लघुकथा : सुनको साइकल
ढोका छेउ कुनामा राखेको पुरानो साइकललाई मायाले सुम्सुमायो । एकछिन एक टकले हेरिरह्यो । रामेश्वर मोटरसाइकलमा अफिस हिड्यो । भाँडा धुँदै श्रीमानका कृयाकलाप नियाली रहेकी फूलमायाका मन एक्कासी बरालियो ।
— बि.एस्सी सरलाई बोमेले कुट्यो रे ।
हल्लाले बिहिबारे बजार नै ततायो । यता उता सबै तिर
— कोल्ले रे ?
— बोमेले रे हाउ ।
— किन कुटेछ नी ?
— एस. एल. सी. मा चिट चोर्नु नदेर रे ।
— उसको केटीले पोल लाएर रे हाउ ।
सुनेर फूलमायाको टाउको दुख्यो । रीसको पारो उम्लियो । हल्लै हल्लामा बनाईएकी उस्की केटी थिइ ’फूलमाया’ ।
टाउकामा ब्याण्डेज लगाएका बि.एस्सी सरलाई रूममा ल्याए । केहिछिन बसेर साथीहरू गए । आफ्नै घरमा बस्ने मन नपर्ने ‘काले’, ‘मधिसे’ बोलाउँदा पनि ‘काले’ या ‘मधिसे’ नै भन्थी । मन नपरेको मान्छे पनि बिरामी हुँदा माया त लाग्दो रैछ । तातो पानी, जाउलो र समयमा औषधी दिंदा दिंदै कति बेला मन पनि दिइपठाइछिन् ‘फूलमायाले’ । कालेबाट कालेकृष्ण फेरियो बोलाउने नाम । नाम फेरिए जस्तै रामेश्वरको मन पनि कोपिलाबाट फूल्दै गरेकी फूलमायाको मायामा नफेरिएको, नलोभिएको त कहाँ हो र !
— ओइ ! बि.एस्सी सर तँलाई कस्तो छ ?
हेडसरको खरो बोली सम्झेर छोरीसँगको ‘श्रृंगार रस’, ‘शान्त रस’ हुदै ‘भय रस’मा परिबर्तन हुन्थ्यो ।
— ओई ! कालेकृष्ण सामान रेडि गर ।
— यति राती किन ?
— चुप..काले । खुरूक्क आफ्नो चाइने जति सामान बेकोर हिड । अहिले तेरा बाजेले थाहा पाए भने काट्छ ।
रामेश्वरको हातखुट्टै लल्याकलुलुक पो भो ।
— त्यो बोमे बौलाहा छोडुवा भन्दा कालेकृष्ण नै हिरो भयो मेरोलागि । हरेक दुस्ख प्यारो भो । त्यो सुनको सा–स्यानो यार्लिङग् बेचेर किनेको हिरो साइकल । दिलिप र हेमा भै रमाउँदाका ती पलहरू…
आँखाहरू ओशिएछन् । रातारात भागेर कालेकृष्ण की राधा बनेकी पनि २२ बर्ष पो भएछ । सम्झेर कलको छेउमा हातमा लोटा लिएर टोलाई रहिन् फूलमाया ।
किशोर सुब्बा (लिम्बु)
प्रतिक्रिया