मेराे पूर्वेली न्यूजका २ वर्ष : जसले मलाई अनलाइनमा लेख्न उत्प्रेरित बनायो

उहिले र अहिले लेखनमा धेरै फरक छ । पृथक् लाग्छन् मलाई हिजो र आजका लेखन विषयवस्तु र फाँकीहरू । जमानाको चाहना र मानिसका व्यस्तताले गर्दा पाठकको मानसिकता र विषयी रागहरू समेत पार्थक्यका टाकुरामा बसेका यायावर यात्रीझैँ चलायमान् भएका छन् । एउटा कुरा चाहिँ समान छ त्यो के भने हिजो हामी लेख्नेहरू आज पनि लेखिरहेका छौं । थाक्नेहरूले छाडी सके । झिँजो मान्नेहरूले बिसाइसके । केही पाउन लेख्नेहरूले आफूले नपाएको चिजको झोँकमा आफूलाई पोख्न बिर्सिइसके । हामी भने केही पाउन र गुमाउन लेखनमा आएका थिएनौं –त्यसैले लेखिरहेका छौं । हिजो पनि लेख्यौं । आज पनि लेख्दैछौं र भोलि पनि लेखिरहने छौं ।

कवि महेश प्रसाईं सदैव भन्नु हुन्छ –‘लेखक नदी हो, बगिरहनु पर्छ ।’ वहाँको भनाइ सारै टच्ची लाग्छ –मलाई । टच्ची मात्रै लाग्दैन । प्रेरणाप्रद पनि ठान्छु –यो उक्ति । ऊ बेला मैले लेख्न आरम्भ गर्दा कसैले लेख भनेनन् । बरू लेख्ने कार्यलाई ओल्चिएर नलेख भन्नेहरू नै धेरै थिए । लेखन अहिलेजस्तो वैश्विक भैसकेको थिएन । हामीले लेख्दा स्थानीय पत्रपत्रिकाहरूमा मात्र लेख्ने अवसर हुन्थ्यो । राष्ट्रिय पत्रपत्रिकाहरूमा लेख्ने होइन्जेल जीवनका पाँचदस वर्ष घर्किसकेका हुन्थे । त्यसैले धेरै दुःख झेलेर लेखनमा आइयो । पाँच पैसा पारिश्रमिक कसैले दिँदैनथे । किताब किनेर पढ्नु पर्दथ्यो । पुस्तकालयको सुविधा अहिलेजस्ता थिएनन् । साझा र एकेडेमीका किताब अनि हिन्दीका उपन्यासले मानसिक तुष्टि लिनु पर्दथ्यो ।

पेशल आचार्य

घरमा मेरो लेख्ने वातावरण थिएन । गाउँमा धेरैजसो मानिसहरू निरक्षर थिए । गोरखधन्दीय काममा व्यस्त र मस्त बाबाआमाहरूले लेखनलाई मेरा सुरूका दिनहरूमा उति प्रेरणा दिनु भएको होइन । आफ्नो पढ्ने कोर्स बाहिरका किताब पढे मानिस बिग्रिन्छ भन्ने पुरातन सोच हावी थियो –ऊ बेला । मैले क्याम्पसको वातावरणले लेख्न सिँके । मलाई साथी र सँगातीहरूले लेख्न सिकाए । मलाई पढाउने शिक्षक र प्राध्यापकहरूले नै मलाई लेख्न हुटहुटी दिए । अनि मैले लेख्न नजान्दा नजान्दै जाने । सिक्न नखोज्दा नखोज्दै सिँके । लागे पछि लागियो लागियो । लेखे पछि लेखियो लेखियो ।

पत्रपत्रिकामा लेख्दाका कहरहरूको संस्मरण मात्रै पनि एउटा सिङ्गो किताब तयार हुन्छ ।

सुरूमा रहरले लेखेँ । बीचमा करले लेखेँ । अहिले आनन्दका लागि लेख्छु । रहरले लेख्दा छाप्ने भन्दा नछाप्ने बढी हुन्थे । एक प्रकारले दिक्क लाग्थ्यो । करले लेख्दा पत्रकार र सम्पादकका अनुरोधमा लेखेँ । अहिले आनन्दका लागि कहिले दिनहूँ लेखिरहन्छु । कहिले महिनौंसम्म नलेखेर पढिरहन्छु । जे गर्दा आनन्द मिल्छ सोही गर्ने सुविधाको उमेरमा पुगिएको छ । करिब चारदसक लेख्नु भनेको एकप्रकारले आनन्दकै खोजी हो । जीवन बुझ्ने बहानामा लेख्न थालेको अहिलेसम्म जीवन बुझेर सकिएको छैन । बुझ्ने कोसिस भने जारी छ ।

सुरूमा रहरले लेखेँ । बीचमा करले लेखेँ । अहिले आनन्दका लागि लेख्छु । रहरले लेख्दा छाप्ने भन्दा नछाप्ने बढी हुन्थे । एक प्रकारले दिक्क लाग्थ्यो । करले लेख्दा पत्रकार र सम्पादकका अनुरोधमा लेखेँ । अहिले आनन्दका लागि कहिले दिनहूँ लेखिरहन्छु । कहिले महिनौंसम्म नलेखेर पढिरहन्छु । जे गर्दा आनन्द मिल्छ सोही गर्ने सुविधाको उमेरमा पुगिएको छ । करिब चारदसक लेख्नु भनेको एकप्रकारले आनन्दकै खोजी हो ।

गमेर हेर्दा हिजो लेख्नेहरू कम थिए तर राम्रो लेख्थे । हिजो लेखन सजिलो तर प्रकाशन गाह्रो । कारण प्रकाशन सुविधा आज जति थिएनन् । किताब छपाउन बनारस र पटना जानु पर्दथ्यो । आफूले लेखेको आफैँले धेरैचोटी सच्याउनु पर्दथ्यो । कसैले सम्पादन गरिदिने गुञ्जायस थिएन । हातैले लेख्ने जमाना थियो । कार्वनकपी गर्नु पर्दथ्यो । लेखनमा परिश्रम र साधना धेरै हुने गर्दथ्यो । यिनेगिने र चुनिएका लेखकहरूका मात्र पत्रपत्रिकाहरूमा आर्टिकल आउँथे । नवोदित र नयाँ पुस्ताले आफूलाई स्थापित गराउन निकै पापड बेल्नु पर्दथ्यो । लेखनमा मैले दुःख गरेको हो । कुनै समूह वा राजनीतिक वादको पुच्छर भएर लेखिएन । भनौ मिसन राइटिङ् भएन । मैले पढेका र मैले पढाएका धेरै लेखकहरू मिसन राइटिङ्मा लागेका रहेछन् । आफूलाई प्रजातान्त्रिक र वामपन्थी कित्ताका भनाउने लेखकहरूका लेखन प्रजातन्त्र आएपछि एकप्रकारले सिद्धिए । कोही अझै घिस्रिरहेकै छन् । राम्रो लेख्ने हिजो पनि करिश्मायुक्त लेख्थे । आज पनि लेखिरहकै छन् ।

एवम् रितले राम्रो लेख्नेहरू कोही अल्पायु मै बिते । लामो जीवन पाएकै भरमा कसैकसैले मझ्यौलो कदको लेखन गरे पनि धेरै वाहवाह र पुरस्कारहरू पाए । उम्दा लेख्नेहरूमा मैले जीवन आचार्य, शिव अधिकारी र क्षेत्रप्रताप अधिकारीलाई राम्रामा गनेको थिएँ । ती अहिले बितिसके । नयाँसँग मेरो उति हिमचिम हुन पाएन । थोरै मात्र मेरा साहित्यिक साथी थिए र छन् । पढन चाहिँ म नयाँ पुराना सबैको पढिरहन्छु । पठनमा छनोट मेरो विषय र शैलीको हुने गर्छ ।

हिजोजस्तो लेखन अब छैन । लेखनको सोच र दायरा फराकिलो भएको छ । पाठक बढेका छन् । टिनेज पाठकले धानेको बजार छ –सबैतिर । ‘विद्यालय र विश्वविद्यालयका शिक्षक र प्राध्यापकहरू पनि थोरैजसो मात्र पढ्छन्, धेरैजसो पुस्तकका भूमिका र समीक्षा पढेर लेखन धर्म थाम्छन्’ भन्ने सुनिन्छ । बाहिर जुनसुकै पेसा वा व्यवसायमा रहे भएका मानिसहरू पनि पचास र साठीको दसकमा लेखक बनेर झुल्किने परम्पराको विकास भयो । बेपारी, कलाकार, सेना, पुलिस, मास्टर, खेलाडी, पत्रकार र विद्यार्थी सबै सबैका कथा, कहानी र अनुभूतिहरू पत्रपत्रिका, अनलाइन र साहित्यिक म्यागाजिनहरूले पस्किने काम गरेका छन् । अहिले नेपाली साहित्यको बजार बढेको छ । हल्लाको बजारमा स्वार्थको समालोचनाले काम गरेको छ । अहिले तेरोमेरो प्रकाशन र उस्कोमेरो समीक्षाले नेपाली साहित्य र पत्रकारिता अल्मलिएको जस्तो देखिँदैछ । बाढी आउँदा लेदो र धमिलो पानी आएझैँ अहिले प्रकाशनको सुविधाले गर्दा धेरै मानिसहरू लेखनमा आएका हुन् ती सबै समयक्रममा फिल्टर हुँदै जान्छन् ।

विदेश बसेकाहरूले पनि आफ्ना भोगाइ र रुवाइलाई लेखेका छन् । कतिपयले त आफूले लेखेको विषयलाई डायोस्पोरा साहित्य भनेका छन् । कोही उम्दा लेख्नेहरू पनि छन् । जो नेपालमै राम्रो लेख्थे र ती आफ्ना व्यवहारिकताले विदेश बस्न गए पनि तिनीहरूको लेखन राम्रो छ । जो विदेश गएर मात्र लेख्न पढ्न थालेका छन् तिनीहरूको लेखन उत्तम जँचेको छैन । कसैको मध्यम छ कोही सिक्न खोज्दै छन् । डायस्पोराका बारेमा निकै अघि मनु ब्राजाकीले एउटा गतिलो लेख लेखेर स्पष्ट पारेपछि मलाई विदेशी भूमिमा बसेर लेखिएका सबै कृति डायस्पोरा होइनन् भन्ने ज्ञान भयो ।

म कहाँनेर पर्छु । त्यो खुट्याउने जिम्मा पाठकको हो । म देशमै बसेर लेखिरहेको छु ।

धेरैथरी मानिसले लेख्न थालेपछि धेरैथरी कुरा बाहिर आएका छन् । कतिपय राम्रा कुरा आएका छन् भने कतिपय विवादास्पद र नराम्रा कुरा पनि आएका छन् । राष्ट्रिय जीवनमा नाम कमाएको र मृत्यु भैसकेको मानिससँग आफूलाई जोडेर लेख्ने संस्कारले नेपालमा व्यक्तिलाई गाली गर्ने र स्वपूजित संस्कारको उदय गरायो । पूरै देशैभरि फिस्कन भन्दा ननफिक्सनले बजार यतिबेला गर्माएको छ । फिस्कन पनि पुरानाका भन्दा नयाँका धेरै गहकिला र प्रभावमय रूपमा आउन थालेका छन् ।

२०३६ सालको सडक कविता क्रान्तिमा मैले कविहरूलाई एकमुष्ट रूपमा भद्रपुर (पुरानो नाम धूपगाछी) मा देखेको हूँ । त्यहाँ कवि भवानी घिमिरे नायक थिए –विद्रोह वाणिका । मैले नियालेर सडकका कविता सुनेँ जतिबेला म मेची क्याम्पसमा आइए पढ्दै थिएँ । अनि मैले जानी नजानी कविता लेख्ने कामलाई निरन्तरता दिएँ । हुन त पहिलो कविता भने इनरुवामा ६ कक्षा पढ्दै लेखिसकेको थिएँ । त्यसले सिकारू भएर निरन्तरता मात्र पायो । बुझेर लेख्न थालेको भद्रपुरमा पढेदेखि हो ।

लेखन मेरो नसा हो तर अहिले यो बदलिएर पेसा बनेको छ । नसा र पेसा भएको लेखनलाई मैले करिब ३६ वर्षदेखि सँगसँगै हातेमालो गर्दै हिँडाएर यहाँसम्मको लेखनयात्रा तय गरेको छु । उहिले हामीले लेख्दा लेटर प्रेसको जमाना थियो । ग्याली प्रुफ मिलाएर कम्पोजिटरहरूले लेटर प्रेसमा रचना छाप्थे । पत्रिकाहरू सीमित थिए । हामी आफ्नो पठन क्षुधालाई शान्त पार्न हप्ता दिन पर्खन्थ्यौं ।

मैले अनलाइनमा सबैभन्दा पहिले रचना प्रकाशित गरेको समकालीन साहित्य डटकममा हो । जो बेलायतबाट होष्ट हुने गर्छ । यद्यपि त्यसको भच्र्युअल अफिस धरानमा छ भन्ने सुनेको हूँ देखेको होइन । जे होस् मलाई अनलाइन रचना पोष्ट गर्न समकालीन साहित्यको ठूलो गुन छ । त्यपछि मझेरी डटकम्, इमेज खबर डटकम् र पूर्वेली न्यूज डटकम्ले औधी गुन लगाएका छन् ।

मैले अनलाइनमा सबैभन्दा पहिले रचना प्रकाशित गरेको समकालीन साहित्य डटकममा हो । जो बेलायतबाट होष्ट हुने गर्छ । यद्यपि त्यसको भच्र्युअल अफिस धरानमा छ भन्ने सुनेको हूँ देखेको होइन । जे होस् मलाई अनलाइन रचना पोष्ट गर्न समकालीन साहित्यको ठूलो गुन छ । त्यपछि मझेरी डटकम्, इमेज खबर डटकम् र पूर्वेली न्यूज डटकम्ले औधी गुन लगाएका छन् ।

संसार एक क्लिकमा खुल्छ र बन्द हुन्छ । हामी लेखनमा लागेर निकै लामो समयदेखि अनुभव हासिल गरेका लेखकहरूले स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय माध्यम हुँदै अहिले लाखौं पाठक र शुभचिन्तकहरू कमाएका छौं । यो लेखक र नेपाली साहित्य दुवैका लागि खुसीको कुरो हो । यसमा अनलाइनहरूलाई विशेष साधुवाद दिनै पर्छ ।

समाज विकासको यो चरणमा आइपुग्दा अहिले विधि भन्दा प्रविधि हौसिएको अवस्था छ । अहिले देशदेशावर पुगेका आफन्त र साथीभाइहरूको शुभेच्छा र हौसलालाई बर्करार राख्न अनलाइन न्यूजका माध्यमहरूले धेरै मद्दत गरेका छन् । जसमध्य मेरो लेखन करिअरमा पूर्वेली न्यूज डटकम पनि अति सहयोगी सावित भएको छ ।
मलाई हप्ताको एउटा लेख लेख्ने सेड्युल मिलाएर पूर्वेली न्यूजले समसामयिक र राजनीतिक विषयवस्तुहरूमा बेधडक लेख्ने अवसर दियो । मैले गत २०७२ सालदेखि निरन्तर रूपमा पूर्वेली न्यूजमा लेखिरहेको छु । त्यसबीचमा इमेज खबर डटकम् र मझेरीमा पनि रचनाहरू पोष्ट भैरहेका छन् । धेरै म्यासेज र कमेन्टहरूले इमेल बक्स भरिन्छ । सो सबै हेर्दा र पढ्दा आनन्दको संचरण हुन्छ ।

पूर्वेली न्यूज डटकम्का सम्पादन समूहको हौसला र मेरो लेखन चाहनाले मैले देशभित्र र बाहिर धेरै फ्यानहरू समेत बनाएको रहेछु । विभिन्न खालका सुझाव र हौसलाहरूले लेखन यात्रालाई अझि परिमार्जन र फराकिलो पार्न मद्दत गरेका छन् ।

मैले इमेजखबर डट कम्मा सम्पादक ठाकुर बेल्वासेको अनुरोध र पूर्वेली न्यूज डटकम्मा सम्पादक सुरेशराज दहालको डेटलाइनलाई मानेर सयौं लेखहरू लेखिसकेको छु । देशमा पठन संस्कृतिको यति धेरै विकास भैसक्यो कि पाठकहरू देश विदेशमा घट्ने ससाना घटनाहरूको नवीन जानकारीका लागि दिन र हप्ता कुर्ने धैर्यता गर्न सक्दैनन् । अहिले क्षणपलमा विश्वमा भैरहेका अनेक प्रकारका घटनालाई अनलाइन न्यूजहरूले विश्वभर फैलाइरहेको अवस्था छ ।

मलाई नियमित लेखनमा अवसर र चुनौति दिने अनलाइनहरूलाई सम्झँदा म पूर्वेली न्यूज डटकमलाई सम्झन्छु । सबै प्रकारका अनलाइनहरूमा गरी अहिलेसम्म मेरा दुई हजारभन्दा बढी आर्टिकल र रचनाहरू पोष्ट भैसकेका छन् । अतः चौथो वर्ष प्रवेशको उपलक्ष्यमा पूर्वेली न्यूज डटकम्को प्रकाशनको दीर्घ जीवनको शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित