सरकार ! हजुरलाई थाहा छैन, कसले गराउँदैछ बम बिस्फोट?

सुनसरी । गृहमन्त्रीको जिम्मेवारी समेत आफै सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने दाबी गर्छन । उनले केही कार्यक्रममा त सुरक्षा ब्यबस्था कडा पार्ने मात्र हैन बम राख्ने र सुरक्षा ब्यबस्था खल्बलाउनेलाई गोली ठोक्ने आदेश नै दिए । तर उनको त्यो आदेश लागु भएन,बरु झन असुरक्षा र त्रासको बाताबरण समेत बिग्रिदै गएको छ ।

उम्मेदवार मात्र होईन सर्बसाधारण समेत दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्बाचन हुन २ दिन मात्र बाँकी रहँदा पुर्बका बिभिन्न क्षेत्रमा बम आतंक शुरु भएको छ । कतै उम्मेदवारलाई लक्षित गरेर बम राखिएको छ भने कतै सार्बजनिक स्थानमा नै बम राखिएको छ । तर बम कस्ले र कुनबेला राख्यो सरकारलाई त्यसको अत्तोपत्तो छैन ।

सरकार कानमा तेल हालेर बसेको छ । दैनिक रुपमा त्रासको बाताबरण सिर्जना भईरहेको छ । जताततै बम राखिएका छन । जनता कतिबेला बम बिस्फोटमा परिएला भनेर त्राहित्राहि छन तर सरकारलाई यस्को कुनै वास्ता छैन । सरकारको ध्यान कुन जिल्लामा कति सिट ल्याउने र कुन जिल्लामा सुरक्षा प्रमुख र सिडियो परिबर्तन गर्ने भन्नेमै केन्द्रित छ ।

यतिका धेरै ठाँउमा बम बिस्फोट हुँदा न त सरकार चुईँक्क बोल्छ न त बम कस्ले राखेको भनेर पुष्टि नै गर्छ यो भन्दा नामर्दपन अरु के हुन सक्छ ? बिहिबार इटहरीको जनता बस्तीमा बामगठबन्धनले आयोजना गरेको सभामा बम बिस्फोट भएको तिन घण्टा बित्न नपाउदै धरानमा अर्काे बम बिस्फोट भयो । बाम गठवन्धन सुनसरीको क्षेत्र १ का प्रतिनिधी सभाका उम्मेद्धवार रहेका जय कुमार राईको घरमा बम विस्फोट भयो । विहीबार साँझ ६ वजे धरान १५ स्थित भानुमार्गमा रहेको घरमा वम विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे ।

उनका अनुसार पाइप वम विस्फोट भएको वताइएको छ । विस्फोटबाट कुनै क्षति भएको छैन तरपनि वम कस्ले विस्फोट गएको भने अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । उता मोरङको बेलबारी २ मा बम राखिएको हल्लाले बिहिबार राति ११ बजेसम्म त्रास फैलियो । बेलबारी २ मा सडकको बिचमा राखिएको कालो झोलामा बम भएको आशंकमा साँझ देखि नै सो क्षेत्रमा त्रास फैलिएको थियो ।

राति १० बजे इटहरीबाट नेपाली सेनाको बम डिस्पोज टोली आएर हेर्दा सो झोलामा कुकरको खोल मात्र भएको भेटिएपछि जनजिवन सामान्य बनेको थियो । बमको हल्लाले सो क्षेत्रमा इलाका प्रहरी कार्यलय बेलबारी र शसस्त्र प्रहरी टोलीले समेत सुरक्षा प्रदान गरेको थियो । सो झोला बम डिस्पोज टोलीले लिएर गएको छ । दैनिक रुपमा फैलिने यस्ता हल्लाले जनजिवन त्रस्त बन्दै गएको छ । यसअघि देशका बिभिन्न भागमा उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोट भएको छ भने बिस्फोटबाट अहिलेसम्म दर्जनौ मानिसहरु घाईते भईसकेका छन ।

यस्को हेक्का समेत छैन सरकारलाई । जनताको जिऊ धनको सुरक्षा गर्न त परै जाओस बम बिस्फोट गराउने समुह समेत चिन्दैन सरकार यस्तो लाचार सरकारको के आश गर्ने जनताले ? यतिका आतंक फैलिँदा पनि केही गर्न नसक्ने सरकारलाई जनता प्रश्न गरिरहेका छन केही गर्न सकिदैन भने किन सत्तामा बस्छौँ लाचार सरकार । बरु राजीनाम देऊ !

प्रतिक्रिया

सम्बन्धित