सहिदको त्यागमा लुकेको वास्तविकता

जब म विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’ कथामा घोरिन्छु त्यसै त्यसै भक्कानिन मन लाग्छ अनि भूपि शेरचनको ‘सहिदहरूको सम्झनामा’ कवितामा हराउँछु तब त्यहाँ वीरताको साहससँग जोसले काँडा उम्रिन्छ । कति योगदान छ तिनको जसले अप्ठ्यारोमा लडे । खुकुरीको धारमा बाँचेर लडे । खुकुरीका भरमा देशलाई बचाए । अन्यायको विरुद्धमा आवाज घन्काउने सहिदका बलिदानीसँग नेपाल आमाको अटुट नाता छ । अनि नाटककार बालकृष्ण समको इच्छा कविताको भाव अङ्कुरित हुन्छ । प्रजातन्त्र प्राप्तिका निमित्त प्राण दिए । हाँसी हाँसी देशको निम्ति फाँसी चढे । माटोको माया गरेर मुटु सुम्पिए । ती सहिदका अगाडि यो देशले पाएको उपलब्धीसँगको साइनो गाँसिइरहन्छ । तिनले त व्यक्तिगत स्वार्थको पुन्तुरो बिर्सेर देशको स्वतन्त्रताका लागि लडे । तर, आज त्यसरी नलडे पनि हुने ठाउँमा नरहत्या भएका दुःखद् दृश्य हेर्नुपरेको छ । हामी लोकतन्त्र आएको छ भन्दै बाटामा, सडकमा, सभामा अबिर र माला लगाएर कुर्लिन्छौँ तर अनाहकमा निर्दोष एउटा सोझो र गरिब मानिसको प्राणले– एउटा भिडको बिचबाट आहुति दिनुपर्छ ।

बल्ल त्यो तमासामा मानिसले, दुनियाले माग सम्बोधन गर्ने आश्वासन भिराउँछ । दश लाख दिने घोषणा हुन्छ अनि प्रश्न गर्न मन लाग्छ, के त्यो जीवनको मूल्यलाई पैसाको परिमाणले गहु्रँगो बनाएको हो ! विडम्बना, यो त्यागका पछाडिको पीडाले झक्झक्याउँछ । यहाँ गोबिन्द गौतम जस्ता व्यक्तिको स्मरण गर्न मन लाग्छ, के त्यहाँ सुनुवाई हुँदै छ ! नेपाली माटोमाथि गिद्धे नजर लगाएर ज्यादति गर्दै सीमा अतिक्रमणको, मानव अधिकार हननको चर्को पीडामा नेपाली मन कति पिरोलिन्छ । आज हाम्रा सीमा क्षेत्रमा कति नेपालीले चिन्ता गर्दै छन् र देशले कसरी आफ्नो स्वाभिमानलाई जागोउने वैज्ञानिक आधार खोज्यो, सम्झनै पर्छ । सीमा स्तम्भ सारिएको खबर प्रशासनमा पुग्नुपूर्व त्यहाँका नेपालीले कति पीडा खेपेका होलान्, मननीय विषय छ । आखिर यो विसङ्गतिका बिचमा अडिएर सहिदको सम्मान गर्दै गर्दा ती वीर चार सहिदको सर्वविदित नामले सायद हामी स्वतन्त्र नेपाली हौँ भनिरहँदा गिज्याएको महसुस गर्दा हुन् ।

रमेश भट्टराई ‘सहृदयी’

वीर पुर्खाको योगदानसँग रमाएको इतिहासमा नेपाली सान र गौरवको चिन्ह छ । आजसम्म पाएका सुन्दर उपलब्धीलाई सहिदका रगतले कोरेर सार्थकता दिए । आजको सान र हिजोको स्वाभिमानको लागि बलिदान दिनु कुनै केटाकेटी खेल थिएन । पारिवारिक स्वार्थलाई तिलाञ्जली दिएर नेपाल र नेपालीको मर्म बोध गर्ने खुबी ती योद्धामा थियो । सहिदले परिवर्तनका निम्ति, ज्यादतिका निम्ति आवश्यकतालाई नियालेर प्राण आहुति दिएको हुन्छ । आफ्नो स्वाभिमान, जाति, भाषा, संस्कृतिको रक्षार्थ मृत्युको बलिवेदीमा आपूmलाई चढाएको, राष्ट्रिय स्वार्थ बोकेर लडेको राष्ट्रवादी व्यक्तिलाई सहिदको संज्ञा दिन सकिन्छ ।

घर, परिवार, आमाको न्यानो काखलाई त्यागेर परिवर्तनको हुङ्कार मच्चाइँदा प्राण उत्सर्ग गर्ने व्यक्तित्व सहिद बनेका हुन् । फेरि युगतिर लम्किँदा यहाँ प्रजातन्त्रको अभ्युदयपछि सहिदले सम्मानको आधार पाए । प्रजा परिषद नामक संस्थाको माध्यमद्वारा तानाशाही राणाशासनका विरुद्धमा प्राण उत्सर्ग गर्ने दशरथ चन्द, शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठहरूलाई राष्ट्रियस्तरबाट सम्मान गरिएको इतिहासले आज निरन्तरता पाएको छ । हामी युगको परिवर्तनसँग कागजे उपलब्धीलाई बोकेर खुम्चिइरहन अभ्यस्त बन्दै छौँ पनि लाग्छ । जनताको स्वतन्त्रता निमोठिएको, आस्था चुँडिएको अनि मानवतालाई कालकोठरीमा थुनिएको वेदनाको विरुद्ध, त्यो कडा शासनका विपक्षमा बोल्दा तिनले आफ्नो अमूल्य प्राणलाई निर्ममता पूर्वक मारिएर छोड्नुप¥यो । तबदेखि तिनको योगदानलाई कदर गरिँदै आइएको इतिहास गाँसिन्छ । २०३६ को जनलहर होस् या ४६ को तर ती योद्धाको स्मरण गर्दै गर्दा सहिदको परिभाषामा अलिकति स्वार्थको गन्ध चल्नु अत्यन्तै लज्जास्पद विषय हो । १२ वर्षे जनयुद्धमा सहिद बने, २०६२÷०६३ को जन आन्दोलनमा कैयौँ नेपालीले सहिद बन्नु प¥यो । मुलुकको आवश्यकता माथि, व्यवस्था सुधारका निम्ति, जनताको हक र हितका लागि प्राणोत्सर्ग गर्ने सहिदलाई स्मरण गर्नैपर्छ ।

तर, सहिद त्यो होइन जसलाई सहिद हो भन्नुपर्ने, जनाउनु पर्ने होस् अर्थात् सहिद त्यो हो जसलाई समाज र संसारको खुला हृदयले सम्मान गर्न नचुकोस् । सदैव जुगजुगन्त स्मरणका पानामा सम्हालेर राख्न पाओस् । देशका निम्ति हरेक नागरिकले विभिन्न कोणबाट प्राण दिएकै हुन्छन् । माटोको अटूट नाता गाँसेर हरपल प्रगतिपथमा लम्किरहँदा नेपाल आमाको मुहारलाई चम्किलो बनाउन निःस्वार्थ लड्ने कसैद्वारा नमारिएर पनि सहिद नै बन्न सक्छ । संसारका हरेक मुलुकले आफ्ना देशका वीर योद्धालाई सम्मान गर्ने गरेका तथ्यसँग नेपाल आमाको इतिहासमा थुप्रै अज्ञात सहिदका नाम पर्दामा नआएका भए पनि नेपाली शिर झुकेकै छ ।

वीर गोर्खालीको इतिहाससँग अङ्कित नाममा सहिदको त्याग छ । चाहे अमेरिकी स्वतन्त्रता सङ्ग्राम, भारतीय स्वतन्त्रता सङ्ग्राम, फ्रान्सेली राज्य क्रान्तिमा होस् या त चिनीयाँ जनक्रान्ति लगायतका विविध लडाइँमा लड्ने महान् सपूत आखिर ती साहससँग सहिदको उच्च सम्मान छँदै छ । निःस्वार्थ त्यागको स्वप्ना बुनेर लड्ने वीरहरूको महिमाका लागि अनेकौँ कृतिहरू रचिएका छन् अनि रचिइरहिएका छन् । यसर्थ ती सहिद सदैव मुलुकमा हुने अत्याचारका, विकृत व्यवहारका विरुद्ध आवाज उठाउन ऊर्जा दिने दर्बिला आधारभूमि हुन् । यी सहिद नेपाल आमाका नासो हुन् । भावी पुस्ताको स्वतन्त्रताका जिउँदा इतिहास हुन् । यी राष्ट्रका गहनालाई देशले हृदयको ढुकढुकीमा सजाउँदै गर्दा न्यायको झोलीलाई राम्ररी नियाल्न सक्नुपर्छ । गरिब, असहाय, असक्त, निमुखा, पिछडा अनि चाहेर पनि अधिकार जान्न नसक्ने सडकका पेटीका मानवले जीवनलाई अरु सरह जिउने सपना तुन्नपाउनुपर्छ ।

युग परिवर्तनको इतिहासका पानाले थुप्रै सहिद जन्मायो । सहिदको सूचीलाई लामो बनाइरहनुपरेको पीडा छ । अबको युग परिवर्तन र व्यवस्थाका लागि प्रजातान्त्रिक, जनमुखी, मानवतावादी युग प्राप्त भएपछि पनि सहिदलाई जन्माइरहनुपर्छ भने त्यहाँ लोकतन्त्र स्थापित भएको कुरा, स्वतन्त्रता प्राप्तिका कुरा लाजमर्दो विषय बन्छन् । यदि युगले परिवर्तनलाई चाहन्छ भने अब शीतयुद्धमा अघि बढ्न सक्नुपर्छ । आफ्नो झोली दह्रो बनाउने, सीमा रक्षा गर्ने अनि स्वाभिमानमा अडिग रहन आफ्नोपनलाई चिन्न पनि त सक्नुपर्छ । सहिद जन्माउन होइन सहिदको श्रद्धान्जली अर्पण गर्न अबको सहिद दिवस सार्थक दिन हो । यही परिवर्तनले कलमको युद्ध गर्न सिकाउँदा कैयौँ कवि, साहित्यकारले कलमले युद्ध गरे । अबको युग त अत्याधुनिक विकाससँग हातेमालो गर्दै वैज्ञानिक तथा पारदर्शी निकासको नीति बोकेर अघि बढ्न लालायित हुनुपर्छ । पुरानो पद्धतिमा अड्किएर सङ्कुचित स्वार्थकै लडाइँमा लागिरहने हो भने फेरि यो देशले सहिदको सूची थपेरै चित्त बुझाउनुपर्ने अवस्था बन्न सक्ला । मुलुकले वीर वीराङ्गना जन्मायो त्यो युगका लागि थियो । अबको युग युद्ध, आतङ्क, भाषण, रगत तताएर गोरु जुधेजस्तो लडिरहने, डुक्रिरहने युग होइन । यसमा जनतामा सचेतना र नेतृत्वमा भावना जागृत हुने बेला आएको छ ।

देशको स्वाधीनता, स्वतन्त्रता, समतामूलक समाजको स्थापनामा जुन योद्धाले ज्यानको बाजी थापे तिनलाई निःस्वार्थ श्रद्धान्जली अर्पण गर्ने नेपाली मनमा कालो दाग नहोस् । जसले नागरिक हकको लागि लडे अब तिनको सपनामा नागरिकले दायित्व बोध गर्दै लम्किन सक्नुपर्छ । यी कथनलाई भाषण र माल्यार्पण गर्दै भावनामा बहकिने हो भने मुलुकले मुहारलाई बदल्यो भन्न सकिन्छ । भनिन्छ– सपना त्यो होइन जुन सुतेपछि देखिन्छ बरु सपना त त्यो हो जसले सुत्न दिँदैन । आज सहिदको अवमूल्यन भइरहेका केही तीता भावधारामा यी स्वप्नालाई दीवास्वप्नामा मोलिएका धब्बा नभएका होइनन् । यसर्थ सहिदको गुणगानमा ओठे रटना लगाएरै चित्त बुझाउनु अबको भनिरहिएको परिवर्तनका लागि अपाच्य रहला । बरु त्यहाँ तिनका सपनामा बढाबा दिने अठोट र लगनको खाँचो खड्किन्छ । युगान्तकारी दीगो विकासको महायज्ञको यात्रामा डटेर लाग्ने निःस्वार्थ राष्ट्रसेवाको स्वरूप झल्किएको अपेक्षा रहन्छ ।

यसर्थ समतामूलक समाजका सामाजिक न्यायसँग सहिदको सपनाको तादात्म्यता छ । अन्धपरम्पराको भण्डाफोर गर्दै काला कर्तुतलाई पर्दाफास गर्ने सोच र त्याग जोडिन्छ । समाजका कलङ्कको दागमा हजु¥याइँ होइन झापड हान्ने खुबीको अपेक्षा गाँसिन्छ । तसर्थ सहिद दिवसको सार्थकतालाई औपचारिकतामा अड्याएर भाषणमा सम्मान गरेको छु भन्ने सिद्धान्त ढोङ मात्र रहला । कानुनीराजको रक्षार्थ स्वतन्त्रता, विकास तथा राष्ट्रिय स्वाधीनताको जीवन्ततासँग सहिद र त्यागको स्वर्णिम स्वप्नारेखा कोरिएको हुन्छ । युगका लाञ्छनालाई अपेक्षाका कसीमा तोलेर परिवर्तनको महायज्ञमा होमिने शक्ति र सामथ्र्य त्यहाँ जीवन्त बन्छ । तब युगले नूतन गोरेटोमा पाइला चाल्दै गर्दा सहिदका सपनामा सार्थकता गाँसिन्छ ।

प्रतिक्रिया

सम्बन्धित