शिरको फुल पाऊमा सुहाँउदैन !

आसन्न निर्बाचनको मिति नजिकिए सँगै बिभिन्न जिल्लाहरुमा चुनावी माहोल तातेको छ । दैनिक रुपमा चुनावी सभा आयोजना भईरहेका छन । तर बिडम्बना यस्ता सभाहरुमा राष्ट्रिय छबि बनाएका कलाकार र राष्ट्रिय खेलाडीहरु भोट माग्न अघिल्लो पंत्तिमा देखिन्छन । उनीहरुले नेताहरुको गुणगान गाएर भोट मागिरहेका छन । कलाकार राष्ट्रका गहना हुन । उनीहरु सबैका साझा हुन,कसैका पेवा होईनन् ।

गहना शिरमा सजाईन्छ,पाऊमा होईन,त्यसैले यसरी गहनालाई दुरुपयोग गरिएको पटक्कै सुहाउँदैन र सुहाएको पनि छैन । गायक बद्री पंगेनी,गायिका कोमल ओली,नायिका रेखा थापा,करिष्मा मानन्धर,नायक नबल खडका लगायत दर्जनौ कलाकारले राजनीति गरेको र सभा सम्मेलन तताईरहेको त देखेकै हौँ हामीले तर बुधबार झापाको दमकमा भएको चुनावी सभा र बिहिबार मोरङको बेलबारी ११ मा आयोजना गरिएको भोट माग्ने कार्यक्रमले अब खेल क्षेत्र र खेलाडीको समेत दुरुपयोग भएको प्रष्ट देखियो । बुधबार स्टेजमा धमाधम नेताहरू भाषण गरिरहेका थिए ।

स्टेजको तल खाली भागमा कराँतेका खेलाडीहरू आफ्नो कला प्रस्तुत गरिरहेका थिए । अखिल नेपाल खेलकुद महासंघ र नेपाल खेलकुद महासंघ एक नम्बर प्रदेश समितिले संयुक्त रूपमा गरेको खेलकुद चुनावी सभाका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओली । स्टेजमा बसेका ओलीले प्रांगणमा कराँतेका खेलाडीले देखाएको खेललाई ध्यानपूर्वक हेरिरहेका थिए । ओलीले आफ्नो खेललाई ध्यानपूर्वक हेरेपछि खेलाडीहरू उत्साहित भएर आफ्नो कला देखाइरहेका थिए ।

चुनावी सभाको स्टेज तथा छेउछाउमा ओलीले फुटबल खेल्दै गरेको फोटो तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेनिस खेल्दै गरेको फोटोलाई जताततै राखिएको थियो। ‘खेलकुद क्षेत्रको चाहना, खेलमैत्री सरकार स्थापना’ त्यो फोटोमा लेखिएको थियो। कार्यक्रममा दर्शक पनि अधिकांश खेलप्रेमी र खेलाडी नै थिए । कार्यक्रममा प्रदेश नम्बर १ का खेलाडी तथा खेलप्रेमीको सहभागिता थियो ।

खेलकुद क्षेत्रको विकास गर्न भन्दै गरिएको खेलकुद चुनावी सभामा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलगायत नेकपा एमाले तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागी थिए । कार्यक्रममा ओलीले अवसर पाउने हो भने नेपाली खेलाडीहरूले पनि देशलाई खेलकै माध्यमबाट अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउने बताए । झापाको कमल गाउँपालिकामा निर्माणाधीन अन्तराष्ट्रियस्तरको रंगशाला नाम विवादका कारण छ वर्षसम्म निर्माण प्रभावित बनेको छ ।

आदिवासीको समाधिस्थल रहेको यो स्थानमा समाधि उत्खनन् गरेर २०६६ सालबाट निर्माण सुरु गरिएको रंगशालाको नाम विवादका कारण काम नै रोकिएको छ । यता बिहिबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा पनि बिभिन्न राष्ट्रिय खेलाडीहरुले यस क्षेत्रका उम्मेदवारहरुलाई भोट माग्ने कार्यक्रम तय गरिएको छ । पछिल्लो समय कलाकार र खेलाडी समेत राजनीतिमा मुछिँदै आएका छन ।

यस्को अर्थ राजनीति गर्न कसैले पाउँदैन भन्ने हैन । हरेक मानिस सँग राजनीतिक आस्था हुन्छ,म सँग पनि छ तरपनि यसरी गहनाका रुपमा सम्मान गरिएका कलाकारहरुलाई पार्टीले प्रयोग नगर्दा र कलाकार र खेलाडीले प्रयोग नभईदिँदा राम्रो हुन्छ । किनकी शिरमा लगाउने गहना पाउमा सुहाँउदैन ।

प्रतिक्रिया

सम्बन्धित