बिचरा जनप्रतिनिधि : सेल्फी खिचेरै बित्यो एक बर्ष !

घटना १: केही समयअघि मोरङको उर्लाबारीका एक जनप्रतिनिधिले दाहसंस्कारका बेला मृतकका आफन्त शोकमा भावबिब्हल भईरहेका बेला अन्तिम संस्कारका लागी शवदाह स्थलमा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेँ । मानवता नै हराएको मानिसका रुपमा उनको सर्बत्र आलोचना भयो ।

घटना २: मोरङको उर्लाबारीकै अर्का जनप्रतिनिधिले एक महिना अघि एक घरमा आगलागी भईरहेका बेला आगलागी नियन्त्रणका लागी प्रयास गरिनुभन्दा सेल्फी खिचेर रमाए । उनको पनि आलोचना नहुने कुरै भएन ।

घटना ३: मोरङकै एक नगरपालिकामा २ साताअघि आयोजित एउटा महोत्सवको उदघाटन कार्यक्रममा मुखयमन्त्री शेरधन राईसँग सेल्फी खिच्नकै लागी आफु अतिथि भएर पनि एक जनप्रतिनिधिले बिशिष्ट अतिथिको कुर्सीमा आसिन भएर बिशिष्ट अतिथि र आयोजककै बेईज्जत गरिएको दृश्य पनि कम रोचक रहेन ।

यी सेल्फी मोहमा मानवता बिर्सिएका केही उदाहरण मात्र हुन । पछिल्लो समय जनप्रतिनिधिहरुको फेसबुक र सेल्फीमोह देख्दा लाग्छ सायद उनीहरुलाई सेल्फी खिच्नकै लागी र उनीहरुको सेल्फीमा लाईक र कमेण्ट ठोक्नकै लागी मात्र जनताले उनीहरुलाई भोट हालेर जिताएका हुन । उनीहरुलाई बिकास निर्माण देखि गाँउ र नगरको समगै बिकास भन्दा पनि कुन कार्यक्रममा जाँदा कस्तो सेल्फी खिच्न पाईन्छ र आफनो हर्कत देखाउन पाईन्छ भन्ने कुराको नै चिन्ता हुन्छ ।

पछिल्लो समय जनप्रतिनिधिहरु फुर्सदिला बनेका छन । पार्टीका बिभिन्न कार्यक्रम,सभा सम्मेलन र ब्युटीपार्लरको उदघाटन सम्ममा तिनै जनप्रतिनिधिहरु पुग्ने गरेका छन । मानौ उनीहरु बिना कसैको श्राद्धको बिधि समेत आजकल फुक्दैन । “उल्फाको धन फुपुको श्राद्ध ” भन्ने उखान उनीहरुको हकमा चरितार्थ भएको पाईन्छ ।कुनै सभा,समारोह र कार्यक्रममा पुग्नेबित्तिकै जनप्रतिनिधिहरुको ध्यान सेल्फीमा हुन्छ । कुन एंगलको सेल्फी खिच्दा राम्रो आउँछ भन्दै पोज फेरीफेरी उनीहरु सेल्फी मोहमा रमाउँदा उनीहरुलाई भोट हालेर जिताउने जनताले कठै भन्नु शिवाय केही उपाय देखिन्न । अधिकांश जनप्रतिनिधिहरु आफनो पदीय मर्यादाको ख्याल समेत नगरी सेल्फीमोहमा रमाउन थालेका छन । उनीहरुको यो हर्कत हेर्दा लाग्छ उनीहरु सेल्फीमा पिएचडी नै गर्नेवाला छन ।

नगरपालिकाले बिभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको हुन्छ । प्राकृतिक बिपत्ति देखि लिएर दैबिप्रकोप लगायत भैपरी आउने घटनाहरुमा सहयोग गर्ने फण्ड नै राखेको हुन्छ । त्यस्ता बिपत्तिमा जनप्रतिनिधिहरु सहयोग गर्नभन्दा पनि सेल्फी खिच्ने मोहमा बढी रमाएको देखिन्छ । केही जनप्रतिनिधिको हर्कत देख्दा लाग्छ कतिबेला जनतालाई बिपत्ति पर्छ र सेल्फी खिचौँ ।

बिपत्तिमा परेकाहरुको दुखमा साथ दिन उनीहरुसँग पुग्नु र सहयोग गर्नु एकदमै सकरात्मक काम हो । तर् जनप्रतिनिधिहरु त्याँहा पुगेर स्थानीय निकायले सहयोग गरेको भन्दापनि आफुले सहयोग गरेको देखाउन चहान्छन । उनीहरु फलाना र तिलाना ठाँउमा पुगेर सहयोग गर्दै भनेर फोटो पोष्ट गर्न भ्याईहाल्छन । यस्को मतलब गाँउपालिका,नगरपालिका,उपमहानगरपालिका वा महानगरपालिकाले सहयोग गरेको भन्दा पनि ब्यत्तिगत सहयोग गरेको जस्तो देखाएर फेरी भोट बटुल्ने र सामाजिक सञ्जालमा चर्चा बटुल्ने अभिप्रायका साथ यो हर्कत गरिरहेका देखिन्छन ।

त्यसै पनि जनप्रतिनिधि भनेका जनताले जिताएर पठाएका प्रतिनिधि हुन । उनीहरु जनताको दुखमा सारथी बन्नुपर्छ । तर यहाँ त्यस्तो पाईँदैन । कसरी आफु चर्चित हुने र सेल्फी खिच्ने भन्ने ध्यानमै लगभग एक बर्ष बितिसकेको छ । अझै पनि जनप्रतिनिधिको चेत खुलेन भने बिचरा जनप्रतिनिधि भन्नु बाहेक अर्को बिकल्प देखिन्न ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित