पूर्वको राजनीति

नेपाली राजनीतिमा केन्द्रीय राजधानीको हैसियतमा काठमाडौंको जति भूमिका र महत्व छ । नेपालको पूर्बको त्यो भन्दा कम महत्ब र ऐतिहासिकता छैन । नेपालमा भएका जुनसुकै राजनीतिक परिबर्तन होस् वा क्रान्तिको नेतृत्व पूर्बले गरेको छ । सत्ता परिबर्तनका लागि भएका बिद्रोह या तत्कालीन सत्तासिनहरुले आफ्नो सत्ता टिकाउन गरेका हत्या काण्डको बिपक्षमा गरिएका बलिदानी संघर्सका कथामा पूर्ब क्षेत्र कम छैन ।

यद्दपि, ती कालखण्डमा शासनसत्ता टिकाउन गरिएका हर्कत र मच्चाइएका कतिपय रक्तपातहरुले जसरी तत्काललाई उनीहरुलाई सत्ता लम्ब्याउन मद्दत पुर्याउँथ्यो । तर, जनताको शाहस र लगनले ती सरकार कमजोर बन्दथे । उनीहरुका हर्कत निष्काममा परिणत हुन्थे ।

सत्ता टिकाउने खेल

आफ्नो शासन सत्ता टिकाउन गरिएका अनेकौ हथकण्डाहरु जसले कतिपय सत्ता टिकेका छन् भने कतिपय शासकहरुले नामोनिशान मेटाएका उदाहरण छन् । राजा महाराजाहरुकै कमजोरीका कारण इतिहासमा द्धैध शासन, सहायक शासन, संयुक्त शासनहरु भएका भेटिन्छन् । द्धैध शासनकाल बढी मात्रामा खतरनाक हुने गरेको देखिन्छ । बाइसे चौबिसे राज्यदेखि बिशेषगरी भाइभारदार र चौतारियाहरुमा शासक बन्ने लालसाले पनि बिद्रोह र हिंसा मच्चिएको भेटिन्छ ।

इतिहासमा बिभिन्न तौर तरिकले शासन सत्तालाई टिकाउने खेल भएका छन् । त्यस क्रममा जनतासग भएका लडाईमा बिभिन्न काण्डहरु मच्चाइएका छन् । यसै शन्दर्भमा नेपालको पूर्बी भेगमा कुल झोडा, दुधेकैदले झोडा, चुलाचुली काण्ड र रमाइलो झोडा लगायतका काण्ड भयो । ती लडाई र जन संघर्ष धेरै जसो राजनीतिक उद्देश्यबाट प्रेरित थिए भने तत्कालीन प्रशासनले पनि आफ्नो सरकारको नूनको सोझो गर्ने बहानामा धेरै उतारचढाव आएका छन् ।

कतिपयको त्यही बहानामा ज्यान गएको छ भने धेरै बेघरबार बनेका छन् । कतिपय ठूला ठूला क्रान्ति र संघर्षका रुप त्यस्तै खाले संघर्षको जगमा भएका इतिहास छन् ।
विभिन्न देशमा सुरक्षाकर्मीका रूपमा काम गरी अवकाश पाएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने र तिनै मार्फत नेपाली कांग्रेसको सशस्त्र क्रान्तिको राजनीतिक अभियान अगाडि बढाउने अभिप्रायले क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा विसं २०२८ मा मोरङको रमाइलो झोडामा भूतपूर्व सैनिकहरूको बसोबासको व्यवस्था मिलाउन लागिएको थियो । बीपी कोइरालाले गरेको सशस्त्र क्रान्ति अनुरुप त्यो काम गरिएको थियो त्यसबेला झापादेखि कोसीसम्मका धेरै मानिस पहाडबाट बसाइँ सरेर सुकुमबासीका नाममा तल आएका थिए । तत्कालीन पञ्चहरूले पनि आफ्नो राजनीतिक प्रयोजनका लागि त्यस्तो अभियान चलाएका थिए । यही कुरा बुझेर बसाइँसराइको फाइदा हामीले पनि किन नउठाउने भन्दै पूर्व सैनिकहरूलाई लक्षित गरेर अभियान चलाइएको थियो ।

नेपाली कांग्रेसका निम्ति त्यो ठाउँ ज्यादै बलिदानी रह्यो । त्यहाँका धेरै योद्धाले पछि टिम्बुरबोटे काण्डमा मृत्युवरण गरे । त्यहाँ मृत्युवरण गर्नेमा राम लक्ष्मणबाहेक सबै रमाइलो झोडाकै हुन् । २०३१ सालको पुष १ गते सोलुखुम्बुको टिम्बुरबोटेको जंगलमा यज्ञबहादुर थापाको नेतृत्वमा मुक्ति सेना र सैनिकबीच भिडन्त भएको थियो । जहाँ दुई दर्जन भन्दा बढी मुक्ति सेनाको मृत्यु भएको थियो ।

२०२७ र २०२८ सालमा नयाँ शिक्षा योजनाको नाममा उथलपुथल भयो । त्यस्तै झापा काण्डको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण घटना घट्यो जस्को परिणामस्वरुप नेपालको झापा र मोरङ्गका कतिपय जमिन्दारहरुले आफ्नो ज्यान गुमाउनुपर्यो । जसले गर्दा तत्कालिन समाजमा राजनीतिक जागरण पैदा गरायो ।
०२९ सालमा झापामा मेची अन्चलका अन्चलाधिस छिरिगं तेन्जिग लामा र एसपी पदमबहादुर मानन्धरले तत्कालिन बिद्रोहीहरुको हत्या गरेर पन्चायती ब्यवस्था टिकाउन र राजतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याएका थिए । भयो पनि त्यस्तै चर्चित सुखानी हत्या काण्ड जसको बलमा पंचायती ब्यबस्था तीस बर्ष सम्म टिक्यो । तर, त्यो ब्यबस्थाका बिरुद्ध ज्वारभाटा उमार्नेहरुलाई मारेर र थुनेर आफ्नो सत्ता सँधै टिकाउन सकिन्छ भन्ने तत्कालीन शासकहरुको सपना धुलिसात भयो । यद्धपि त्यो दिन देख्न नेपाली जनताले लामो संघर्ष गर्नु पर्यो ।

जतिबेला झापामा नक्सलाइट शैलीको एक्सन शुरु भयो । त्यस घटनामा परी ७ जना मानिस मारिए । जव शनिश्चरेमा धर्मप्रसाद ढकाल मारिए, तब मात्र प्रहरी प्रशासनका कान ठाडा बनेका थिए । त्यस घटना पछि मात्र सरकारले बिद्रोही बिरुद्ध धाबा बोल्न शुरु गरेको थियो । २०२९ सालमा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको आलो रगतले सिंगै सुखानीको जंगल सिञ्चित भयो । देऊमाईको किनार शहीद रत्नकुमार वान्तवाको रगतले भिज्यो ।
धनकुटाको छिन्ताङ र तामागढीका सुकुम्वासी बस्तीहरु पञ्चायती दमनको निर्मम सिकार भए । ओखलढुंगाको टिम्मुरबोटे, सिन्धुलीको भीमानमा पनि पञ्चायती शासकहरुले निहत्था जनताको कत्लेआम गरे । कयौँ मारिए । थुप्रै वेपत्ता बनाइए । उता ०३५ सालमा मेचीका अन्चलाधिस लीलाराज बिष्ट र इलामका सीडियो रामेश्बर साहले रत्नकुमार बान्तबा र बम बान्तबाको हत्या गरे । त्यतिबेला सत्ता टिकाउन पूर्बमा धेरैबटा हत्या काण्ड मच्चिए ।

पूर्वको राजनीति

नेपालको आधुनिक राजनीतिक इतिहासमा पूर्वको बेग्लै महत्व छ । खासगरी २००४ सालमा बिराटनगरमा भएको जुटमिल आन्दोलन (जसलाई नेपालकै पहिलो संगठित बिद्रोह भनिन्छ) देखि झापा बिद्रोह हुँदै बिराटनगर प्लेन अपहरणदेखि छिन्तांग काण्डहरुको बिष्लेषण गर्ने हो भने पुर्वमा धेरैको रगत बगेको छ । त्यति मात्र होइन, नेपाली राजनीतिको नेतृत्व लामो समयसम्म पूर्व क्षेत्रबाट उदाएका राजनीतिज्ञहरुले नै गरेका छन् । मातृकाप्रसाद कोइराला, बीपी कोइराला, सुर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, गिरीजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीहरु जो नेपालका प्रधानमन्त्री भए, उनीहरु पूर्व कै हुन । यसर्थ पूर्वले नेपालको राजनीतिमा बिशेष अर्थ राख्छ ।

राणा शासन बिरुद्धको संघर्सको नेतृत्व गर्ने नेपाली काँग्रेसको तत्कालीन नेतृत्व मातृकाप्रसाद कोइराला, बीपी कोइराला र कोइराला परिबारको देन, ०२८ सालको झापा बिद्रोह मार्फत पन्चायत बिरुद्धको हतियार संघर्स, ०३६ सालको आन्दोलन, बीपीको मेल मिलाप नीति, लोकतन्त्रको स्थापना र राजतन्त्रको अन्त्यका लागि माओबादीले गरेको जनयुद्धको रुपबाट हेर्ने हो भने पूर्बले नेपाली क्रान्तिको नेतृत्व नै गरेको छ भन्दा फरक पर्दैन ।

काँग्रेसले गरेको राणा शासन बिरोधी संघर्सको प्रारम्भसँगै कम्युनिष्ट शक्तिको उदय हुनु र राणा शासनको अन्त्य पछि पनि स्थिरता हुन नसक्नु र त्यसको कारण स्वयम् नेपाली काँग्रेसको रुष्ट शक्ति हुनु अचम्मको कुरा थियो । त्यसबेला आफ्नै पार्टीको सरकार बिरुद्ध लागेका यूवाले पूर्वमा ९ महिनासम्म त अलगै सरकार चलाए । त्यो सामयिक सरकार त्यसबेला केन्द्रीय सरकारका लागि चुनौती बनेर खडा भएको थियो ।

त्यसपछि पन्चायतको कठोर कालखण्डमा पनि केन्द्रीय सत्ता बिरुद्धका संघर्स भइरहे । खासगरी हतियार संघर्सबाट मात्र क्रान्ति सम्पन्न हुन्छ भनेर त्यसका लागि बर्ग शत्रुखत्तम अभियान चलाउने झापाली क्रान्तिकारीको संघर्सको गाथा कम छैन । हत्याको श्रृखलाले उत्पन्न गराएको जटिलता र बिद्रोहको ज्वारभाटाले त्यसबेला धेरैको ज्यान लियो । धेरैले जेल नेल भोगे । परिबार गुमाए । आफन्तले त्यागे ।

पन्चायतको अन्त्यका लागि भए गरेका प्रयाससँगै ०४६ सालको परिबर्तन र त्यसपछि उदाएको माओबादी शक्तिले चलाएको जनयुद्धका कारण पूर्वमा धेरै ठूला ठूला रक्तपात भएका छन् । राजतन्त्र फ्याँक्न भएका आन्दोलन र काँग्रेस, माओबादी र एमाले मिलेर गरेको आन्दोलन र ०६३ सालको संघर्सका गाथामा पूर्वक्षेत्र कम छैन ।
०४३ सालमा झापाको सुरुंगामा लक्ष्मी पाण्डेको हत्या भयो । ०४६ सालको जन आन्दोलनमा झापाको भद्रपुरस्थित मेची क्याम्पसमा राम थापाको हत्या भयो । उनको हत्यासंगै मुलुकमा धेरैको रगत बगिसकेको थियो । त्यस घटना लगत्तै तत्कालीन राजा बीरेन्द्रले बहुदलीय ब्यबस्थाको घोषणा गरेका थिए । ०६२। ०६३ सालको जन आन्दोलनमा देशै भरी आन्दोलहरु भए ।

त्यस आन्दोलनको झिल्काले पूर्वलाई पनि ततायो । रापमा सेक्यो । अझ ठूलो आन्दोलन त झापा मै भयो । ०६३ साल बैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढीमा मानवसागर उत्रियो । त्यस दिन राजन गिरी र सुरज बिश्वासको ज्यान गयो । त्यस लगत्तै देशभरी निर्णायक आन्दोन भयो । त्यस पछि राजाको प्रत्यक्ष शासनकालको अन्त्य भयो । र, देशमा लोकतन्त्र आयो ।

दोहोरिने क्रान्ति

जुनसुकै शासनसत्ता सत्ता मोहका कारण लम्बिएका र छोटिएका घटनाहरु पर्याप्त भेटिन्छ । राजा रजैटाकालदेखि पृथ्बीनारायण शाहले चलाएको नेपाल एकता अभियानसम्म आइपुग्दा र राणा शासन हुँदै ००७ सालको क्रान्ति र त्यस यताका प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्रको स्थापनासम्ममा भए गरेका संघर्षका गाथाले यही परिबेशको सिर्जना गरेको अबस्था छ ।

र, आज पनि यो प्रक्रिया एउटा निरन्तर चलिरहने रेल जस्तो लाग्छ । बारम्बार जनताका आधारभूत मौलिक हकहरू कुण्ठित पारिएका छन् । त्यस खाले हक र अधिकारका लागि र त्यस्ता जन बिरोधी सत्ताका विरूद्धमा विभिन्न राजनीतिक दलहरू र जनता पटक पटक आन्दोलनमा उत्रिएका थिए । २००७ सालदेखि सङ्घर्ष र बलिदानीको कथा आज पनि उपन्यासका पात्र झैं दोहोरिरहेका छन् । राणा शासनका बिरुद्ध गरिएका तमाम संघर्षका गाथालाई तिलान्जली दिने गरी २०१७ सालमा राजा महेन्द्रले जन निर्वाचत तत्कालीन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद निर्दलीय पञ्चायती व्यवस्था कायम गरेका थिए ।

०१८ सालको क्रान्ति, ०३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६ मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत संग्रह गराए । बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत संग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो । त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन सकेन । बर्षोदेखिको जनताद्धारा जनताका लागि र जनताले नै गर्ने शासन पद्धतीको स्थापना गर्ने जन चाहनामा तुसारापात हुँदै गयो । यद्धपि प्रतिबन्धित अबस्थामा भए पनि दलहरुले केही न केही संघर्षका कार्य गरिरहेका थिए । त्यसै क्रममा २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो ।

२०४५ सालमा १९५०को व्यापार तथा पारवाहन सन्धि नविकरण नभएको भन्दै भारतले नेपालका २ वटा बाहेक सबै नाका बन्द गरिदियो । देशभर खाद्यान्न र पेट्रोलियम लगायत दैनिक उपभोग्य सामग्रीको व्यापक अभाव भयो । त्यसै बेला २०४६ माघ ५ देखि ७ गते सम्म नेपाली कांग्रेसले आफ्नो अधिवेशन गर्यो । जसमा भारतीय पूर्व प्रधानमन्त्री चन्द्रशेखर पनि उपस्थित भई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नैतिक समर्थन रहेको अभिव्यक्ती दिए ।

त्यही अधिवेशनले फागुन ७ गते देखि शान्तिपूर्ण रूपमा जनआन्दोलन सुरू गर्ने निर्णय गर्यो । फागुन ७ गते काठमाडौंमा आन्दोलन सुरू भयो । देशका विभिन्न ठाउँमा जुलुसहरू निस्किए । संयुक्त बाम मोर्चा र नेपाली कांग्रेसले संयुक्त रूपमा आन्दोलन गरेको यही पहिलो अवसर थियो । अन्त्यमा केही नलागेपछि राजाले जनतासामु घुँडा टेके र चैत्र २६ गते राती एक संविधान मार्फत संविधानमा रहेको निर्दलीयता शब्द हटाएको घोषणा गरे । २०४६ मा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक ब्यबस्था स्थापना भएको थियो ।

२०५२ मा सुरू भएको माओवादी जनयुद्धका कारण १७ हजार नागरिकले ज्यान गुमाउनु पर्यो । जसका कारण देश झन् अस्थिरता तर्फ बढ्यो । २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो । त्यसपछि ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे । सोही साल देशमा संकटकालिन अवस्था लागू गरियो । तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो । फलतः राजाले निर्वाचित संसद भंग गरी सत्ता आफ्नो हातमा लिए ।

अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे । मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए । राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो । राजनीतिक दलहरू आन्दोलनमा उत्रिए । विभिन्न राजनीतिक दलहरूको गठबन्धनले राजाको कदम विरूद्ध आन्दोलन गरिरहे ।

यसै क्रममा शसस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबीच २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँ दिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो । त्यसपछि अन्य राजनीतिक दलसँगै माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी भयो । सबै मिलेर आन्दोलन भयो । राजाले बैशाख ८ गते एक घोषणा गरी जनताको नासो जनतामा नै फिर्ता गरेको घोषणा गरे । त्यसपछि बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुर्नस्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो र आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भई नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो ।

इतिहास जित्नेहरुको मात्र हो ?

२००७, २०१७, २०२८, २०३६, २०४६ हुँदै २०६२/२०६३ को जनआन्दोलनसम्ममा आइपुग्दा भएका सङ्घर्ष र बलिदानका गाथाहरुले एउटा न्यायप्रेमी नागरिकको मुटु ढक्क फुल्छ र बिभिन्न समयमा बिभिन्न पुस्ताले गरेको अबिराम संघर्षका कथाले नयाँ पुस्तालाई आज पनि शीर झुकाउन बाध्य पार्छ । यद्दपि, इतिहासमा क्रान्तिकारी परिवर्तनका निम्ति राष्ट्र र जनताको उन्मुक्तिको निम्ति बलिदान गर्ने पात्रहरुलाई राज्यले दबाउने काम गरेका उदाहरण प्रसस्त छन् । उनीहरुको बेवास्ता गर्ने र बिर्साउने कोशिस भएका छन् ।

के इतिहास जित्नेहरुको मात्र हो र ? के ती कालखण्डहरुमा ज जसले सत्ता परिबर्तनका लागि प्राणको आहुती दिए, के तिनीहरुको जीवनको कुनै मूल्य थिएन ? इतिहास जित्नेहरुको मात्र होइन, हार्नेहरुको पनि आफ्नै इतिहास र गौरवगाथा हुन्छ ।  जसले ती दिनमा आफ्ना जीवनसाथी, बाल बच्चाको समेत पर्याय नगरी शुन्दर भबिस्यको परिकल्पना र समुन्नत समाजको स्थापनाका साथै लोकतान्त्रिक शासन ब्यवस्थाको माध्यमबाट भाबी पुस्ताका लागि समृद्धिको सपना देखे, त्यो इतिहास केलाउने चेष्टा हो यो । ती दिनहरुमा भएका सत्ता संघर्षका रुपहरुको बर्णन हो, त्यस खाले संघर्षमा ज्यान गुमाउनेहरुका नाममा समर्पित हो ।

राज्यको पुनसंरचनापछि १ नं. प्रदेशको रुपमा रहेको यो क्षेत्रमा समग्र नेपालको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक विशेषता रहेको छ । हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको यस क्षेत्रले विकास र समृद्धिको पनि नेतृत्व गर्ने निश्चित छ ।

(झापाका पत्रकार तीर्थ सिग्देलद्धारा लिखित पूर्वको राजनीति नामक पुस्तकबाट । यो पुस्तक भर्खरै बजारमा आएको छ ।)

प्रतिक्रिया

सम्बन्धित