‘आमाले पकाको मीठो दर’ एकदमै हिट भएको थियो। यसपालि ‘आमाकै हातले पकाएको खाने हो’ बोलको गीत छ। मैले आफ्नोतर्फबाट शत प्रतिशत दिएकी छु। बाँकी दर्शकको हातमा छ।

तीजमा आमाले पकाएको नखा’को कति भयो ? मेरो आमाबुबा अमेरिकामा बस्नुहुन्छ। साँच्चै भन्नु पर्दा आमाले पकाएको नखाएको धेरै वर्ष भयो।तपाईं सधैँ तीजमा मात्र गीत निकाल्नुहुन्छ, किन ? त्यस्तो होइन। अरू बेला पनि मेरा गीत रेकर्डिङ भइरहेका हुन्छन्। अहिलेसम्म २० भन्दा बढी एल्बम निकालिसकेँ। तीजको बेलामा अलि बढी सक्रिय हुने भएकाले त्यस्तो लागेको होला।

अरूको गीत खासै गाएको पाइँदैन, प्रस्ताव नआएर हो कि ? त्यस्तो होइन। यसपालि मात्रै मलाई ४०-५० वटा तीज गीत गाउने अफर आएका थिए। मलाई गीतका शब्द मन परेनन् र गाइनँ। ‘गीत गाइन’ भनेर कति जना त मसँग रिसाउनुभयो।तपाईंले निकाल्ने तीज गीत र अरूले निकाल्ने गीतमा के फरक छ ? मेरा तीज गीत भड्किला हुँदैनन्। शब्द, संगीत र भिडियो सबै पारिवारिक हुन्छ। मैले हरेक तीजलाई सन्देशमूलक बनाउन खोज्छु। धेरै वर्कआउट गरेपछि मात्र गीत निकाल्छु।

भिडियोमा आफैँ अभिनय गर्नुहुन्छ नि ? मेरो गीत भन्नेबित्तिकै दर्शकले मलाई खोज्छन्। मलाई खासै नाच्न आउँदैन। तर, दर्शकको मायाले गर्दा नजानेर पनि नाचिन्छ। हिट हुन विभिन्न फन्डा गर्ने गायिका थुप्रै छन्। जस्तो, आफ्नो गीतमा उत्ताउलो देखिइने छोटा पहिरन लगाएर नाच्ने पनि छन्।

तपाईं शालीन रहेरै हिट हुनुभयो, है ? हो, अरू सारी फालेर हिट हुन्छन्, म चाहिँ सारी लाएरै हिट भएँ।

तपाईंलाई लागेको तीजका सकारात्मक र नकारात्मक पक्ष के-के हुन् ? विदेशमा पनि अहिले तीज भव्य रूपमा मनाउन थालिएको छ। हरेक कलाकारले स्टेज प्रोग्राम गर्नुहुन्छ। तीजका लागि भनेर १३÷१४ गु्रप विदेश जाँदैछ। त्यो राम्रो पक्ष हो। एकदमै लज्जालु दिदीबहिनी पनि बाहिर आएर खुलेर नाच्नुहुन्छ, खुशी लाग्छ। तर, तीजको नाममा जेठदेखि नै गीत रिलिज गरेर केटाहरूलाई उफारेको मन पर्दैन। गीत र भिडियो पनि त्यस्तै हुन्छन्। संस्कृति जोगाउनेभन्दा तीज विकृतितिर जाँदै छ।

पानी पनि नखाई निराहार व्रत बस्नुलाई चाहिँ के भन्नुहुन्छ ? मलाई त्यो मन पर्दैन। पानी, जुस र फलफूल खाएर पनि व्रत बस्न सकिन्छ। पहिलो प्राथमिकता आफ्नो स्वास्थ्यलाई दिनुपर्छ।तपाईं पनि व्रत बस्नुहुन्छ ? बस्दिनँ। म भेज खाना खान्छु। कार्यक्रममा नाच्नुपर्छ, दिदीबहिनीलाई नचाउनुपर्छ। नखाई इनर्जी कहाँबाट ल्याउनु ? भोको पेट बस्दैमा योग्य वर पाइन्छ भन्ने मलाई लाग्दैन। भगवान् भनेको आत्मा हो। आत्माले मागेको खानुपर्छ।

यसपालिको तीज कसरी मनाउँदै हुनुहुन्छ ? तीजका दिन आयरल्यान्डमा कार्यक्रम छ। उतैतिरका दिदीबहिनीसँग नाचेर÷नचाएर मनाउनेछु।

आफ्नै देशमा तीज मनाउन मन लाग्दैन ? लाग्छ। तर, के गर्न ? आफू पनि त बाँच्नुपर्‍यो नि ! यहाँ दिनमा चार÷पाँचवटा कार्यक्रम गर्दा पनि सोचेजति पारिश्रमिक आउँदैन। त्योभन्दा त वर्षको एउटा विदेशको कार्यक्रम गरेको बेस। त्यहाँका दिदीबहिनीलाई खुशी पार्न पनि पाइयो। यो भनेको आफ्नो संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु हो।अहिलेसम्म कति देश पुग्नुभयो ? अमेरिका, साउदी, बहराइन, कुवेत, कतार, दुबई, बेलायत, आयरल्यान्ड, स्कटल्यान्ड, चीन, जापान, अस्ट्रेलिया, क्यानडा, मलेसिया गनिसाध्य छैन।

विदेश जान के कुराले तान्छ ? कमाइले ? निमन्त्रणाका आधारमा जाने हो। कार्यक्रमका लागि बोलायो भने जुम्ला पनि जान्छु। पैसा मात्र हेर्दिनँ। जहाँ आफूलाई माया र सम्मान पाइन्छ त्यही जान्छु। किनभने, हाम्रै देशमा पनि विदेश छ नि। डोल्पा, मनाङ, मुस्ताङ विदेशभन्दा कम छन् र ?विदेश जाँदा-जाँदा वाक्क लागेर यसो भन्नुभएको हो कि क्या हो ? होइन। मलाई नेपालका पनि अझै धेरै जिल्ला घुम्ने रहर छ।बस्न त धेरै बाहिरै बस्नुहुन्छ क्यारे ! म धेरै नेपालमै बस्छु। यो साल पनि धेरैजसो नेपालमा नै छु। तर, जसले भेटे पनि ‘कहिले फर्कनुभयो ?’ भनेर सोध्छन्। अचम्म लाग्छ।

विदेश जाँदाका तीता अनुभव छन् कि ? छन् नि थुप्रै छन्। छ वर्षअघि एउटा नमीठो घटना भयो। एउटा आयोजक कार्यक्रम सकिएपछि फरार भयो। पछि प्लेन छुट्ने बेलामा पारिश्रमिक पाइयो। एक लाख रुपैयाँ भनेको ठाउँमा खाममा १० हजार रुपैयाँ दिएर पठायो। त्यस्तो धेरै पटक भएको छ। पैसा कमाउन कहाँ सजिलो छ र ?सुनिता दुलाल मान्छे पनि राम्री, स्वर पनि राम्रो त्यसमाथि अविवाहित ? पुरुष प्रशंसकले कत्तिको पछ्याउँछन् ? धेरै छन्। एक जना मेरो डाइहार्ड फ्यान हुनुहुन्थ्यो। मेरो हरेक पोस्टमा लाइक र कमेन्ट गर्नुहुन्थ्यो। हरेक बर्थडेमा फूल र केक पठाइदिनुहुन्थ्यो। तीजमा पनि सारी पठाइदिनुहुन्थ्यो। हरेक शुक्रबार मलाई डेडिकेट गरेर गीत गाउँदै म्यासेन्जरमा पठाउनुहुन्थ्यो।

एउटा फ्यानले यस्तो गरेको तपाईंलाई पनि मन पथ्र्यो कि ? मन पथ्र्यो। तर, जीवनसाथीका रूपमा चाहिँ सोचेकी थिइनँ। एक पटक अमेरिका जाँदा उहाँसँग भेट भयो। उहाँ अर्को राज्यको मान्छे तर मलाई भेट्न आउनुभएको थियो। उहाँसँग बिहे गरेको भए पनि राम्रै हुन्थ्यो। तर, गरिनँ। उहाँ अहिले पनि सिंगल नै हो।

तपाईंको ‘सिंगल’ स्ट्याटस चाहिँ कहिले बदलिन्छ त ? छिट्टै बदलिनेछ। ९० प्रतिशत पक्कापक्की भइसक्यो।

कस्तो मान्छे खोज्नुभएको छ ? सपोर्टिभ। मलाई र मेरो प्रोफेसनलाई सम्मान गर्ने।बिहे भइसकेको छैन, प्रेम प्रस्ताव त अहिले पनि आउँछन् होला नि ? आउँछन् नि किन नआउनु ! इमेल, फेसबुकबाट धेरै आउँछन्। त्यस्ता कुरालाई म सामान्य रूपमा लिन्छु। आफैँ ट्याकल गर्छु।

कसरी ‘ट्याकल’ गर्नुहुन्छ ? कतिलाई सम्झाउँछु, कतिलाई ब्लक नै हान्नुपर्छ। मान्छेको स्वभाव हेरी-हेरी ट्याकल गर्छु।सोसल मिडियामा एकदमै सक्रिय हुनुहुन्छ है ? हुनैपर्‍यो नि ! समयअनुसार नचली काम छैन।‘कतिपय सेलिब्रिटीले ‘बुस्ट’ गरेर आफ्नो पेजमा ‘फ्यान फलोवर्स’ बढाएका हुन्छन्’ भनिन्छ। तपार्इंका फ्यान चाहिँ कस्ता हुन अग्र्यानिक कि…? मेरो पेजमा भएका सबै फ्यान अग्र्यानिक नै हुन्। मैले बुस्ट गरेर बनाएका फ्यान होइनन्। तिनै अग्र्यानिक फ्यानको मायाले आज यहाँ छु।

अनलाइन सपिङ बिजनेस पनि थाल्नुभएको छ ? हो। पाँच÷छ वर्ष भयो। अनलाइनबाट बुटिकका सामान बेच्छु। मेरो फेसबुक फ्यान पेजबाट अर्डर गर्ने पनि धेरै छन्। मैले कुनै सारी लगाएको फोटो हाल्नेबित्तिकै फ्यानले त्यो अर्डर गरिहाल्नुहुन्छ। धेरैजसो विदेशबाट अर्डर आउँछ। म गएको बेला पर्‍यो भने सामान आफैँ लगिदिन्छु। वर्षमा १० देखि १५ वटा ब्राइडल सेटको अर्डर आउँछ।भनेपछि ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ जस्तै हुने रहेछ ? त्यस्तै भन्नुपर्‍यो। यति नगरी त बाँच्नै गाह्रो छ। अब छिट्टै समय मिलाएर फेसन डिजाइनिङको कोर्स गरेर एउटा बुटिक खोल्ने योजना छ।

अन्नपूर्ण सम्पूर्णबाट साभार।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…