खरेलको ‘अक्षरमा मान्छे’ माथि विमर्श

इटहरी । कवि तथा पत्रकार रामप्रसाद खरेल कृत कविता संग्रह ‘अक्षरमा मान्छे’ माथि शनिबार विमर्श सम्पन्न भएको छ । विश्व आदर्श कलेज इटहरीको आयोजनामा कलेजको सभाहलमा सम्पन्नमा विमर्शमा वक्ताहरुले खरेलको कृति सकारात्मक सोँच र जीवनको खोजको सम्मिलन भएको बताए । कृतिमाथि टिप्पणी गर्दै प्रा.डा. भिम खतिवडाले सरल र सरश शैलीका कारण खरेलका कविताहरु जीवनवादी ठहरिएको बताए । आमाको आँशुलाई उर्जा र बुबाको मृत्युको शोकलाई शक्तिमा बदल्न सक्ने क्षमताका कारण राम खरेलले जीवन भोगाईका सुन्दर सिर्जनाहरु पस्किन सकेको उनले बताए ।

अर्का टिप्पणीकार कवि मनु मन्जिलले राम खरेल सानै उमेरदेखि प्रखर कवित्व लिएर हिँडिरहेको व्यक्ति भएको उल्लेख गर्दै पछिल्लो समयमा उनी कवितामार्फत जीवनको दर्शन अभिव्यक्त गरिरहेको बताए । खरेलको अक्षरमा मान्छे संग्रहका कविताहरुमा निराशा, हिनता र कमजोरीको साटो उत्साह, जाँगर र सकारात्मक सोँचको फेहरिस्त पाइने उनले बताए ।


कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ उपेन्द्र पागलले युग बोल्ने थोरै कविहरु मध्ये राम खरेल एउटा नाम भएको उल्लेख गर्दै सिर्जनाको उर्वर अवस्था हेर्दा खरेलको भविष्य सम्भावनाले भरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित