महिलाबाटै शुरु हुन्छ महिला हिंसा

महिलाको शत्रु महिला नै हो। अाज समाजमा जति पनि महिला हिंसाका घटनाहरू घटेका छन, ती सबैको कारक तत्व महिला नै हुन्। अाजसम्म कसैले देख्नुभा’को छ? ज्वाइँ -ससुराबीच झगडा परेर प्रशासनमा उजुरी परेको घटना। जति खोजे पनि पाइदैन बुवा-छोराको काटाकाट, मारामारका घटनाहरु तर अाँखा छोपेर हिंड्दा पनि सासू-बुहारीको कुरा नमिलेर कपाल लुछालुछ, बाजाबाज गरेका घटनाहरु देखिन्छन् । अाखिर दुवैजना महिला नै हुन, किन झगडा गर्नु ? एकापसमा किन मिल्न सक्दैनन् ?

पतिले सौता ल्यायो भनेर महिला सेलमा उजुरीका घटनाहरु धेरै छन्। अाखिर त्यो पतिले ल्याएको सौता पनि महिला नै हुन्। हामी महिलाले सबै सहन सक्छौ तर सौता सहन सक्दैनौं । अाफ्नो खुशी चाहनेले अर्कोको खुशी लुट्नु राम्रो होइन । अाज गाउँघरमा जति पनि नराम्रा घटनाहरू,द्वन्द्वात्मक व्यवहारहरु घट्छन त्यसभित्र प्राय:जसो महिलाको ठुलो हात हुन्छ।

देउरानी-जेठानीमा झगडा, सासू-बुहारीमा झगडा, नन्द-भाउजुमा झगडा अाखिर यी सबै महिला नै हुन्। नौं महिनासम्म एउटा बच्चालाई गर्भमा विभिन्न समस्या, दु:ख, पीर झेल्दै जन्माउन सक्ने महिलाले सोच्न, विचार गर्न र निर्णय गर्न सक्ने क्षमता हुदैन ? अाज अाफ्नै बुद्धि भ्रष्ट भएर महिलाहरू पछि परिरहेका छन्। छोरा र छोरीमा विभेद गर्ने पनि महिला नै हुन्। छोराको घरमा अाउने, खाने, पढ्ने, घुम्ने कुनै समयतालिका हुदैन तर छोरीले घरको सबै कामकाज सकेर अामालाई खुशि पारेर पढ्न जाँदा पनि अामाको मुख कालो हुन्छ। कहीँ कतैबाट घरमा अाउन अलिकति ढिलो भयो भने मर्ने गरि पिट्ने, गालीगलौज पनि अामा नै हुन्। छोरीले नम्र भएर बोल्नुपर्ने, कसैसँग मुख लगाउन नहुने, अरुसँग बोल्दा शिर निहुराएर बोल्नुपर्ने अादि बन्धनमा राख्ने पनि अामा हुन्।

बोक्सी भनेर सेतो कपाल फुलेकी बुढिअामालाई कुटपिट गर्ने, मलमूत्र खुवाउने, गाउँ निकाला गर्ने जस्ता अप्रिय व्यवहार पुरुषले नगरेर महिलाले नै गर्छन्। दिनभरि लुते कुकुर झैं गाउँ चहारेर फलानीकी अामा त्यस्ती,तिलानाकी पत्नी त्यस्ती,कसैकी छोरी कत्ति उत्ताउली, बाटोमा केटासँग बोल्दै थिइन् भन्ने ताइँ न तुइँको बात मार्ने काम पनि महिलाले नै गर्छन्। विधवालाई देख्नासाथ साइत पर्दैन,मलाई अाज बोक्सीले मर्ने गरेर टोकी, अाजभोलि मेरो शरीर साह्रै दुख्छ मलाई कसैको अाखा लाग्यो जस्ता यावत नाटक गर्ने महान कलाकार पनि महिला नै हुन्।

मैं खाउँ, मैं लाउँ, सधैं मोजमस्ती मैले नै गर्न पाउँ, दुनियाँले मलाई नै राम्री भनुन भनेर महादेवको मन्दिरमा घण्टी बजाएर पुकार प्रार्थना गर्ने वरिष्ठ भक्तहरु पनि महिला नै हुन्। हे भगवान ! कहिले लाग्ला यी महिलाको घैंटोमा घाम।नारी दिवस अाउनै हुन्न ठुला-ठुला भाषण गर्दै भन्ने गर्छन् -हामी सम्पूर्ण नारी एक हौं। एउटा महिलाले अर्को महिलालाई माया गर्नुपर्छ ।यस्तो बडो गजबको प्रवचन दिने पनि महिला नै हुन्। त्यसैले बुढापाकालेहरु भन्छन-भुक्ने कुकुरले टोक्दैन,टोक्ने कुकुरले भुक्दैन्।

छोरीलाई माया गर्ने ज्वाइँलाई ज्ञानी, इमानदार, अाहा कति राम्रो बानी छ हाम्रो ज्वाइँसा’बको भनेर ङिच्च हाँस्ने पनि महिला नै हुन्। अनि बुहारीलाई छोराले माया गर्यो भने छोरालाई नामर्द, हुतिहारा, हिम्मत नभा-‘को, जोइटिङ्ग्रे, स्वास्नीको फरियामा लुक्ने छि:छि:तँ जस्तो कामुक छोरा हुनुभन्दा अपुताली परेको भए हुन्थ्यो नि भन्दै टाउकोमा हात लगाएर अाँसु झार्ने पनि महिला नै हुन्।

एउटी महिलाले अर्को महिलालाई माया,सहयोग र इज्जत गर्नुपर्छ। हामी हिंसा भयो भन्दै अावाज उठाउँछौं,उजुरी गर्छौ तर हामी महिलाले नै एकले अर्कोलाई हिंसात्मक व्यवहार गरेका छौं । हामीमाथि जति पनि हिंसा भएका छन ती सबै व्यवहार महिलाबाटै भएका छन्। हामी महिला माया एवम् दयाकी खानी हौं। हामीले अाजैबाट हिंसा त्यागौं । सभ्य,शान्ति र हिंसात्मक समाज निमार्ण गरौं ।

प्रतिक्रिया

सम्बन्धित