कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

काठमाडौँ / कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) आज यहाँ लोकार्पण भएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भन्नुभयो ।

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस् भन्ने शुभकामना दिनुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उहाँका कृतिलाई पाठकमाझ ल्याउन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तुति रहेको बताउनुभयो । कृतिको समीक्षा गर्दै साहित्यकार मोमिलाले भन्नुभयो, “कृतिले आममानिसको जीवन बोलेको छ, कृतिकारको जीवनलाई पनि यसले धेरथोर समेटेको छ, यस्ता सिर्जनाले मानिसको मनलाई छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ ।”

स्रष्टा श्रेष्ठले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगत्लाई समेट्ने प्रयास गरेको उहाँले बताउनुभयो । सर्जकका जीवनसाथी सुमन श्रेष्ठले घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताउनुभयो ।
नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरित र कोषाध्यक्ष पुष्पा खनालले कृतिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग (कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् । यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेखेको सो कृतिमा विमल भौकाजीले सम्पादन गर्नुभएको हो । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर यो कृति बजारमा ल्याएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित