श्रमिक महिला दिबस : कतै अबिरजात्रा कतै पसिना तुरुरु….

मोरङ । बिहिबार देशभर १०८ औँ महिला दिबस मनाईयो,बेलबारीमा मात्र २ वटा कार्यक्रम महिला दिबसकै अबसरमा आयोजना भए । एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री ले महिला दिबसको शुभकामना दिँदै बिभिन्न निर्बाचनमा निर्बाचित महिलाहरुलाई अबिरजात्रा गरिरहेका थिए भने अर्को कार्यक्रममा मञ्चमा महिला सम्बन्धी बिभिन्न रचना बाचन भईरहेको थियो । त्यही समय एकाथरी महिलाहरु फागुनको चर्को घाममा कोही ज्याला मजदुरी गरिरहेका थिए त कोही खोलाको बगरका गिट्टी कुटीरहेका थिए ।

बेलबारी बजार क्षेत्रमा निर्माण भईरहेका भवन र बिभिन्न फर्निचर सहितका उद्योगमा महिला पनि पुरुष बराबर नै काम गरिरहेका छन् । भवन निर्माणमा काम गर्ने बेलबारीकी ४० वर्षीया उषा तामाङ भने दिवसबारे अनविज्ञ छन् । ‘दिनभर बालुवा नचाले र इटा नबोके चुलो बल्दैन,’ उनले भनिन् ‘महिलाले मनाउने पनि दिवस हुन्छ र ? लौ मैले त आजसम्म सुनेको छैन ।’ उनी सँगै बालुवामा पानी हालेर सिमेन्ट घोल्दै गरेकी सुन्दरहरैचाकी कमला दर्जीले पनि महिला दिवसबारे थाहा नभएको बताइन् । उनले भनिन, ‘१३ वर्षदेखि मजदुरी गरेर पेट पाल्दै आएको छु । यस्तो दिवस सुनेको छैन ।’

यी दुई फरक–फरक ठाँउका भए पनि उनीहरूमा समानता छ । उनीहरू दुवैले जना मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूका श्रीमान कामका लागि बिदेश गएका छन । मजदुरी गर्दै पेट पाल्ने महिनाहरू महिला दिवस मनाउने फुर्सद नभएको बताउँछन् । कानेपोखरीकी आशा राई दिवस मनाउने हिँड्दा बेलुका चामल किन्ने पैसा नपाइने बताउँछिन् । उनले प्रश्न गरिन , ‘हैन यो दिवस मनाउँदा के पाइन्छ ?’ जीवनभर बालुवानै चालेर गुजारा गरेकी छु,’ उनले भनिन, ‘हामीलाई श्रममा समेत विभेद गरिएको छ । ती दिवस मनाउनेले यहाँ आएर हाम्रो ज्याला पुरुष सरह बनाइदिन्छन?’ महिला दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले मोटो रकम खर्चेर सभाहलमा अन्तरक्रिया, चोकमा ¥याली गरेर भव्य दिवस रुपमा मनाए तर, यस्ता कार्यक्रम गर्नेलाई खोलाको किनारमा बसेर, घरयासी काम गरेर पेट पाल्ने श्रमिक महिलाहरुले गिज्याइरहेको छ ।

पछिल्लो समय ‘यो दिवस व्यापार गर्ने माध्यम बनेको छ । ‘मजदुरी गर्ने महिलाहरू विभेदमा छन, हिंसाको जोखिममा छन्। तर, उनीहरूबारे बोलिदने कोही छैन । जिल्लामा श्रमिक महिलाको संख्या बढ्दै गएको छ । यस्ता दिबस र गोष्ठीमा खर्च गर्ने रकम ती मजदुरहरुको पक्षमा लगानी गर्ने हो भने र उनीहरुको जिवनस्तर उकास्ने हो भनेमात्र यो दिबसको सार्थकता झल्किने छ ।

प्रतिक्रिया

सम्बन्धित