प्रदेश १ को नाम सगरमाथा राखे कसो होला ?

इटहरी / देश संघिय संरचनामा गइसकेको र प्रदेश ६ ले राजधानीको नाम समेत कर्णाली प्रदेश नामांकन गरिसकिएको अबस्थामा अन्य प्रदेशले भने स्थायी राजधानी र नामको बिवाद टुंगो लगाउन सकेका छैनन । अझ एक नम्बर प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता गरेको प्रदेश सरकारले अहिलेसम्म पूूर्णता समेत पाउन सकेको छैन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुधबार बेलबारीमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर १ लाई देशकै समृद्ध प्रदेश बनाउने कुरा दोहेयाए । उनले प्रदेश १ समृद्ध बनाउने अभियानमा आफु लागेको र यो प्रदेश लाई पर्यटकीय प्रदेशको रुपमा समेत बिकास गरी अगाडी बढाउने बताए । प्रदेश १ मा बिश्वको सर्बोच्च शिखर सगरमाथा सहित अन्य आधादर्जन बढी हिमाल समेत रहेका कारण यो प्रदेशको नाम सगरमाथा राख्न सकिने र त्यसका लागी सबै प्रदेशबासीहरुको सल्लाह बमोजिम हुने संकेत गरेका छन । उनले जनताले माने सगरमाथा प्रदेश नाम राख्नेतर्फ इंगित गरेका छन ।

नरेन्द्र बस्नेत

उनले प्रदेशको बिकासका लागी सकेसम्म काम गर्ने र त्यसका लागी जनताको साथ सहयोग चाहिने समेत उनले बताएका छन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम सर्वसम्मत रुपमा टुङ्गो लगाएर देशैभरी सकारात्मक सन्देश प्रदान गरेको छ । तर, एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक चैत ७ गतेसम्मका लागि स्थगित भएको छ ।

राजधानीको विषयमा संसदमा बहस नै सुरु हुन सकेको छैन । ‘कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन भएको छ । यो ढिलाई पहिलो अभ्यास भएका कारण पनि हुनसक्छ । तरपनि सरकार विस्तार, राजधानी तथा प्रदेशको नामाङ्कको विषय चाँडो टुंग्याउनु जरुरी छ । यो बिवाद टुंग्याउन सकेमात्र सकारात्मक सन्देश जानेछ ।

प्रदेशको नाम, राजधानी लगायतका विषय छिटो टुङ्गो लगाउनु अलिकति पनि ढिलाई गर्नुहुँदैन । प्रदेश सरकारले प्रदेशको नाम, स्थायी राजधानीको टुङ्गो लगाउँदै विकासका काम अगाडि बढाउनु जरुरी छ । प्रदेश नम्बर १ मा एमालेको बहुमतको सरकार छ । प्रदेशको नामको बिषयमा अल्झिनुभन्दा सगरमाथा प्रदेशको नामकरण गर्दा खासै विवाद देखिन्छ जस्तो पनि लाग्दैन । किनकी यो कुनै जातजाति,भाषा र संस्कृति बिशेषभन्दा यो नेपालको मात्र नभएर बिश्वमै नेपाललाई परिचित गराउने सम्पदा समेत हो । यो नामलाई प्रस्तावका रुपमा लैजाने हो भने यो नाममा सहमति जुटन सक्छ । तसर्थ प्रदेशको नाम सगरमाथा राखे कसो होला ?

प्रतिक्रिया

सम्बन्धित