‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत पुरस्कार’ वैष्णव र वैद्यलाई

काठमाडौँ, ६ माघ / यस वर्षको ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत पुरस्कार’ वरिष्ठ साहित्यकार तथा नाट्यनिर्देशक श्यामदास वैष्णव र वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ ।  सो पुरस्कारको राशि जनही रु २५ हजार १११ रहेको छ । विसं १९८१ मा जन्मनुभएका वैष्णवको पाँचवटा कविता संग्रह प्रकाशित भइसकेको छ भने नाट्य निर्देशक तथा अभिनेताको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । थुप्रै गीत रेकर्ड गरिसक्नुभएका वैष्णवले धेरै वर्ष सम्पादकको रुपमा पनि कार्य गरिसक्नुभएको छ ।

उहाँ शुभराज्याभिषेक पदक, महेन्द्र प्रज्ञा पुरस्कारका साथै गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइसक्नुभएको छ । विशिष्ट गायक वैद्यले ६ दशक लामो सांगितिक यात्रामा थुप्रै भावुक, मार्मिक तथा राष्ट्रिय गीत तथा भजन गाउनुभएको छ ।  वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नुभएका वैद्यले खाद्य अनुसन्धान अधिकृतका रुपमा पनि सेवा गरिसक्नुभएको छ । उहाँले नेपाल भाषाको पनि गीत गाउनुभएको छ ।

‘हरिप्रसाद कल्याणी रिमाल संचार सेवा सम्मान’बाट पुरस्कृत हुनुभएका वरिष्ठ गीतकार किरण खरेलले विसं २०१४ सालदेखि गीत रचना गर्नुभएको हो । सर्वोकृष्ट गीतकारका रुपमा परिचित खरेलको गीतिसंग्रह प्रकाशित छन् भने उहाँको १०० भन्दा बढी गीत चलचित्रमा प्रयोग भईसकेको छ । उहाँ त्रिशक्ति पट्टबाट विभूषित हुनुहुन्छ ।

लामो समय रेडियो नेपालको समाचारवाचक भई सेवानिवृत्त वरिष्ठ सञ्चारकर्मी प्रचण्डमान सिंहले प्रधानसम्पादक तथा रेडियो नेपालको कार्यकारी प्रमुख भई सेवा गरिसक्नुभएको छ । उहाँहरुले जनही रु १५ हजार १११ तथा सम्मान पत्र प्राप्त गर्नुभएको छ । पुरस्कार वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले हरिप्रसाद रिमाल कला क्षेत्रका एक संस्था भइसक्नुभएको बताउँदै कला क्षेत्रको विकासका लागि लामो समय अर्पण गर्नुभएको चर्चा गर्नुभयो ।

नाट्य निर्देशनमा सिद्धि र रसको जरुरत रहको बताउँदै उहाँले कला क्षेत्रको आधारशीला संगीत रहेकोले यसको विकासका लागि संगीतकर्मीको विशेष जोड हुनुपर्ने औँल्याउनुभयो । पुरस्कृत व्यक्तिको तर्फबाट वरिष्ठ गीतकार वैद्यले मानव सभ्यताको विकासका लागि संगीत विधा महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित