एमाले माओवादी चुनावी एकता अघि ङ्यार्र : पछि म्याउ

     ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुन्न भन्ने पुरानो र चल्तीको भनाइ निक्कै दमदार रहेको छ । पछिल्ला केही दिनदेखि नेपाली सञ्चार माध्यममा आएको वृहत्तर वाम एकताको प्रस्तावचुनावी कार्यान्वयनका सिलसिलामा भएका तालमेलका केही पहल समेतले नेपाली राजनीतिमा नयाँ तर अन्त्यहीन तरङ्ग स्थापित गरिदिए । आसन्न प्रदेश सभा  र केन्द्रीय संसदको निर्वाचनमा जोडतोडले क्रियाशील सबै राजनीतिक पार्टीका केन्द्रीय नेता र कार्यकर्ताहरू ध्रवीकरण हुँदै लागिपरेका छन् । पार्टी प्रवेशका जल प्रपातले पार्टीहरूलाई थेगी नसक्नुका भूमरीमा पारेका छन् । यसबाट धेरैजसो वाम पार्टीहरू र थोरैजसो प्रजातान्त्रिक पार्टीहरू समेत परेका छन् । रमाइलो नाटक नेपालमा फेरि अर्कोपटक शुरू भएको छ जसका दर्शक दीर्घामा तपाईं हामी सबै भोटरहरू रोमाञ्च मानेर हेरिरहेका छौं ।

     नेपाली राजनीतिका अस्थिर तथा माहिर खेलाडी प्रचण्डले बेलाबेलामा भन्ने गरेको अबको एक दसकमा नेपालमा साम्यवादको स्थापनाका लागि आधारहरू देखिने छन् । अर्कातिरबाट एमाले अध्यक्ष ओलीले भनेका अर्को सालको दसैँ असाधारण हुनेछ भन्ने भनाइका अन्तरनिहीत गुत्थीहरूले अहिलेको चुनावी वाम एकताको सुइँको दसैँका दिनमै दिइसकेका थिए । जसको चित्र स्पष्ट रूपमा बल्ल आयो ।

नेपाली राजनीतिमा मुसा प्रवृत्तिमा देखिएका कमल थापा, राजपा, विजय गच्छदार, हृदयेश त्रिपाठी र उपेन्द्र यादवहरू जोड घटाउको पल्लाभारी कतातिर हुन्छ त्यतैतिर लाग्ने अड्कल समेत गरिँदैछ ।

     नेपाली राजनीतिमा दसकदसकमा नूतन तर असम्भवीय राजनीतिक हौवा दिएर / दिलाएर नेपाली जनतालाई गुमराहको पथमा डोहो¥याउने तरिका कुनै नौला होइनन् । अब हुने यी दुवै निर्वाचनमा पनि वृहत्तर वाम एकता चुनावी तालमेल मात्र हुन् जसमा एमालेले दुई नम्बर प्रदेशमा भोगेको हार र माओवादी केन्द्रले तेस्रो शक्ति हुनुको सजिलो फाइदा उठाएको भन्ने कुरा राजनीतिक वृत्तमा देखिएका छन् । यी तर्कमा केकतिका दम छन् ती परिणामहरू थाहा पाउन जनताले पुसको पहिलो सातासम्म कुर्नै पर्ने भएको छ ।

पेशल आचार्य

     आसन्न महासंग्रमी चुनावी माहोलमा नेपाली राजनीतिमा मुसा प्रवृत्तिमा देखिएका कमल थापा, राजपा, विजय गच्छदार, हृदयेश त्रिपाठी र उपेन्द्र यादवहरू जोड घटाउको पल्लाभारी कतातिर हुन्छ त्यतैतिर लाग्ने अड्कल समेत गरिँदैछ । बेपारी राजनीतिको रन्ठमोलले नेपाली नेताहरूका दिमाग चकराएको अवस्था यतिखेर देखिएको छ । सबै भोटर किनबेचका नयाँनयाँ डिजिटल शैलीमा उत्रिएका छन् । सबैका कदकाँठी भोटरले पर्गेली सकेका छन् । ढाँटको निम्तो खाई पत्याउनु भन्ने नेपाली उखान यतिखेर चरितार्थ भैरहेको छ ।

     हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा काँग्रेसलाई प्रयोग गरे । आज देउवा प्रधानमन्त्री हुँदा प्रचण्डलाई प्रयोग गरेका हुन् । यी जेष्ठ पार्टीका जेष्ठ नेताका नौरङ्गी चर्तिकलाले गर्दा देशले हारेको र नेताले जितेका हुन् भनेर बौद्धिकहरू  तर्क गर्न थालेका छन् । यस्तै कुराका हेक्का थाहा पाएर प्रचण्डले आफ्नो क्रमशः ओरालो लाग्दो राजनीतिक शाख जोगाउनका लागि चुनाव अघि एमालेसँगको चुनावी तालमेलको चक्रव्यूह रचेका हुन् भन्ने कुरा आम नेपालीलाई थाहा छ । भाग्यले गर्दा प्रचण्डका हातमा देशको राजनीति घुमेको दस वर्ष भैसक्यो । हिजो गिरिजाप्रसाद कोराइलालाई घटनाक्रमअनुसार फकाएर, फुल्याएर आफ्ना पोल्टामा परिणाम हाल्न उनी सफल भएका नेताका रुपमा चिनिएकै हुन् ।

     यो वा त्यो बहानामा आफ्ना कार्यकर्ता, राजनीति र परिणामलाई भजाउन सफल प्रचण्डलाई एमालेले भित्रीबाहिरी रूपमा भलिभाँती चिनिसकेको छ । माओवादी नफुट्दै पनि बाबुरामले फुर्किएर एमाले लिङ्ग नभएको पार्टी हो भन्ने अनेक फत्तुरहरू लगाएकै हुन् । एमालेले समेत उसलाई जङ्गली व्यवहार देखाउने पार्टी का रूपमा चित्रण गरेकै हो । आज उनीहरू दुवै र बाबुरामका बीचसमेत जुन पिरती देखिएको छ त्यो अस्थायी रूपमा प्राप्त हुने चुनावी परिणामलाई हत्याउनका लागि नहोला भन्न सकिन्नँ ।

राजनीतिक फाइदाका लागि यो वा त्यो बहानामा जतिसुकै बेला, जे सुकै कुरा गर्न तम्तयार रहनु र जनतालाई पाँचदस वर्षमा पूरा हुन नसक्ने सपनाका हौवा देखाएर अल्मल्याउनु नेपाली नेताहरूका विशेष गुणहरू हुन् । त्यो रोग महारोग बनेर काँग्रेस, राजपा र राप्रपामा समेत देखिएका छन् ।

     सिष्टममा हिँडाउने चाहना र दृढ इच्छाकांक्षा भएका गतिला नेता नेपालले नपाउनु, राजनीतिक फाइदाका लागि यो वा त्यो बहानामा जतिसुकै बेला, जे सुकै कुरा गर्न तम्तयार रहनु र जनतालाई पाँचदस वर्षमा पूरा हुन नसक्ने सपनाका हौवा देखाएर अल्मल्याउनु नेपाली नेताहरूका विशेष गुणहरू हुन् । त्यो रोग महारोग बनेर काँग्रेस, राजपा र राप्रपामा समेत देखिएका छन् । खासमा देशको डेस्टिनेसन भनेको स्थायी राजनीतिक प्रणालीमार्फत् देशकविकास हो । यसमा चाहिँ पहल देखिएन ।

     राजनीतिक सुझबुझका साथ चुनावमा जानु एउटा पाटो हो भने त्यसलाई स्थायी रूपमा व्यवस्थापन गरी जनताका भावनालाई सम्बोधन गर्नु अर्को कुरा हो । नेपालमा चुनावी प्राविधिक शैलीमा फरकपना नभएको परिदृश्य स्थानीय तह निर्वाचनका बेला दोस्रो र तेस्रो चरणमा प्रशस्त देखिएकै हुन् ।

     प्रजातन्त्रका लागि करिब आठ दसकदेखि विभिन्न प्रकारका लडाइँहरू लडेको नेपाली काँग्रेसमा पनि बीपीका विचारलाई भजाएर मागी खाने शैलीले गर्दा केही समयदेखि यता आएर उसले आफ्ना भोटरहरू पनि बिच्काएकै हो । जसले गर्दा विवेकशील र साझा पार्टीजस्ता तेस्रो धारका पार्टीहरू नेपालमा उदाए । अझ अहिले आएर तिनीहरू एक भएर विवेकशील साझा पार्टीमा देखिएपछि आफूलाई सेन्टर राइट मान्ने काँग्रेस र सेन्टर लेफ्ट मान्ने माओवादी केन्द्र र एमालेहरूले मझधारको विचार बोकेर उदाएको विवेकशील साझा पार्टीबाट अबका केही चुनावमा डर मान्नु स्वभाविकै हो । जुन पछिल्ला चुनावमा देखिँदै जाने छन् ।

विदेशी भूमिमा रहेर रगतपसिना एकठ्ठा गरी नेपाल र नेपालीका खातिर रेमिट्यान्समा दाइँ गर्न पल्केका नेता र कार्यकर्ताहरूलाई राजनीतिक संक्रमणको कथा भँजाउन जति सजिलो छ त्यति सजिलो ती विदेशीएका नेपालीलाई काम र कमाइ गर्न छैन । यो कुरा जगत्लाई थाहा छ । तिनीहरूको भोटिङ् राइट देशले सुनेन ।

     देशका आग्रहहरू मात्रै फेरिएका छैनन् । युवा मतदाताका आग्रहहरू समेत प्रत्येक चुनावैपिच्छे फेरिएका छन् । यस्तोमा देशले राजनीतिक रूपले मारेको फड्को आफैँमा दमदार भएर मात्रै पुग्दैन । प्राविधिक रूपमा समेत चुनावका गुत्थीहरू फेरिनु र सपाट शैलीका चुनावहरू हुनु आवश्यक थियो । विदेशीएका पचास लाख नेपालीका अन्तरकुन्तरका चाहनालाई सम्बोधन गर्न चुनावी शैली र प्रविधिमा खै फरकपना ? विदेशी भूमिमा रहेर रगतपसिना एकठ्ठा गरी नेपाल र नेपालीका खातिर रेमिट्यान्समा दाइँ गर्न पल्केका नेता र कार्यकर्ताहरूलाई राजनीतिक संक्रमणको कथा भँजाउन जति सजिलो छ त्यति सजिलो ती विदेशीएका नेपालीलाई काम र कमाइ गर्न छैन । यो कुरा जगत्लाई थाहा छ । तिनीहरूको भोटिङ् राइट देशले सुनेन । निर्वाचन आयोग चन्द्र शमशेर पालाकै मोठ र ढड्डामा आफ्नो कार्यशैली अघि बढाइरहेको देखिन्छ ।

     यी तमाम समस्याहरूका बाबजुद् नेपाल क्षणपलमा बद्लिएको छ । नेपालीहरू बद्लिएका छन् । संसारलाई चिहाएर नेपाललाई हेर्दा हिँड्ने बाटाघाटाहरू ज्यान लिने धरापजस्ता देखिनु र मुखमा मास्क लगाएर हिँड्नु पर्ने अवस्था हुनु, देशका प्रमुख सहर र नगरमा व्याप्त अनेकानेक विकृति र फोहर व्यवस्थापन गर्न नसकेको अवस्था र स्थानीय निकायका अधिकार भएर पनि काम गर्न नसकेको स्थिति देख्दा जोसुकै आए पनि पाँच वर्षलाई हात काटेर जनताले भोट दिएपछि विकासका खाका कोरेर आफ्ना भावी सन्ततीहरू सिष्टममा चलेको देख्न चाहनु कुनै अपराध त होइन ।

     अझ एक कदम अघि सरेर भन्ने हो भने नेपालमा दुई पार्टी सिष्टम हुनु जरूरी नै भैसक्यो । एक कार्यकालमा एउटा पार्टीको नाडी छामी सकेपछि जनताले आफ्नो चाहना र भावनाअनुसार काम भए नभएको देखेपछि अर्को चुनावमा अर्को पार्टीलाई भोट दिने वातावरण नेपालमा ढिलो चाँडो हुँदै जाओस् अनि मात्र नेपालको कायापलट हुन सक्छ । यो चाहना र भावनालाई देशले चुनावी प्रक्रियाका रूपमा मात्र नभएर राजनीतिक प्रक्रियामा समेत अङ्गीकार गर्दै लैजानु पर्छ अहिलेको चिन्ता र चासो यही हो । नत्र संघीयताका नाममा नेपाल नामको हिमाली भूराज्यलाई भए गरेका पुराना सिष्टममा खेलेर पूरै नेपाललाई नै नामेट गर्ने विदेशीहरूको चालबाजीमा नेपाली नेताहरू फस्न लागेका हुन् भनेर भन्दा किमार्थ गल्ती हुँदैन ।

     प्रकारान्तरले यो देखाउने छ । आगे आगे देखो होता है क्या ! भनेझैँ अहिलेको चुनावी तालमेलमा को बाघ र को बिरालो हो त्यो जनताको हातमा छ । जुन चुनावमा मात्र परीक्षण हुनेछ । एमाले बाघ हो भने उसले ङ्यार्र गर्दैछ । माओवादी बाघ हो भने उसले पनि सो अनुकरण गरेजस्तो देखियो । नत्र दुवै बिराला हुन् भने म्याउ कै आवाज ध्वनित हुने छ । काँग्रेसले वृहत्तर वाम एकताबाट डराउनु पर्ने कुनै कारण छैन । आफ्नो संगठन र साखलाई बचाएर सम्पूर्ण मतदातालाई आफ्नो ऐँचमा राख्ने हो भने उसलाई पनि मतदाताले बिर्सिसकेका छैनन् ।

     चुनावमा हारजीत जे भए पनि नेपाली राजनीतिको राजनीतिक कोर्स अब हुने संसद र प्रदेश सभाको चुनावमा सकिने छ । अनि मुलुक विकास र निर्माणको युगमा सकुसल प्रवेश गर्ने छ । तर यहाँनेर शंका गर्ने स्थान पर्याप्त छ –‘विदेशी शक्तिका इसारामा चुनावलाई पछि सार्ने भित्री खेलहरू पनि हुन थालेका भन्ने आवाजहरू सुनिन थालेका छन् । ती खेललाई भने सबै क्रियाशील राजनीतिक पार्टीहरूले एक ढिक्का भएर चिर्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित