जब राजा वीरेन्द्र रिसाए

विसं २००४ सालमा महिला संघ स्थापनमा भूमिका खेलेकी थिइन् शान्ता श्रेष्ठले । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेकी श्रेष्ठ अहिले ८४ वर्षकी भइन् । तर पनि उनको उत्साह उस्तै छ । ‘म एक्लै छु मलाई स्यहारसुसार गर्ने कसैको जरुरत छैन,’ उनले भनिन् । पहिलो संविधानसभा निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारसमेत रहेकी श्रेष्ठ महिलालाई सचेत बनाउने बनाउने काममा सधैं अग्रसर भइन् । २०४६ सालको आन्दोलनमा पनि उनको भूमिका अहं थियो । ३० वर्षभन्दा बढी रेडियो नेपालमा करारमा काम गरेकी  श्रेष्ठका अनुभूति :

म महिलाको अधिकारबारे सचेत थिएँ । तर, तत्कालीन समयमा राणाकालमा महिलाहरूलाई सचेत बनाउन निकै गाह्रो थियो । प्रचार सामग्री केही थिएन । महिलाहरूलाई केही न केही सन्देश दिऔं भनेर रेडियो नेपालमा काम गर्न थालें । करारमा काम गर्दा मेरो सुरुको तलब थियो ७५ रुपैयाँ । अर्को कुरा म सानैदेखि संघर्ष गरेर आएको मान्छे । तलब खानेभन्दा पनि आमनागरिकलाई सचेत बनाउन चाहन्थे । काम गर्दै जाँदा २०१८ साल आयो । जनार्दन सम रेडियोका निर्देशक हुनुहुन्थ्यो । म बीकम पढ्दै थिए । स्थायीका लागि जाँच दिएँ । रिजल्ट गर्दै गरेनन् । ३५ वर्ष करारमै काम गरें । अन्तिममा त्यत्तिकै बिदा भएँ रेडियोबाट ।

रानी ऐश्वर्याले भनिन्, ‘यिनले ज्यालामा काम गरेको १८ वर्ष भयो रे ।’ रानीको कुरा सुनेपछि राजा वीरेन्द्र रिसाएजस्तो गरे र मलाई सोधे, ‘कति पढेकी छौ ?’

राजा वीरेन्द्र र रत्नसँग पनि मेरो सम्बन्ध राम्रो थियो । ४०÷४२ सालतिर राजा वीरेन्द्र पाँच विकास क्षेत्रको भ्रमण गर्थे । २०४२ सालमा काठमाडांै उपत्यका भ्रमण गर्ने सिलसिलामा रेडियो नेपाल पनि घुम्नखबर आयो ।राजा आउने खबर पाउनेबित्तिकै सबै सीआईडी मेरै कोठामा आए । यसले राजालाई केही भन्छे कि भनेर चिन्तित थिए । भोग्यप्रसाद शाह रेडियो नेपालका निर्देशक थिए त्यति बेला । उनी १६ वर्ष जति निर्देशक भए । राजा वीरेन्द्र आउने खबर पाउनेबित्तिकै उनले मलाई बोलाएर भने, ‘शान्ताजी तपाईंलाई स्थायी गर्ने कुरा हाम्रो प्रतिवेदनमा उल्लेख भइसकेको छ । तपाईंलाई म स्थायी गर्छु । कसैलाई केही नभन्नुहोला ।’‘तपाईंले गर्नुहुन्छ भनेर म विश्वासै गर्न सक्दिनँ । १६ वर्षसम्म गर्नुभएन कसरी विश्वास गर्ने,’ मैले भनें । उनले यसपालि जसरि पनि गर्छु भने तर मैले पत्याएको थिइनँ ।

राजा रेडियोमा आए । मेरो ड्युटी मास्टर्स रुममा थियो । महेश अधिकारी भन्ने इन्जिनियर पनि थिए । राजा मास्टर्स रुममै आए । आएपछि परिचय त गराउनैप¥यो । मैले राजालाई नमस्कार गरेंं । राजाले खासै वास्ता गरेनन् । यसो हेरेर बाहिर निस्किएँ । अनि मैले रानी ऐश्वर्यासँग कुरा राखें, ‘सरकार मैले त काम गरेको १८ वर्ष हुन लाग्यो । म त अहिलेसम्म करारमा छु ।’ रानीलाई कुरा सुनाएको थाहा पाएपछि भोग्यप्रसाद रातोपिरो भए ।रानीले ‘यो कुरा मलाई भन्ने होइन, राजालाई भन्नू’ भन्दै राजातिर देखाइन् । राजा बाहिर जानै लागेका थिए । रानीले भनिन्, ‘ह्यर इज अ मेन प्रोब्लम ।’ राजा मतिर फर्किए ।रानीले भनिन्, ‘यिनले ज्यालामा काम गरेको १८ वर्ष भयो रे †’ रानीको कुरा सुनेपछि राजा रिसाएजस्तो गरे र मलाई सोधे, ‘कति पढेकी छौ ?’ मैले भनें, ‘एमकम गरेकी छु ।’

राजाले भने, ‘हाम्रो जस्तो विकासोन्मुख मुलुकमा यस्तो हुन्छ । यतिका वर्ष त काम ग¥यौ, अब केही समय धैर्य गर ।’मैले भनें, ‘सरकार दुई वर्षअघि पनि हजुर यसैगरी आउनुभएको थियो । मैले बिन्तीपत्र हालेको थिएँ ।’ त्यसपछि राजाले रिसाएर सोधे, ‘किन नगरेको चिरन ?’ चिरन थापा भन्ने राजाका प्रिन्सिपल सेक्रेटरी थिए । चिरन पनि डराएर भने, ‘शान्ताजी तपार्इंको अझै स्थायी भएको छैन र †’ मैले भनें, ‘स्थायी भएको भए म किन भन्थें र †’
फेरि सोधे, ‘साँच्चै भएको छैन र †’ मलाई पनि रिस उठ्यो । अनि मैले भनें, ‘राजा र रानीको अगाडि किन नाटक गर्नुहुन्छ ? मेरो स्थायी रोकेर के पाउनुहुन्छ ?’
राजाले भने, ‘भैगोभैगो, ल अब कहिले बोलाउने ?’ चिरनतिर हेरेर राजाले सोधेपछि चिरनले भने, ‘एक सातापछि बिहीबार २ बजेलाई टाइम दिएँ ।’राजाले फेरि सोधे, ‘२ बजे कहाँ ?’‘पश्चिम गेटमा,’ उनले जवाफ दिए ।राजाले भने ‘२ बज्न पाँच मिनेट बाँकी हुँदैमा आउनू । काम भएनभएको मलाई रिपोर्ट गर्नू ।’ राजा ढोकाबाट फर्केर गइसकेका थिए । फेरि फर्केर आएर भने, ‘तिमीले नबिर्सनू २ बज्न केही मिनेट बाँकी हुँदा आउनू ।’
०००
जुन दिनको लागि बोलाइएको थियो त्यही दिन म १० मिनेट बाँकी हुँदैमा पुगें । म जाँदा चिरन थापा आइसकेका रहेछन् ।चिरन थापा पुरै रिसाएका रहेछन् । चिरनले ठूल्ठूला आँखाले हेरे । अनि रिसाउँदै भने, ‘खोइ त तिम्रो सचिव तिम्रो मन्त्री ?’मैले ‘किन र ?’ भनेर सोेधें । तपाईं त्यत्रो राजारानीलाई ठाडै कम्प्लेन गर्न सक्ने मान्छेको त पछिपछि लागेर आउनुपर्ने होइन र मन्त्री र सचिव । ऊ त राजालाई कुरा लाएको भनेर मसँग फायर रहेछ ।

मैले किसुनजीलाई भनें, ‘पञ्चहरूकै जुलुसमा हाम्रा केही मान्छे घुसाइदिऊ“ ?’ उनीहरू पञ्चायती व्यवस्था भन्छन् हाम्रा मान्छेले मुर्दावाद भन्छन् । त्यसपछि गोलमाल भइहाल्छ

०००
रेडियो नेपालमा विभिन्न कार्यक्रम थिए । बाल कार्यक्रम, धार्मिक कार्यक्रम, महिला कार्यक्रम । बोर्डले एउटा निर्णय गरेको थियो, जुन कार्यक्रममा सबभन्दा धेरै पत्र आउँछ, त्यसलाई १ हजार पुरस्कार दिने भनेर । निरोधराज पाण्डे (उहाँ बितिसक्नुभयो) ले हजार रुपैयाँ पुरस्कार पाउनुभयो । पछि थाहा भयो । उहाँले १८ वटा चिठी आफंैले आफ्नो कार्यक्रममा लेख्नुभएको रहेछ । पुरस्कार दिने दिन चिया बिस्कुटसहित कार्यक्रम राखिएको रहेछ । म पनि गएँ कार्यक्रममा । कृष्णबहादुर खत्री भन्ने चिफ इन्जिनियर थिए । उनले भने, ‘हत्तेरी पाण्डेजी आफैंले चिठी लेखेर पनि पुरस्कार लिने हो † म त ५ सयभन्दा दिन्नँ भने ।’ चोरलाई पनि पुरस्कार दिएको भन्दै उठेर आएँ । चिया त खाएर जानुस् भन्दै थिए । म बस्दिनँ भन्दै उठेर हिँडे ।

रेडियो नेपालका बेथितिका कुरा गरिसाध्यै र भनिसाध्यै छैन । स्थायी कर्मचारीहरू तीन चार ठाउँमा काम गर्थे । हप्तामा एक दिन आएर हाजिर गर्थे । अल्छी उस्तै । चाकडी र चाप्लुसीमा मरिहत्ते गर्ने । मेरो चाहिँ एक दिन नगए पनि तलब काटिन्थ्यो ।त्यति हुँदाहुँदै पनि म के कुरामा सन्तुष्ट छु २०४६ सालको आन्दोलनपछि नेपालमा कतै पनि कर्मचारी संघ÷संगठन थिएनन् । रेडियो नेपालमा सबभन्दा पहिला कर्मचारी युनियन गठन गरें । अत्यधिक बहुमतले मैले जितें ।पञ्चायत कालमा मैले सोचें । यो मेरो जागिरभन्दा पनि अभियान हो । यो व्यवस्था ढाल्नुपर्छ भन्ने थियो । प्रजातन्त्र आएपछि स्थायी भइहाल्छु भन्ने थियो ।
०००
मेरो घर अगाडि पान पसल थियो । कृष्णप्रसाद भट्टराईजी हरेक दिन पान खान आउनुहुन्थ्यो । किसुनजीले शान्ताजी भन्नुहुन्थ्यो । म ५ रुपैयाँको नोट खसालिदिन्थें । त्यही पैसा पान पसलमा दिनुहुन्थ्यो किसुनजी । यसको अर्थ यो होइन कि उहाँले मलाई सम्मान पनि गर्नुहुन्थ्यो । हाम्रो दोस्ती राम्रो थियो ।
२०४६ सालको आन्दोलनको कुरा गर्दा । कृष्ण प्रसाद भट्टराईले काठमाडौंको आन्दोलनको जिम्मा लिनुभएको थियो । मास आउँदैन कि भनेर उहाँ असाध्यै चिन्तित हुनुुहुन्थ्यो । मलाई किसुनजीले बोलाउनुभयो । उहाँ बखुण्डोलमा बस्नुहुन्थ्यो ।म जाँदा ज्ञानेन्द्रबहादुर कार्की अरू दुई जना मान्छेसँग कुरा गर्दै हुनुहुँदो रहेछ । मलाई देख्नेबित्तिकै उहाँहरूलाई ठाडै बाहिर जान भन्नुभयो । अलि अप्ठ्यारो मानेर बाहिर गए ।मैले किसुनजीलाई भने, ‘कस्तो रूखो स्वरमा हप्काउनुभएको ?’ उहाँले भन्नुभयो, ‘तपाईंलाई थाहै छैन, यहाँ कस्ताकस्ता सीआईडी आउँछन् ।’हाम्रो कुराकानी फागुन ७ को जुलुसको विषयमा केन्द्रित थियो । किसुनजीले मलाई भन्नुभयो, ‘तपाईं त काठमाडौंको लोकल मान्छे नातागोतालाई बोलाएर भए पनि कम्तीमा २ सय मान्छे सडकमा उतार्नुप¥यो ।’ मैले भनें, ‘तपार्इं नआत्तिनुस् ।’ त्यही दिन पञ्चहरूले पनि जुलुस निकाल्दै थिए । मैले किसुनजीलाई भनें, ‘पञ्चहरूकै जुलुसमा हाम्रा केही मान्छे घुसाइदिऊँ ? उनीहरू पञ्चायती व्यवस्था भन्छन् हाम्रा मान्छे मुर्दावाद भन्छन् । त्यसपछि गोलमाल भइहाल्छ ।’

मैले उहाँलाई अर्को कुरा पनि भनें, ‘८ बजे बेलुका मेरो रेडियो नेपालमा ड्युटी पर्छ । तपाईं मलाई राष्ट्रको नाममा सन्देश लेखेर दिनुस् म पढ्दिन्छु ।’ मेरो कुरा सुनेर किसुनजी औधी खुसी हुनुभयो । मैले उहाँलाई यो पनि भनें, ‘तपाईंले मलाई दिने सन्देश कार्यसमितिबाट पास गराएर पठाउनू ।’ उहाँले बेलुकासम्म सन्देश पठाउँछु भन्नुभएको थियो । दिउँसो घरमै नजरबन्दमा परिहाल्नुभयो । अन्य नेताहरू घरमै नजरबन्दमा परिहाले । चितवनको मैयाँ दिदीले किसुनजीलाई सबभन्दा राम्रो चामल पठाउनुहुन्थ्यो । घ्यूदेखि केके पठाउनुहुन्थ्यो ।

ध्रुव लम्सालसँगको कुराकानीमा आधारित राजधादी दैनिकबाट साभार

प्रतिक्रिया

सम्बन्धित