इमान गुमाएको राजनीति : खुमबहादुर र मनाङे ‘गणतान्त्रिक हिरो’

भ्रष्ट काँग्रेसी नेता खुमबहादुर खड्का काँग्रेसको टिकट बाँड्ने समितिमा आउनु र अपराधी करार गुन्डा नाइके दीपक मनाङ्गे प्रदेशसभा सदस्य निर्वाचनमा सर्वसम्मत रुपले सिफारिस हुने बेथितिले ऐँजेरू पलाएको हाम्रो गणतन्त्रमा ३ करोड नेपालीका हितमा लडेका सामाजिक अभियन्ता डा.गोविन्द केसीको आवाज अझ झिनो हुँदै जानुले नेपालको स्वर्णीम् सुदूर भविष्यको द्योतन पक्कै गर्दैन । प्रकारान्तरले यो गणतन्त्रलाई नै मास्ने विदेशी रैवायापूर्ण चाल हो ।

एमालेले गुन्डा नाइकेका रूपमा कुख्यात दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपछि पूर्व अर्थ सचिव रामेश्वर खनालले व्यङ्ग्यात्मक शैलीमा ट्विट गरे, –‘नेपाली वामपन्थी आन्दोलनका अग्रणी नेता, द्वन्द्वात्मक भौतिकवादका प्रखर व्याख्याता मनाङबाट प्रदेशसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस ।’ त्यसैगरी नैतिकताको कसीमा मात्रै होइन, प्रचलित कानुनी प्रावधानसमेत कुल्चिदै प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले खुमबहादुर खड्कालाई चुनावको टिकट बाँड्ने समितिमा राखेका छन् ।

वरिष्ठ समाजशास्त्री चैतन्य मिश्र भन्छन् –‘नेपाली राजनीतिको भ्रष्टीकरणको उदाहरण दिन मनाङेको उदाहरणसम्म पुग्नै पर्दैन । गुन्डागर्दी मात्रै अपराध हो र ? सामाजिक र नैतिक विषयमा दलहरूको भूमिका गुन्डागर्दीको भन्दा कम छ र ?’ टिकट वितरणका खेल र झेलले राजनीतिमा अनेक तरङ् आए । राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन् –‘नेपाली राजनीति विकृतिको चरमोत्कर्षमा पुगेको छ । निकृष्ट ढङ्गको व्यक्तिगत स्वार्थले राजनीतिलाई निलिसक्यो । राजनीतिको अपराधीकरण भएको छ ।’

त्यसैगरी एमालेका पढैया नेतामा औंलामा गनिने चतुर विश्लेषक घनश्याम भुसाल पनि यो प्रवृत्ति देखेर वाक्क छन् उनीअघि भन्छन् –‘राजनीतिक बजारमा पसेर जसले तरक्की गर्न, पैसा जम्मा गर्न सक्छ ऊ नै नेता हुने भइसक्यो । यस्तो बजारले विचारधारा र आदर्श हेर्दैन ।’

यी माथिका प्रतिनिधि अभिव्यक्ति मात्र हुन् । समग्र नेपालीका भनाइलाई हेर्ने हो भने अहिलेको नेपालमा चिल्ला अनुहार र ठूलो भूँडीमा देखिने जोकोही नेताहरू पनि भ्रष्ट र पतित भैसकेका आभाष मिल्छन् । सार्वजनिक समारोहमा पचास र सय किलोका माला लगाउन लाज नमान्ने यी र यस्ता प्रवृत्तिका नेताहरूका विरुद्धमा अब पनि गोलबन्ध नहुने र तत्तत् पार्टीहरूबाट विद्रोह गरी ननिस्कने हो भने गणतन्त्रको भविष्य मटियामेट नहोला भन्न सकिन्नँ । मध्यधारमा उदाएका विवेकशील साझा पार्टीका सिद्धान्त र तिनका नेताहरूले यही अप्ठ्यारो परिस्थितिमा आफ्नो राजनीतिक भविष्य उठाउने हो । कतिपय युवाहरू आफ्नो भविष्य अजमाउन तम्तयार समेत भएका छन् ।

नेपाली राजनीति कतिसम्म घटिया भैसकेको छ भन्ने बारेमा अहिले सिफारिस भएका प्रदेशसभा र संसदका टिकट पाउने उम्मेदवारहरूको अनुहार र परिचयबाटै पाउन सकिन्छ ।

नेपाली राजनीति कतिसम्म घटिया भैसकेको छ भन्ने बारेमा अहिले सिफारिस भएका प्रदेशसभा र संसदका टिकट पाउने उम्मेदवारहरूको अनुहार र परिचयबाटै पाउन सकिन्छ । प्युठान काँग्रेसले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र २ बाट रोज राणासहित ३ जनाको नाम सिफारिस गरेको छ । प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका विवादास्पद छविका राणाको नाम सिफारिसको पहिलो नम्बरमै राखिएको छ । काठमाडौँको दरबारमार्ग क्षेत्रमा क्यासिनो व्यवसायमा समेत सक्रिय राणा विरुद्ध असुली र लेनदेनका थुप्रै मुद्दा विचाराधीन छन् ।

एमालेले मोरङ ६ बाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारमा परशुराम बस्नेतलाई ससम्मान सिफारिस ग¥यो । उनीमाथि अकुत सम्पत्ति आर्जनको मुद्दा चलिरहेको छ । उनी विरुद्ध अपहरण र जबर्जस्ती असुलीका मुद्दाहरू छन् । अवैधरुपमा रकम आर्जन गरेको अभियोगमा २०७० जेठ ५ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

काँग्रेसले टिकट बाँड्ने समितिमा भ्रष्टाचारी खुमबहादुरलाई राखेपछि र एमालेबाट गुन्डानाइके दीपक मनाङेले ससम्मान प्रदेशसभा सदस्यको टिकट पाएपछि अब भने काँग्रेस र एमालेको गणतान्त्रिक गन्तव्य फेरि अर्कोपटक छताछुल्ल भएर पोखिएको छ ।

आचारसंहिताको प्रतिबद्धतामा हस्ताक्षर गरेको मसीसमेत सुक्न नपाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि ८ जना मन्त्री थपे । कमल थापाको पार्टीलाई उप प्रधानमन्त्रीसहित ४ मन्त्री र ४ राज्यमन्त्रीसमेत थपिदिएका छन् । माओवादीले एमालेसँग चुनावी गठबन्धन गरेपछि उसले सरकार छाड्नु पर्ने मानसिकतामा प्रधानमन्त्री रहेका छन् । उता माओवादी  आफूले सरकार छाड्ने तयारी गरिरहे पनि सत्तामा बसेरै चुनावमा भाग लिँदाको सहुलियत लिन पछि नपरेको मानसिकता जाहेर गरिसक्यो ।

गृहमन्त्रीको जिम्मेवारीसहित उपप्रधानमन्त्रीमा कमल थापालाई नियुक्त गरिएमा माओवादीका जनाद्र्धन शर्माले गृहमन्त्री छाड्नु पर्ने हुन्छ । सेकेन्ड सेकेन्डमा चुनावी सत्ता नाटकले बडो रोमाञ्चपूर्ण मोड लिएको छ । इन्डो–युरोपियन शक्ति एकातिरबाट काँग्रेसलाई बद्नाम गराएर देउवालाई फँसाउने र बाम एकताको हौवा दिलाएर चुनावी तालमेल गराउने भारतीय खुफिया एजेन्सी ‘रअ’ र युरोपियनको चालवाजी भएको कुरा राजनीतिक बजारमा छताछुल्ल भएको छ ।

नेपाली राजनीतिमा अपराधको राजनीतिकरण मात्र थिएन राजनीतिको अपराधीकरणसमेत सकुसल अवतरण भयो ।

संसद र प्रदेशसभाका लागि टिकट दिने मुख्य पार्टी काँग्रेस, एमाले र माओवादी केन्द्रका हेड क्वाटरहरू सुनसान छन् । प्रचण्ड, ओली र देउवा निवासमा नेता र कार्यकर्ताका जुत्ताचप्पलको उरुङ् सम्मेलन देखिन्छ । एकजना एमाले कार्यकर्ताले रुष्ट भएर आफ्नो फेसबुक वालमा ‘जुत्ता सम्मेलन’ भनी फोटो पोष्ट गरे । रमाइलो के छ भने बाम गठबन्धनमा खटपट् आएपछि डा.बाबुराम भट्टराई गोरखा –२ बाट आफूले टिकट नपाएपछि ‘देब्रेआँखा’ चुनाव चिन्हलिएर एक्लै उछिट्टिएका छन् । ‘जनयुद्ध’मा निशाना साँध्न दाहिनेआँखा चिम्लेका डा.बाबुरामको देब्रे आँखाले कत्तिको काम गर्छ त्यो भने हेर्न बाँकी छ ।

इन्डो–युरोपियन रूचिमा भएको भनिने बाम एकतामा बाबुरामको बहिर्गमनले कस्तो अर्थ राख्छ त्यो भविष्यले बताउला । औशत इमान्दार कम्युनिष्टका रूपमा दर्ज भएका चित्रबहादुर केसी, सीपी मैनाली र नारायणमान विजुक्छेहरूचाहिँ अहिलेसम्म बाम गठबन्धनमा नजानु ‘भारतीय पुरातन शक्ति’ र पश्चिमाहरूको चाहनामा बाम गठबन्धन बन्नु तथा ‘मोदीलाई गैह्र हिन्दू अलायन्स गरी राजनीतिक चक्मा दिने’ उद्देश्य राख्नु नै अहिलेको बाम गठबन्धनको अन्तर्य हो भनेर बुझ्दा सबैलाई सजिलो हुन्छ ।

इन्डो–युरोपियन रूचिमा भएको भनिने बाम एकतामा बाबुरामको बहिर्गमनले कस्तो अर्थ राख्छ त्यो भविष्यले बताउला । औशत इमान्दार कम्युनिष्टका रूपमा दर्ज भएका चित्रबहादुर केसी, सीपी मैनाली र नारायणमान विजुक्छेहरूचाहिँ अहिलेसम्म बाम गठबन्धनमा नजानु ‘भारतीय पुरातन शक्ति’ र पश्चिमाहरूको चाहनामा बाम गठबन्धन बन्नु तथा ‘मोदीलाई गैह्र हिन्दू अलायन्स गरी राजनीतिक चक्मा दिने’ उद्देश्य राख्नु नै अहिलेको बाम गठबन्धनको अन्तर्य हो भनेर बुझ्दा सबैलाई सजिलो हुन्छ ।

नेपाली समाजलाई दुई ध्रूवमा ध्रूवीकरणगरेर आफ्ना पुराना खेतालाहरूलाई फेरि अर्कोपटक चुनावी नाटकीय नाममा एकै ठाउँमा जम्मा पारेर इन्डो–युरोपियन र केही बाह्य खुफिया एजेन्सीहरू नेपाली गणतन्त्रमा नराम्रोसँग खेल्न खोजिरहेका छन् भन्ने बसहसमेत प्रबुद्ध वर्गले थालेका छन् । ‘घुमाईफिराई बाम गठबन्धनबाट दुई तिहाई सिट जित्ने प्रयत्न भनेकै सत्ता कब्जाको रणनीति हो’ भन्ने कुरा थाहा पाएर काँग्रेस भित्रको धर्मवादी र अनुदार खेमा ‘अन्तिम चुनावी अश्त्रका रुपमा हिन्दू धर्मलाई चुनावी परिवेशमा उछाल्न खोजिरहेको छ ।’ यसैको उदाहरण हो –काँग्रेसले अदालती सजाय पाइसकेका उसका भ्रष्टनेता खुमबहादुरलाई टिकट बाँड्ने हाइकमाण्डमा लगेको ।

हाँस उठ्दो कुरो त के छ भने संसद आफ्नो चार वर्षे कार्यकाल समाप्त गरेर आज रातिबाट विगठन हुँदै गरेको स्थितिमा अनिवार्यरुपमा पारित गर्नु पर्ने चिकित्सा विधेयक, राष्ट्रिय सभाको चुनावी प्रक्रिया सम्बन्धी विधेयकहरू थान्को लागे । ती विधेयकहरू अध्यादेशबाट पारित गर्नु पर्ने अप्ठ्यारो सरकार सामु छ ।

एकातिर ६०१ जन्तीलाई बाटाखर्च दिएर विदा गर्नुपर्ने अर्कोतिर सरकार केयरटेकर समेत भएकाले अध्यादेशबाट विधेयक पारित गर्नु भनेको घाँटीमा ठूलो हड्डी अड्किनुजस्तै हो । ‘मुसा प्रवृत्ति’ का नेता कमल थापा एण्ड कम्पनीलाई सरकारमा हुल्नु भनेको चुनाव सार्ने षडयन्त्र हो भन्ने प्रतिक्रिया विपक्षी एमालेलगायत माओवादीले दिइसके ।

डा.गोविन्द केसीले एक्लैले देशका बेथितिसँग लड्नु पर्ने भएपछि पार्टी संरक्षित भनेर डामिएका नागरिक समाज, गनाएका राजनीतिक पार्टी र पूरै गणतान्त्रिक सिष्टमकै खिल्ली उडेको छ । मेडिकल माफियाले विपक्षीलाई कसरी कब्जा लिएको रहेछ भन्ने प्रमाणसमेत विधेयक पास नभएको चित्रले देखायो । डा.केसीले आफ्नो ६१औं बर्थडे पनि अनसनस्थल मै मनाए । राजनीतिक बेथितिसँग खेलेर संसदवादी शक्तिहरूले आफ्नो आदर्श र सिद्धान्तमाथि ‘पिसाब फर्ने काम गरेका’ छन् । प्रहरीको सर्वाधिक खोजीमा रहेका माओवादी केन्द्रका सांसद बालकृष्ण ढुङ्गेल राजधानी कै सभामा देखिनु, दिपक मनाङे प्रवृत्तिले टिकट पाउनु, खुमबहादुरहरू टिकट दिने र गगन थापाजस्ता उदीयमान र क्रिम लिडरहरू टिकट लिनु पर्ने अवस्थामा पुग्नु र देशले धान्नै नसक्ने गरी प्रधानमन्त्रीले आफ्नो बपौतीझैँ ठानेर सरकारमा मुसा प्रवृत्तिका मन्त्रीहरू थप्नु संसदीय व्यवस्था नेपालमा अफापसिद्ध बनाएर फेरि भ्याकुम सिर्जना गरी अस्थिरता निम्त्याउँदै विदेशीको खेल्ने चाल हो ।

अबका बालिक मतदाताहरूलाई यी कुराहरू स्पष्ट भैसकेका छन् । बौद्धिक र चुस्त अपडेट पुस्ताले कम्तिमा आफ्ना क्षेत्र र प्रदेशबाट कसकसले कसरी टिक पाए त्यो चनाखोपूर्वक हेरेर चुनावमा योग्य र इमान्दार उम्मेदवार छान्न आफ्नो राजनीतिक लाइनको फ्लोर क्रस गर्नु पर्ने भएमासमेत योगदान गर्नुपर्छ । अहिलेलाई सर्वाधिक चासो र चर्चाको विषय यही हो ।

।।समाप्त।।

प्रतिक्रिया

सम्बन्धित