पाँच बुँदे खाँदबारी घोषणा पत्र जारी गर्दै साहित्यिक सम्मेलन सम्पन्न

संखुवासभा / पाँच बुँदे खाँदबारी घोषणा पत्र जारी गर्दै प्रदेश नम्बर १ स्तरीय साहित्यिक सम्मेलन खाँदबारीमा सम्पन्न भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा मकालु साहित्य समाजले आयोजना गरेको साहित्यिक सम्मेलन खाँदबारी घोषणा पत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो ।
१ नम्बर प्रदेशको साहित्य, कला संस्कृतिको विकासका लागि प्रादेशिक स्तरको प्रज्ञा प्रतिष्ठान हुनुपर्ने, हरेक स्थानीय तहहरुमा पुस्तकालय तथा वाचनालय र ई–लाईब्रेरीको व्यवस्था गरिनु पर्ने, सामाजिक सञ्जालबाट भएका रचनाको चोरी जस्ता विकृति र विसङ्गति हटाउन पहल गरिनु पर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

जेष्ठ स्रष्टाहरुलाई सम्मान तथा सेवा सुविधा उपलब्ध गराउनु पर्ने र साहित्य, कला र संस्कृतिको क्षेत्रबाट नमुना प्रदेशको रुपमा एक नंम्बर प्रदेशलाई चिनाउन पहल गर्नु पर्ने विषयहरुलाई घोषणा पत्रमा उल्लेख गरिएको छ । साहित्यिक सम्मेलनमा एक नम्बर प्रदेशका ८ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा प्राध्यापक डाक्टर भिम खतिवडाले प्रदेश नम्बर १ को नेपाली साहित्यः बर्तमान स्थिति, समस्या र सम्भावनाहरु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ को समग्र साहित्य क्षेत्रका अवस्थाको बारेमा उल्लेख गर्दै तयार पारिएको कार्यपत्र माथि राजेन्द्र सर्वहारा, खगेश्वर भट्टराई, रमेश चन्द्र अधिकारी र विनोद गुरुङले टिप्पणी गरेका थिए ।

सम्मेलनमा तेह्रथुमबाट मित्र नेपाली, ईलामबाट एकु घिमिरे, मोरङबाट भरत गुरागाई र प्रयाग न्यौपाने, सुनसरीबाट भिम खतिवडा, खोटाङबाट प्रमोद श्रेष्ठ, र उदयपुरबाट योगराज खत्रीले प्रतिनिधित्व गरेका छन् । त्यस्तै, झापाबाट पुन्य खरेल, भोजपुरबाट अम्रीका ताम्राकार, छबिराम ओझा र खगेश्वर भट्टराई, धनकुटाबाट रमेश चन्द्र अधिकारी, मेनुका चापागाई र मुकन्द प्रयासले जिल्लाको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागि बनेका छन् । सम्मेलनमा सहभागी साहित्यकारहरुले आफ्नो साहित्यिक रचना पनि वाचन गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित