बट्टारमा महाकविको शालिक स्थापना

त्रिशूली, नुवाकोट /   यहाँको बट्टार बजारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक स्थापना गरी शनिबार अनावरण गरिएको छ ।

विदुर नगरपालिका–४ बट्टारको हावाघर चोकमा स्थापना गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटको अर्धकदको शालिक अनावरण गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यसबाट जिल्लामा साहित्यिक गतिविधि अघि बढाउन र नयाँ पुस्तालाई सिर्जना क्षेत्रमा सक्रिय हुन उत्साह मिल्ने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख गीता दाहालले नगरपालिकाले साहित्यकारका शालिक मात्र स्थापना नगरी नगर भित्रका स्रष्ट्राहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइने बताउनुभयो ।
उक्त नगरपालिका–४ को रु चार लाख लागतमा साँघुरिँदै गएको बट्टार बजारको केही खुला स्थानमा रहेको हावाघर क्षेत्रमा शालिक स्थापना गरिएको विदुर नगरपालिका–४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो ।
यसैगरी शनिबार बट्टार क्षेत्रको पानीको अभावलाई पूरा गराउन स्थापना गरिएको तीन वटा धाराको नगर उपप्रमुख दाहालले उद्घाटन गर्नुभयो । वडा नं ४ को सहयोगमा बट्टार बसपार्क, मेरी स्टोप्स चोक र हावाघरमा डिप बोरिङ गरी धारा सञ्चालनमा ल्याइएको थियो । बर्खाको समयमा प्रायः धारामा पानी नआउने र आए पनि धमिलो पानी आउने भएकाले अहिले सङ्लो पानीका लागि यी धाराहरुमा स्थानीयवासीको भीड लाग्ने गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित