लघु कथा : चउरवारी

धेरै वर्ष पछि अमेरिकावाट छोटो भ्रमणका लागि धरान पुगियो । ” पापा ! यो सबै जग्गा हाम्रो थियो?” छोरो संगीत चउरवारीको सेरोफेरो देखाएर सोद्धै थियो । मैले ” हो छोरा” भनेर कुरो छोट्ट्याये । २०२२ सालको कुरो हो, म ४ वर्षको थिए, बाघ आयो भनेर हल्ला गरेको याद छ । भोलिपल्ट हाम्रो कुक्कुरलाई राति बाघले लगेर खाएको अनि तल जामुनको वोट छेउ बाँचेकुचेको हाड्खोड छोडेको थाहा भयो । घरको अगाडि ठुलो चउर भएकोले “चउरवारी” भनेर चिनिन्थ्यो हार्मो घर । गाईको दुध दुहुंदा दुहुँदैको तातैमा पिउने मेरो लत घरको सबै भन्दा पुरानो सेवक जेठा राईले लगाएका थिए । एउटा ठुलो आरामदायी कुर्शी “बाको कुर्शी” को नामले चिनिन्थ्यो । आगनको दाँया एउटा चमेली फुलको वृक्ष हरदम सुबास छर्न व्यस्त रहन्थ्यो, यो चमेली वृक्ष मेरो जन्मस्थल थियो । आगनको एउटा छेउमा सखुवाको ठुलो खाट थियो ।

बार्दलीका कोठाहरुमा पिण्डेश्वर विध्यापिठमा पढ्ने विध्यार्थीहरु बस्दथे । लोकनाथ गुरुलाई म त्यहिवाट चिन्दछु, अझै आफ्नै परिवार जस्तो लाग्दछ । आँगन भन्दा अलिक पर डाँडाको मुखमा जेठा राई दाजुको घर थियो, मेरो प्रिय क्रिडास्थल, अनि बिचमा ऊखु वारी । घरको छेउमा केहि नरिवलका वोटहरु, घर पछाडी थुप्रै सुपाडिका वोटहरु थिए । कलकत्ते आँप, माल्दह, फजुली, सिन्धुरे अनि सुपाडी आँपका वोटहरु, कटहर र भूँइकटहरका वोटहरु, चिउरी , सरिफा, अम्बक, अमलाका रुख, दांत माझ्न प्रचलित नीमको रुख, अनि वारी भरि मौसम अनुसारका तरकारी -फर्सी, काँक्रा, झिङ्गनि, घिरौला, भन्टा, फुल्कोबी, खुर्सानी इत्यादीले शोभायमान थियो चउरवारी |दाहिने पट्टि ठुलो तुलशी मठ थियो अनि वेली चमेली, बाह्रमासे, गुलाफ, इन्द्रकमल अनि करवीर फूलका वोटहरु तथा मौसम अनुसारका सयपत्री मखमली जस्ता फूलहरुले शुशोभित थियो त्यसवेलाको चउरवारी । मेरा पिताजीको भारत बर्षको वास तथा साहिला काका काठ्माण्डुमा अनि जेठी फुपूको विवाह भइसकेकोले बाँकी पांच सन्तानका साथमा सेवकहरु, जग्गा कमाउने परिवारहरु, गोठ गाइवस्तु, कुकुर बिराला समेत गरेर पण्डित शालिग्रामको चउरवारी सानो खुशहाल नेपाल थियो।

२०१९ सालमा धरान बजार रतन रोडमा घर बनाएपछि पण्डितजी ज्यादा धरान मै बस्न थाल्नु भयो, छोरा बुहारीहरुको परिवारमा ज्यादा समन्वय र नियन्त्रण रहन सकेन आखिर २०२४ सालमा चउरवारीको अंश-बण्डा भयो । म पनि कति खुशी भएको थिएँ, माल्दह र फजुली आप हाम्रो भागमा परेको थियो । पहिले सबैले जमिनमा धर्का तान्न थाले, पछि झिक्राको वारले चउरवारीको सतहको एकमुष्ट सुन्दरता टुक्रा टुक्रामा विभाजित भएको देख्न पाइन्थ्यो, पृथ्वी नारायण शाहको विपक्षी आएर वन्चरोले हाने जस्तो । साहेबजी वारी परतिरको डाँडा-घर अझै सिङ्गै छ, सबै समुन्नत छन्, एक आदर्श परिवारको उदाहरण छ । ” पापा के सोचिराखेको?” संगीतले झक्झक्यायो ।

“अनि के भो त त्यो वारीलाई” संगीतले अझै जिज्ञाशा राख्दै थियो । ” सबैले आफ्नो भागको जमिन पाए, अनि अहिले सबै बेचेर कता कता गए ” मैले उत्तर दिएँ । उ अझै सोध्दै थियो “अनि यस्तो हुन्छ भन्ने वुढा हजुरबालाई थाहा थिएन र? हेर यसरि भाग नलगाएको भए आज सम्म चउरवारी रहिरहन्थ्यो, होइत त?” संगीतको प्रश्न वाण छेक्ने क्रममा मोहन काका आइपुग्नुभयो । कुरो पुग्ने गरि जवाफ दिने वाक-शक्तिका धनी मोहनाकाकाले थप्नु भयो ” ए विलोल ! के भन्छ यो अमेरिकन नाति, बिचरा यसलाई के थाहा चउरवारी रहेन भन्छ, यहा त देशकै भागबण्डा हुनेवाला छ, सबै आ-आफ्ना भाग लिएर कता कता पुग्ने हुन् पत्तो छैन ” संगीतले छोडेन फेरी सोध्यो “त्यसो भए हजुरबा हामीअर्को पल्ट आउदा भारत आउने कि चीन ? त्येतिबेला सम्म त नेपाल पनि बिक्रि भैसक्ने होला, होइन र? मोहन काका र संगीत अझै गफ गर्दै थिए, पर रेडियोमा मविवि शाहको “सक्दिन सहन भन्छिन, सन्तान थरि थरि का’ भन्ने गीत बज्दै थियो, म चैं नारायण गोपालको “म मरे पनि मलाइ मेरो देशको माया छ ” भन्ने गीत गुनगुनाउदै थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित