कचनकवलको गहिराईदेखि सगरमाथाको उचाईसम्म…

मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेश नम्बर १ सबैभन्दा समृद्ध र सम्भावना युत्त रहेको छ भन्दा खासै फरक नपर्ला । उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका चीनको नाका किमाथांका, ओलांचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगवनी तथा भण्टाबारी नाका चर्चित नाका यहि प्रदेशा छन । कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले पनि प्रदेश नम्बर १ सबैभन्दा समृद्ध र अब्बल छ ।

पर्यटनको अपार सम्भावना भएको यो प्रदेशमा कृषिको आधुनिकीकरण गर्ने हो भने झापा, मोरङ र सुनसरीले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन । बार्षिक १२ लाख ४० हजार मेट्रिक टन भन्दा बढी धान मात्र यो प्रदेशमा उत्पादन हुने गरेको छ । सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको कचनकवल पनि यही प्रदेशमा अबस्थित छन । पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेंसी महादेव र चुरे–तराइ क्षेत्रमा रहेको बराहक्षेत्र, पिण्डेश्वरीलगायतका हिन्दु धर्मावलम्बीको तीर्थस्थलका कारण समेत यो प्रदेशमा धार्मिक स्थलका रुपमा समेत बिकास गर्न सक्ने आधारहरु रहेका छन ।

दैनिक १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन हुने यो प्रदेशबाट त्रिदेशीय व्यापारका लागि भुटानसँग पनि पर्याप्त व्यापारको सम्भावना छ । मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल यहि प्रदेशमा रहेका छन । काठमाडौं र विराटनगरबाट यी सबै ठाउँमा हवाइ उडान भइरहेको छ । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने तयारी भइरहेको छ ।

कोसी नदीको हाइड्याम र निर्माणको सुरसार भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाले प्रदेश नम्बर १ लाई पानी र विजुलीमा झन् सशक्त बनाउने सम्भावना छ । पूर्वमा उत्पादित अलैंचीले विश्व बजारमा स्थान बनाईरहेको छ भने इलाममा उत्पादित चिया पनि विदेश निर्यात भइरहेको छ । धनकुटाको तरकारी र सुन्लतला, नेपालकै पहिलो उद्योग विराटनगर जुटमिल स्थापना भएको प्रदेश नम्बर १ को मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै सानाठूला ५ सय भन्दा बढी उद्योग छन ।

पूर्वाञ्चल विश्वविद्यालय र तीन वटा मेडिकल कलेज सञ्चालनमा यहि छन् । कावेली करिडोर अन्तर्गत इलाम, पाँचथर र ताप्लेजुङमा मात्रै १० वटा जलविद्युत आयोजना चालु अवस्थामा छ । ८६.९७ मेगावाट कुल क्षमताका यी १० वटै जलविद्युत आयोजनाबाट हाल ३१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । मोरङ–सुनसरी सिञ्चाई आयोजनाको दुईवटा टर्बाइनबाट छुट्टै ३.२ मेगावाट विद्युत उत्पादन हुन्छ । पहाड हिमालका ११ वटा र तराइ मधेसका ३ वटा जिल्ला समेटिएको प्रदेश नं. १ सांस्कृतिक विविधताको थलो समेत हो । ऐतिहासिक रुपमा माझकिरात, पल्लो किराँत र कोच क्षेत्रलाई समेटिएको यो प्रदेशको भूगोलमा सबै जाति र धार्मिक समुदायको बसोबास छ । ऐतिहासिक जातजाति तथा २२ से २४ राज्यको इतिहास रहेको १ नम्बर प्रदेशका साना तिना ऐतिहासिक गढी तथा दरबारहरु मनग्ये छन् । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृति पनि विविधता छ ।

सप्तकोशी जलाधार क्षेत्र र यसबाट २० हजार मेगावाटको विद्युत उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमालहरु मकालु, लोत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल यस प्रदेशका गहना हुन । सगरमाथा राष्ट्रिय निकुञ्ज, कन्चनजंघा संरक्षण क्षेत्र र कोसीटप्पु वन्यजन्तु आरक्ष छ । धनकुटाको त्रिवेणीबाट सुरु भएर चिनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत श्रृङ्खलामा गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल पर्छ । तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारको ४१.४ प्रतिशत हिस्सा यही प्रदेशमा छ ।

पर्यटनको कुरा गर्दा यो राम्रो सम्भावना भएको प्रदेश हो । पूर्वमा पर्यटकीय क्षेत्रको विकासका लागि प्रयास समेत भइरहेका छन् । धरानमा प्याराग्लाइडिङ,तमोर तथा कोशीर्मा याफ्टिङ शुरु भईसकेको छ । इलामको माइ पोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पा पोखरी जस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् । हरेक दृष्टिकोणले उपयुत्त यो प्रदेशलाई गुरुयोजना सहित बिकास गर्ने हो भने देशकै उत्कृष्ट प्रदेशका रुपमा बिकास गर्न सकिने सम्भावनाहरु रहेका छन ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित