विदेशमा हराएका परदेशीका परिवारले के गर्ने ?

परिवारको सदस्य आफू भन्दा टाढा विदेश जाँदा उसका परिवारका सदस्यलाई यसै त नियास्रो हुन्छ । परदेशी सम्पर्कविहिन हुँदा उसका परिवारका सदस्यलाई ठूला आघात पर्छ । बालबालिकामा शिक्षा र पालनपोषणमा असर पुग्छ । यसैमाथि विदेश गएको व्यक्ति सम्पर्कविहीन हुँदा उनीहरुको तनाव झनै बढ्छ ।

परदेशी सम्पर्कविहीन हुने कारणहरु विदेशमा सम्झौता अनुसारको काम र कमाई नहुनु, परिवारमा तनाव र विपत्ति आउनु, जेलमा परेर सम्पर्क गर्न नसक्नु, सडक वा काम गरिरहेको ठाउँमा दुर्घटनामा परेर होस गुमाउनु, कुलतमा फस्नु, कानुनी प्रक्रिया र जनसम्पर्कमा आउन सक्ने अवस्था नहुनु, मरुभूमी तथा दुर्गम क्षेत्रमा काम गर्नु नेपालीहरु सम्पर्कविहिन हुनुका कारण हुन् ।

अर्को कारण रमाइलोमा भुल्नु अनि उतै अर्को विहे गरेर बस्नु पनि हो । यस्तो अवस्थामा परदेशी र उनीहरुका परिवारले केही उपाय अपनाउन सक्छन् ।

कुलप्रसाद कार्की/अध्यक्ष, प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)

हराएका परदेशीका परिवारले सबै भन्दा पहिले हराएको व्यक्तिको पासपोर्ट नम्बर र ऊ कुन देश गएको हो यकिन गर्नुपर्दछ । त्यो देशमा काम गर्ने वा गरिरहेका व्यक्तिहरुसँग सम्पर्क गर्नुपर्दछ ।

सरकारी निकायहरु वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्दछ ।

यदी पैसा कमाउन नसेका  कारण सम्पर्कमा आउन नसकेको हो भने उसलाई घर फर्किंदा पनि कुनै किसिमको दवाव गर्दैनौं भनेर परिवारले विश्वास दिलाउनु पर्दछ ।

वैदेशिक रोजगारीमा गएका कामका क्षेत्रमा काम गर्ने प्रवासी नेपाली समन्वय समिति  जस्ता संघसंस्था मार्फत पहल गर्ने, सञ्चार माध्यममा खबर प्रकाशन प्रशारण गर्ने अनि सामाजिक सञ्जाल मार्फत सन्देश पठाउन सके हराएका परदेशीलाई सम्पर्कमा ल्याउन सकिन्छ ।

तर सामाजिक सञ्जाल मार्फत यस्तो सन्देश पठाउँदा परदेशमा हुनेहरुलाई थप पीडा हुने खालका भन्दा पनि हामीलाई तिम्रो आवश्यकता छ भन्ने तरिकाले दिनुपर्दछ । नयाँ खिचिएका परिवारका तस्बिर उसम्म पुर्याउन सकियो भने पनि उसलाई परिवारप्रति माया जगाउन सकिन्छ ।

परिवारसँगै परदेशीले पनि केही सोच्नै पर्छ । यदी खराब संगतमा पर्नुभएको छ भने त्यस्तो संगत छोडेर संघ संस्थाको सम्पर्कमा आउनुपर्छ । यदी बाध्यतामा परेको छ भने त्यो बाध्यता साथीभाई वा संघसंस्थाका प्रतिनिधिलाई भन्नु पर्दछ ।  दुतावाससँग सहयोग माग्नु पनि अर्को उपाय हो ।

अनि परदेशीले परिवार जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने सम्झिनु पर्छ । आफूले गल्ती गरेकै छ भने पनि परिवारले त्यो गल्तीलाई माफ गर्दिन्छन भन्ने सकारात्मक सोच परदेशीले राख्ने हो भने यस्तो समस्या कम हुने थियो । उज्यालाे अनलाइनकाे सहयाेगमा 

प्रतिक्रिया

सम्बन्धित