महाकवि लक्ष्मीप्रसाद देवकोटा ‘न भूतो न भविष्यति’
साहित्यका महान् साधक तथा अक्षरका तपस्वी महाकवि लक्ष्मीप्रसाद देवकोटा (सम्वत् १९६६–२०१६) नेपाली साहित्यका अप्रतिम प्राप्ति हुन् । उनको एक्लो आगमनले नेपाली साहित्यको आधुनिक कालमा स्वच्छन्दतावादी विचारधारा र आधुनिक निबन्धका क्षेत्रमा आत्मपरकताको अविर्भाव भएको पाइन्छ । त्यसो त नेपाली आधुनिक साहित्यका सबैजसो विधामा उल्लेख्य कृतिहरू दिएर उनले साहित्यको भण्डार मात्र भर्ने काम गरेका छैनन् । आधुनिक कविता र निबन्ध विधामा अनेक मानक स्थान समेत बनाएका छन् ।
बाँचुन्जेल एक रुपियाँ समेत पुरस्कार नपाएका देवकोटालाई मृत्युपछि भने सम्वत् २०२३ सालमा ‘ईन्द्रराज्य लक्ष्मी पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो । जुन पुरस्कार उनकी धर्मपत्नी मन देवकोटाले ग्रहण गरेकी थिइन् ।
आधुनिक कविता विधामा उनले स्वच्छन्दतावादी दृष्टिकोणलाई स्थापित गर्न जुन भूमिका खेलेका छन् त्यो उनका समकालीन कवि स्रष्टाहरूमा गौण मात्रामा देखिन्छ । युगकवि सिद्धिचरण श्रेष्ठमा देखापरेको क्रान्तिपरक स्वच्छन्दतावाद र कवि माधवप्रसाद घिमिरेमा पाइने प्रकृतिपरक स्वच्छन्दतावाद उनकै सोलोडोलो स्वच्छन्दतावादबाटै अनुप्राणित विचारहरू हुन् । प्रकृति, मानव र ईश्वरको समष्टि रुपलाई उनले ग्रामीण परिवेशको सन्दर्भमा व्याख्या गरेर स्वच्छन्दतावाद झल्काउने काम गरेका छन् । चाहे त्यो ‘लक्ष्मी कवितासङ्ग्रह’ मा भएका कविताहरूमा हुन् या ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा समेटिएका निबन्धहरूमा हुन् । मीमांशापरक दृष्टिले गहिरिएर हेरेका खण्डमा दुवै कृतिमा छताछुल्ल भेटिन्छ ।
उनका सबैजसो निबन्धमा उनको आत्मपरक दृष्टिकोण अपरिमित देखिन्छ । वस्तुपरक निबन्धका साधक बालकृष्ण समका समकालीन देवकोटाले आत्मपरकताका सन्दर्भमा पूर्वीय र पाश्चात्य दृष्टिकोणलाई नेपाली माटो र ममत्वको सुवाष परि¥याएका छन् । ‘पहाडी जीवन’, ‘के नेपाल सानो छ ?’ ‘भलादमी’ र ‘नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष’ निबन्धलाई जो कोहीले गहिरिएर अध्ययन गरेका खण्डमा आत्मपरकताका फाँकीहरू पाउन सक्छन् ।
शब्दशिल्पी कालीगढ :
विषयको चेत, सन्दर्भ र भावानुसार नयाँ र क्लिष्ट शब्द निर्माणमा देवकोटालाई महारथ प्राप्त थियो । उनी शब्दकोश मै नभएका शब्दहरू पनि प्रयोग गर्न रुचाउँदथे । उनको गद्यलाई पोथी गद्यको नामकरण गरिएको त्यसै होइन । उनले भन्न खोजेका कुराहरूलाई विश्वस्त बनाउनका लागि प्रकृतिको सौम्य र रौद्र रुपलाई सहारा लिएका छन् । एउटै ‘मुनामदन’ खण्डकाव्य नेपाली लाहुरे संस्कृतिका लागि काफी छ । अझ ‘कुञ्जिनी’ को कुरा यहाँ उठाइएकै छैन । हिजोका युवा मदनका आवरणमा पारिवारिक भरणपोषणका लागि भोट जान्थे भने आजका युवा राम, श्याम, हरि, दीपक र रमेशका नामगत आवरणमा अरब, कोरिया र मलेसिया जान्छन् । रेमिट्यान्सले धानेको छ अहिलेको नेपाल तर लाहुरे संस्कृतिमा कमि आएको छैन । अझ एककदम अघि बढेर भन्दा हिजो पुरुष मात्र लाहुर जान्थे भने अब महिलाहहरू समेत लाहुर जान थालेका छन् । ‘मुनामदन’ का नाममा कस्तो कृति लेखेछन् हाम्रा महाकविले कि जो कहिल्यै पुरानो नहुने ? बरु अनन्त कृतिका लागि उपजीव्य कृति बन्न सक्ने ।
आजसम्म राजा महाराजाहरूबाहेक जनताको स्तरबाट सबैभन्दा बढी शालिक हुने व्यक्तित्व अमर साधक देवकोटा नै हुन् । पुस्तकालय र वाचनालयका नाम पनि देवकोटाका नाम पदावलिमा धेरै राखिएका छन् । देवकोटापछि उनको लेखकीय धर्म र प्रवृत्तिलाई अघि लैजाने स्रष्टा शंकर लामिछाने हुन् । लामिछानेको रुमानी शैली, भाव गाम्भीर्यता र ओजपूर्ण लेखनमा देवकोटीय शैली र प्रवृत्तिको छाप परेको देखिन्छ । भारतका प्रसिद्ध समाजशास्त्री तथा संस्कृतिविद् साहित्यकार राहूल सांस्कृत्यायनका शब्दमा ‘देवकोटा भारतीय साहित्यका त्रिमूर्ति पन्त, प्रसाद र निरालाभन्दा पनि महान् हुन् ।’
जीवनदेखि मृत्युसम्म : कवितै कविता
दस वर्षको कलिलो उमेरदेखि नै कविताको लत लागेका देवकोटाले मृत्युशैयामा जानु केही हप्ता अघिसम्म पनि कवितै साधना गरेका हुन् । भोकप्यास बिर्सेर तन, मन र धनका साथ कविता कर्ममा लाग्नु देवकोटाको प्यासन थियो । उनी लेखनमा जति स्वभाविक थिए व्यवहारमा ठिक त्यस्तै जँच्दथे । उनका दामलीहरूले निकै पछिसम्म पनि उनका मानवोचित व्यवहार र प्राकृतिकपनको व्याख्या उपव्याख्या गरेर लेखेका, अनुसन्धान गरेका र भलिभाँती रुपमा बताएका छन् ।
देवकोटाको विख्यात् कलमलाई उनका पारिवारिक जीवनका अभाव, सन्तान पीडा र समस्याले समेत छेक्न सकेनन् । उनले सन्तान पीडालाई पनि लेखनमा ल्याएनन् । शोककाव्य भनेर लेख्ने फुर्सद उनलाई थिएनन् । झरना झरेजस्तै विषय र चेतमा लेखिरहने मानिसलाई विषयका अभाव हुने कुरा पनि भएनन् । सामान्य मानिसको जीवन बाँच्ने देवकोटा अहिलेका मानिसका मूल्याङ्कनमा एक सामान्य आम मानिस त थिए नै तर उनको सोच, व्यवहार र मानिसलाई हेर्ने स्वभाव चाहिँ आम मानिसभन्दा पृथक् र गहिरो थियो ।
दुःखी, गरिब र अदना मानिसहरू देवकोटालाई औधी नै मन पर्थे । बालक, वृद्ध र वनितालाई उनी सदैव आदर गर्थे । प्रकृतिको काखमा गएर समय बिताउन पाउँदा उनी असीम आनन्दको अनुभूति सिर्जित भएको ठान्थे । जसबाट उनलाई लेखन र चित्रणमा ऊर्जा मिल्थ्यो । लेखकले यही समाजमा रहेर समाजकै कुरा लेख्ने हो । नयाँ ग्रह वा एलियन वस्तीका कुराहरू लेख्ने होइन । बरु लेखक समाजको वारेस भने हो ।
लहडी स्वभाव : केटाकेटीजस्तो निश्छलपना
एकपटक दार्जिलिङ्मा देवकोटालाई माछा खाने सुर चढेछ । उनी कुनै कार्यक्रममा दार्जिलिङ् बोलाइएका रहेछन् । आयोजकहरूले ‘हुन्छ’ पनि भन्न सकेनन् ‘हुन्न’ भनी हाल्न पनि आयोजकहरूलाई उनीहरूको आतिथ्यता प्रदर्शन गर्ने मनले दिएनछ । देवकोटाको बच्चाजस्तै निश्छल मागलाई अन्त्यमा एकजना सहृदयी बेपारीका सौजन्यबाट परिपूर्ति गरियो । सोही माहोलमा डा. तारानाथ शर्माले देवकोटासँग अटोग्राफ मागेका थिए रे । देवकोटा त्यसबखत कुन के मुडमा थिए । उनले डा. तारानाथको कापी झटपट तानेर लेखिदिए –‘बाबु ! कविता नलेख्नु, कवितारुपि आगो (अनल)ले जिन्दगीभर पोलिरहन्छ ।’ अव्याख्येय यो पंक्तिका बारेमा तारानाथ शर्माले आफ्नो कुनै संस्मरणमा मनोहारी भावमा सविस्तार लेखेका छन् ।
कवित्व जन्तजात प्रतिभा हो । देवकोटाको कवित्व जन्मजात भए पनि त्यसलाई उजिल्याउन उनको घरको वातावरण र भाउजूको विशेष प्रेरणा रहेको पाइन्छ । भाउजूकै प्रेरणामा उनकै लागि ‘म त अभागिनी पो भएँछु’ नामको कविता लेखेर नेपाली साहित्यको खासगरी कविता विधामा पाइला चालेका देवकोटाले प्रकाशित गरेको पहिलो कविताचाहिँ ‘पूर्णिमाको जलधि’ हो । छन्द, गद्य र झ्याउरे शैलीमा समेत कविता लेख्न सक्ने अतीव प्रतिभाशाली देवकोटा ‘मेरो पच्चीस वर्षको साधना छ । म कविता मै कुरा गर्न सक्छु’ भन्थे । हुन पनि कूल चालीस वर्षको कविता साधनामा रमे रमाएका कवि देवकोटाले जति गुणवत्तापरक कृतिहरू खासगरी निबन्ध, नाटक, खण्डकाव्य, महाकाव्य र कवितामा अन्य उनका समकालीन कविहरूले दिन सकेका छैनन् ।
देवकोटा गरिब थिएनन् : उनलाई गरिब बनाइयो
गरिबी र सन्तान शोकले उनी दुईपटक मानसिक रोगी समेत भएका थिए । तर उनका पुत्र डा.पद्मप्रसाद देवकोटा गरिबी प्रसङ्गमा भने असहमति प्रकट गर्न खोज्छन् –‘त्यसबेलाका मानिसहरू प्रायः साइकल चढेर हिँड्थे । मोटर साइकलको जमाना आइसकेको थिएन । गाडी चढ्ने नेपालीहरू औंलामा गनिन्थे । राणा प्रधानमन्त्री र भाइभतिजाहरू मात्र कोहीकोही गाडी चढ्थे । देवकोटा चाइनिज कम्पनीको साइकल चढेर हिँड्थे । एकपटक देवकोटाको साइकल चोरी भयो । उनी ट्युसन गरेर पनि राम्रो पैसा आम्दानी गर्ने हुनाले हप्तादिन पनि नबित्दै उनले फेरि नयाँ चाइनिज साइकल चढेका थिए’ यसबाट पनि के थाहा पाउन सकिन्छ भने देवकोटा बास्तवमा गरिब थिएनन् । उनलाई गलत चित्रण गर्नेहरू र उनका बारेमा थाहा नपाउनेहरूले मात्र गरिबीको गीता उनलाई भनेरै जपेका हुन् । जुन उनका बारेमा असत्य हो ।
कहिले त्रिचन्द्र कलेजका प्राध्यापक, कहिले नेपाली भाषा समितिका लेखक पण्डित, कहिले मन्त्री, कहिले सम्पादक र कहिले पूरा समय लेखक परिचयमा बाँचेका देवकोटा बास्तवमा सरस्वती पुत्र हुन् । लेख्नकै लागि उनी मानव जीवनमा आए । लेखे । अजरामर कृति दिएर आज अमरपथका यात्री भएका छन् ।
पेसागत स्थिरता नभएका देवकोटा आफ्नो जीवनमा धेरैथरी पेसा गर्न बाध्य भएका थिए । कहिले त्रिचन्द्र कलेजका प्राध्यापक, कहिले नेपाली भाषा समितिका लेखक पण्डित, कहिले मन्त्री, कहिले सम्पादक र कहिले पूरा समय लेखक परिचयमा बाँचेका देवकोटा बास्तवमा सरस्वती पुत्र हुन् । लेख्नकै लागि उनी मानव जीवनमा आए । लेखे । अजरामर कृति दिएर आज अमरपथका यात्री भएका छन् । कतिपय शोधार्थी र नूतन समालोचकहरू यो अभिमतमा विश्वस्त पनि छन् ।
देवकोटालाई नजिकबाट चिन्नेहरूका शब्दमा –‘देवकोटाकी पत्नी मनराज्य लक्ष्मी देवकोटा धर्मभीरु महिला थिइन् । उनी कविप्रसाद गौतमको भजन मण्डलीमा प्रायशः गइरहन्थिन् । गौतम तिनताक काठमाडौँका जानेमाने धार्मिक व्याख्यान गर्न सक्ने मानिस थिए । उनले धार्मिक कार्यमा लामो समयसम्म लाग्दा धेरै रकम खर्च समेत गरिन तर देवकोटा आफ्नी साहिली बज्यैको यो धर्मप्रतिको लगावलाई सकारात्मक रुपमा लिन्थे । उनले कहिले पनि आफ्नी पत्नीलाई धर्मकर्म गर्नबाट अर्थका दृष्टिकोणले रोकटोक गरेनन् ।’ मन्त्री भएका बेला देवकोटाले भिखारीहरूलाई पैसा दिएका खिस्साहरूका बारेमा धेरै कुराहरू साहित्यिक लेखकहरूका लागि आफ्नो लेखहरूलाई अघि बढाउने संकथन भएका छन् । गोजीमा भएका जति सबै पैसा हातले झिकेर दिँदा कुनै कुुनै भिखारीहरू त देवकोटालाई हेर्दै भाग्दै गर्दथे ।
नेपाली भाषा र साहित्यप्रति उनको कस्तो लगाव थियो भने । भाषाशास्त्री तथा लेखक महानन्द सापकोटाले पूर्वतिर आफ्नो मातहतमा खोलेका प्राइमरी, मिडिल र हाइस्कुलहरूलाई स्वीकृतिका लागि देवकोटा शिक्षा तथा स्थानीय स्वायत्त मन्त्री हुँदा मन्त्रालयसम्मै ल्याएर डकुमेन्ट पेस गर्दथे । देवकोटा एकदुईवटा कागजहरू कमी भए पनि पहिले स्कुल चलाउँदै गर्नु पछि स्वीकृतिका लागि फाइल अघि बढाउनु भनेर तोकादेश गर्दथे । यो उनको नेपाली भाषा प्रतिको असीम श्रद्धा हो ।
ईश्वरीय मानव : देवकोटा
मानिस तीन थरी हुन्छन् –स्वार्थी, परार्थी र परमार्थी । आफ्नो मात्र भलो हेर्ने स्वार्थी हो । अरुको पनि भलो गर्नु पर्छ भन्ने भाव सँगाल्ने मानिस परार्थी हो । आफू बाहेक सबैको भलो हेर्ने मानिस परमार्थी हो । देवकोटा परमार्थी थिए । उनलाई सानादेखि ठूला कुराको कुनै पनि लोभ थिएन । लगाएका लुगा खोलेर दिनु, गोजीमा भएका पैसा माग्नेहरूलाई बाँड्दै हिँड्नु सामान्य स्वार्थी मानिसका बशका कुरा होइनन् । जीवनमा कहिल्यै भोलिको चिन्ता नगर्ने देवकोटा लेखनमा चाहिँ जहिल्यै भोलिलाई वाचाल पाराले बोलाइरहेका देखिन्छन् ।
‘मानिस जन्मेपछि मर्छ । देवकोटा पनि मानिस नै थिए । मानवकै जुनीमा मानवकै कोखमा बास लिएर जन्मिएका देवकोटाले आफ्नो पूरा आयु जिएर मर्न पाएको भए सम्भवत् उनले विश्वस्तरको नोबेल पुरस्कार समेत पाउने थिए ।’ भन्ने तर्क गर्ने एकथरी विद्वान्हरू समेत नभएका होइनन् । अर्काथरीहरू भन्छन् –‘देवकोटाको प्रमिथस महाकाव्यलाई अङ्ग्रेजीमा अनुवाद गरेर नोबेल कमिटीमा बुझाइएको भए अवश्य पनि त्यसले नोबेल पुरस्कार पाउने थियो ।’ एसियाकै ठूला कविका रुपमा मान्यता दिलाउन त्यसबेलाको सरकारले उति पहल गरेको होइन । उनलाई एकेडेमीबाट लखेट्नेहरूले अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन रुसको तासकन्द विश्वविद्यालयमा गएका बेला उनले एकेडेमीबाट खाइपाई आएको वृत्ति समेत रोकिदिएका थिए ।
मर्ने बेलामा उनलाई नेपाल सरकारले उनले चुरोट र मासु खाएको उधारो सबै तिरिदिएको थियो । सन्तानलाई छात्रवृत्तिको सुविधा दिएको थियो । क्यान्सरको रोग असाध्य रोग भए पनि केही रकमको जोहो गरिदिएको थियो । उनी जीवनभर स्वच्छन्दतावादी प्रवृत्तिका कविता, काव्य, निबन्ध र अन्य कृति लेख्दालेख्दा पनि जिन्दगीको उत्तरार्धमा गएर ‘आखिरमा श्रीकृष्ण रहेछ एक’ भन्ने कविता लेखेर शून्यमा शून्यसरि बिलाए । यसमा भने कन्र्टोभर्सियल विचार देखिन्छ । के कुन कारणले देवकोटालाई श्रीकृष्णको चरणमा पु¥यायो । कि मानिस बूढो भएर थकित र गलित हुँदै गएपछि धर्म र भगवान्को शरणागत हुन्छ ? यस विषयमा चाहिँ अहिलेसम्म देवकोटाका बारेमा सन्धान भएका छैनन् । जति भएका छन् ती सबै ट्रयाक भित्रैबाट भएका छन् । आफूभन्दा अघिल्लो शिक्षक वा विद्वत्जनबाट नभएका शोधहरू गर्ने जोखिम आजसम्म कुनै पनि लेखक वा शिष्यले उठाएका छैनन् । यसमा चाहिँ मौनता किन छ ? नेपाली साहित्यका लेखक, सम्पादक र अनुसन्धाताहरूले चेतनामय शक्तिको उपयोग गरी कलम र किबोर्ड थिच्नु पर्ने बेला आएको छ ।
देवकोटा न भूतो न भविष्यति :
अन्त्यमा, देवकोटाको एउटा कवितांश सेयर गर्दै यो लेखको बिट मार्ने अनुमति चाहन्छु –‘यो संसार घनघोर दुःख सागर हो भाइ’ भनेर कविताको आरम्भ गर्ने देवकोटाले ‘म शून्यमा शून्यसरि बिलाएँ’ भनेरै कविता किन लेखे ? आज पर्यन्त नबुझिएको कुराको गुत्थी यही मात्र हो । नत्र जीवनभर खुसहाल परिस्थितिमा रहँदा होस् वा अभावका सुनामीसँग पौंठेजोरी खेल्दा होस् उनले स्वच्छन्दतावादी प्रवृत्तिका रचनाहरू नै लेखेर नेपाली साहित्यको भण्डार भरिदिएका छन् । उनी एक्लैले जति कृति लेखे त्यति त आजसम्म एउटा गतिलो र उम्दो कुनै पनि कवि लेखकले लेख्न सकेका छैनन् ।
देवकोटा जयन्तीमा आज म यही निबन्धबाट उनीप्रति नूतन भावका साथ नमन गर्दै नेपाली साहित्यका अमर साधकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु ।
सन्भर्द सामग्री :
१) बन्धु, चूडामणि : महाकवि देवकोटा, साझा प्रकाशन, पुलचोक ललितपुर ।
२) अनुसन्धाता शिव रेग्मी, साहित्यकारत्रय : उपेन्द्र बस्नेत, महेश प्रसाईं र माधव काफ्लेसँग विभिन्न समयमा देवकोटा बारे गरिएका साहित्यिक भलाकुसारी ।
३) देवकोटा विषयक केही शोधहरू : त्रिवि, केन्द्रीय पुस्तकालय, कीर्तिपुर ।
४) जोशी, कुमारबहादुर : स्रष्टा देवकोटा, द्रष्टा परिवेशमा, साझा प्रकाशन, पुलचोक, ललितपुर ।
प्रतिक्रिया