अहिलेको साहित्य बजारको चनाचटपटे जस्तै छ : रामविक्रम थापा

साहित्यकार रामविक्रम थापाको जन्म २०२६ सालमा खोटाङ जिल्लाको बाम्राङमा भएको हो । उहांको पिताको नाम स्व.सैनध्वज थापा तथा माताको नाम स्व. तुलामाया थापा हो । पहाडी गाउंको विकट निम्न वर्गीय किसान परिवारमा जन्म भएकाले थापाको बाल्यकाल अभावग्रस्त रुपमा वितेको थियो । सानै उमेर देखी साहित्य सिर्जनमा रुचि राख्ने थापा बाल साहित्यमा समेत केन्द्रित हुनुहुन्छ । बाल साहित्यका करिव आधा दर्जन पुस्तक प्रकाशित गर्न सफल हुनु भएको उहांका केही बाल कविताहरु ससाना नानीहरुका नेपाली पाठ्य पुस्तकहरुमा समेत प्रकाशित छन् ।

विगतको समयमा गाविस सचिवका रुपमा १४ बर्ष सम्मको कार्य अनुभव वटुल्नु भएका थापा सम्प्रतिको रुपमा श्री बालकन्या मा.वि. फाक्टाङ, खोटाङको शिक्षक पेशामा रहेर हाल आर.पि.को रुपमा कार्यरत हुनुहुन्छ । थापा विगत ३ दशक देखी साहित्य तथा शिक्षासेवीका रुपमा परिचित हुनुहुन्छ । उहाँका विभिन्न राष्ट्यि स्तरका साहित्यिक पत्रपत्रिकाहरुमा लेख रचनाहरु समेत प्रकाशित छन् । स्नातकोतर सम्म अध्ययान पूरा गर्नुभएका थापा छन्द कविता सिर्जना तथा बाचनमा समेत सिपालु हुनुका साथै लोक साहित्य संकलनमा पनि रुचि राख्नुहुन्छ । साहित्यको स्थायी र मानक परिभाषा आउँन कठिन भएकार्ले अन्तरमनको भावनाको कलात्मक र उत्कृष्ट प्रस्तुति नै साहित्य हो, भन्ने मान्यता उहाँ राख्नु हुन्छ । विभिन्न सामाजिक शैक्षिक तथा साहित्यिक सङ्घ संस्थाहरुबाट मान सम्मान तथा पुरस्कृत हुनु भएको उहाँ साहित्य क्षेत्रको समीक्षक समेत हुनुहुन्छ ।

उहाँका पात्रहरु (लघु कथा सङ्ग्रह २०५५) छरिएका कविता (कविता सङ्ग्रह २०५६) बालपोष (बाल कविता सङ्ग्रह २०६४) राम्रो बानी (बाल कविता सङ्ग्रह २०७३) सुनपतालको सुन मmाँक्री (बाल चित्र कथा २०७३) टयाम्केको घुमघाम (बाल चित्र कथा २०७३) आकाशको बन्चरो (बाल कथा सङ्ग्रह २०७४) लगायतका कृतिहरु प्रकाशित छन् । कथा, कविता, गीत, गजल, निबन्ध, पुस्तक समिक्षामा सक्रिय रुपमा कलम चलाउने थापा विकट पहाडी जिल्लामा रहेर पनि लगनशिल साहित्यकारको रुपमा परिचित हुनुहुन्छ । मिलनसार, सरल तथा बहुमुखी प्रतिभाका धनि साहित्यकार थापासँग पूर्वेली न्यूजका सहकर्मी मणिराम दाहालले गरेको कुराकानी याहाँ प्रस्तुत गरिएको छ ।

तपाईँको पारिवारिक पृष्ठभूमि र बाल्यकाल ?

खोटाङको बाम्राङमा निम्नवर्गीय किसान परिवारमा मेरो जन्म भएको हो । मेरो बाल्यकाल अभाव र पीडामा बितेपनि पढाईमा अब्बल भएकाले प्राप्त मासिक छात्रवृत्तिले मलाई केही राहत मिलेको थियो ।

सिर्जनाको प्रारम्भ र प्रेरणास्रोत ?

२ कक्षामा पढ्दादेखि गीति लयका बालकविता लेख्न थालेको मलाई रेडियो नेपालको बाल कार्यक्रमले पहिलो प्रेरणा दियो । ३ कक्षामा पढ्दा (श्री सावित्रा प्रावि बाम्राङ) “हामी बालक” नामक मेरो बालकविता रेडियो नेपालबाट प्रशारण भएको थियो । त्यसपछिका मेरा प्रेरक व्यक्तित्व भनेका सानुकाजी श्रेष्ठ,कल्पना प्रधान,परशु प्रधान र जसराज किराती हुन् । अझपछि ,पत्रिकामा रचना प्रकाशन, पुस्तक प्रकाशन र प्राप्त पुरस्कारले मलाई यस क्षेत्रमा अडिएर रहन बाध्य पारे ।

साहित्य के हो र यसको अभीष्ट ?

अन्तरमनको भावनाको कलात्मक र उत्कृष्ट प्रस्तुति नै साहित्य हो । लेखकको आत्मसन्तुष्टि र पाठकको मानसिक खुराक नै साहित्यको अभीष्ट हो । साहित्य एउटा आकस्मिक आवेग र संवेग पनि भन्छु म । यद्यपि साहित्यको स्थायी र मानक परिभाषा आउँन कठिन छ ।

पछिल्लो समय बाल साहित्य तिर केन्द्रित हुनुको कारण ?

२०६० सालदेखि म बालसाहित्य सिर्जनामा लागेको हुँ । बालकविता र बालकथाका आधादर्जन पुस्तक प्रकाशन गर्न सफल भएको छु । मेरा केही बालकविताहरू र्बोिर्ङङ स्कुलका नेपाली पाठ्यपुस्तकमा पनि रहेका छन् । २०७४ फागुनमा खोटाङको दिक्तेलमा मेरै स्थानीय संयोजकत्वमा २५औँ राष्ट्रिय बालसाहित्य सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भयो । बालसाहित्य छाप्ने प्रकाशक पाउँन पनि सहज । यस्तै विविध कारणले गर्दा थाहै नपाई म बालसाहित्यतिर एकोहोरिएछु ।

यहाँ त लोकसाहित्य संकलनतिर पनि रुचि राख्नुहुन्छ, होइन ?

हो, भाइ ! लोककथाको खोजी र संकलनमा मेरो रुचि छ । खोटाङ जिल्लामा प्रचलित करिव एकदर्जन लोककथा संकलन गरिसकेको छु र यो कार्य मेरो जारी छ । अब केही लोककथा थपेर पुस्तक निकाल्ने योजना छ—खोटाङका लोककथा । प्रकाशक पनि फेला परेका छन् । केही आफ्नो अन्य कार्य व्यस्तताले प्रकाशन उम्केलान् भन्ने डर मलाई छ ।

तपाईको पुस्तक प्रकाशनको अवस्थाचाहिँ कस्तो छ ?

२०५५ मा पात्रहरू(लघुकथा—संग्रह) र २०५६ मा छरिएका कविता(कविता—संग्रह) ः यी २ पुस्तक निकालेपछि ८ वर्ष थन्किएर २०६४ मा बालपोष(बालकविता—संग्रह) निकालेँ । ९ वर्षपछि २०७३ मा ३ र २०७४ मा २ बालपुस्तक प्रकाशन गर्न सफल भएँ । २०५५ पछिका लघुकथा र २०५६ यताका कविता प्रकाशन हुन नसकिरहेको अवस्था छ । विकटिलो, दूर्गम बसाईले प्रकाशकहरू निकट हुन सकेका छैनन् । प्रकाशन पीडाताङ्क सहिरहेकै छु, ।

वर्तमान साहित्यवारे यहाँको दृष्टिकोण ?

फेसबुकले अहिले साहित्य खाइदियो । लेखक र पाठक दुबैलाई मारिदियो फेसबुकले । आजको साहित्य त बजारको चनाचटपटे जस्तै छ । चिन्तन,मनन र अध्ययन अनि परिपाकरहीत सिर्जना । बिम्ब, प्रतीक र अलङ्कारको खडेरीमा छ कविता । कति छिचरा र ओजहीन कविता पढ्न विवश छु म आज ! उन्मूक्त परिवेश,व्यस्त जीवनशैली र फेसबुके जमानाको उपज पनि होला यस्तो दूरावस्था ।

पुरस्कारप्रति तपाईँको टिप्पणी ?

पुरस्कार त व्यापार हो, आदानप्रदान । विन्तीपत्र हालेर लिनु परेपछि जोगीले माग्ने भीक पनि भयो पुरस्कार । उही मियोमा सधैँ घुमिरहने गोरुको दाइँ पनि भएको छ पुरस्कार । लाखे पुरस्कार थापिसकेका हातहरू हजारे पुरस्कार थाप्न पनि अगाडि बढ्छन् । दाता र प्राप्ता ः कसैलाई लाज भए पो ! दस प्रतिसत पनि बेदागी र सुवासिला छैनन् नेपालका पुरस्कार । सम्पर्कवाद, नातावाद, साझावाद, विनिमयवाद,कृपावाद,दलवाद,जातिवाद,क्षेत्रवाद, …को दलदलमा फसेको पुरस्कारमा भयङ्कर विकृति र विसङ्गति आएको छ । सुवासिला हुनु पर्नेमा दूर्गन्धित —गनाउँने भएका छन् पुरस्कार । केन्द्रमुखी पनि छन् पुरस्कार । उताकाले त उतै दिन्छन् : यताका पनि उतैकालाई बोलाएर नाक घोक्र्याउँछन् ।

विकट ठाउँ(खोटाङको फाक्टाङ)को बसाइले साहित्य सिर्जनामा तपाईँलाई असर गरेको छैन ?

सिर्जनामा त उस्तो असर हुँदैन । प्रेषण र प्रकाशनमा भने समस्या हुँदोरहेछ । फोन पनि नलाग्ने ठाउँको बसाई अत्यन्तै कष्टप्रद र सकसिलो लाग्छ । यस्तो ठाउँमा इमेल,इन्टर्नेटको त कुरै भएन । एकाध महिनामा तराई(मोरङ) झरेर आफ्ना लेख—रचना प्रेषण गर्ने गर्छु । आफ्ना रचना प्रकाशित पत्रपत्रिका देख्न र भेट्न पनि मलाई गाह्रो पर्ने गर्छ ।

तपाई त छन्दका रसिला र कसिला कविता लेख्नुहुन्थ्यो, आजकाल के छ अवस्था ?

छन्द कविताका माध्यमबाट नै मैले गरिमा र मधुपर्क जस्ता राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा प्रवेश पाएको हुँ । अहिले जस्तो सजिलो कहाँ थियो र त्यो कालो पञ्चायत कालमा । बालसाहित्यमा लागेर अहिले प्रौढसाहित्य मेरो अलिक ओझेल परेको अवस्था छ । अब मजाले छन्दका कविता लेख्ने रहर छ मेरो ।

तपाईँको अबको साहित्यिक योजना के छ ?

केही घरव्यबहारका कामहरू पनि अधुरा छन् , तिनलाई पूरा गर्नु पनि छ । साहित्यिक योजनामा प्रौढ साहित्यमा फर्केर पुस्तक प्रकाशन गर्ने । खोटाङका लोककथाका अतिरिक्त लघुकथा, कविता र गजलका एक—एक थान पुस्तक प्रकाशित गर्ने मेरो योजना र रहर छ ।

साहित्यमा लागेकोमा कुनै पश्चात्ताप त छैन नि ?

यतातिर लागेर अन्य क्षेत्रका केही अवसर गुमाए पनि र आर्थिक दूरावस्था भएता पनि मलाई पटक्कै पश्चात्ताप छैन भाइ ! सानोतिनो नै भएपनि आफ्नो पहिचान बनेको छ । मनोरञ्जनपूर्ण आत्मसन्तुष्टि छ । म यता नलागेको भए तपाईँ यसरी अन्तरवार्ता लिन मसित आउँनुहुन्थ्यो त ? यहाँ छुट्टै एउटा रमाइलो संसार छ नि ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…