अदृश्य अबोधहरू – विजयराज पन्त

समावेशी लोकतान्त्रिक शासन व्यवस्था अनुरूप राज्यका सबै क्षेत्रमा तेत्त्तीस प्रतिशत महिला सहभागिताको कुरा हुँदै गर्दा मुलुक भित्रकै कुनै भूखण्डमा तेत्तीस प्रतिशत बालिका जन्मदर कमितर्फ समाज अग्रसर देखिनुले सोचनीय अवस्थाको सङ्केत गरेको छ । यो छोटो अनुसन्धानमा सो कुरालाई समेटने प्रयास गरिएको छ । पछिल्ला दशकहरूमा चीन लगायतका देशहरूमा लिङ्ग छनोटमूलक गर्भपतन (Sex Selective Abortion) का कारणले बालिका जन्मदरमा उल्लेख्य कमि आइरहेको सन्दर्भमा यस्तै क्रूरताका बाछिटाहरू नेपाली समाजमा देखिएको विषय नौलो होइन । विश्वव्यापी रूपमा नै जन्मदरको अवस्थालाई झल्काउने बलियो माध्यमका रूपमा जन्मदर्ताको विद्यमान् स्थितिलाई लिइन्छ ।

यही सन्दर्भमा, पश्चिम क्षेत्रका चार जिल्लाका एक्काइस साविक गाविसहरूमा गरिएकोे अध्ययनले जन्मदरमा लैङ्गिक अनुपातको अवस्था कहाली लाग्दो रहेको देखाउँछ । यही सन्दर्भमा, पश्चिम क्षेत्रका चार जिल्लाका एक्काइस साविक गाविसहरूमा गरिएकोे अध्ययनले जन्मदरमा लैङ्गिक अनुपातको अवस्था कहाली लाग्दो रहेको देखाउँछ ।  बाँके, बर्दिया, कैलाली र सुर्खेत जिल्लाका २१ वटा साविक गाविसहरूले वि.सं. २०७३ मा तयार गरेको वस्तुगत विवरण (प्रोफाइल) मा उल्लेखित गत वर्षको जन्मदर्ता सम्बन्धी विवरण अनुसार जन्मदरमा लैङ्गिक अनुपात ११७.४४ (११७ बालक जन्म हुँदा १०० वालिका जन्म भएको अवस्था) रहेको देखिन्छ ।

 लिङ्ग छनोटमूलक गर्भ पतनको विश्वव्यापी सन्दर्भ :

औषधि विज्ञानको विकास सँगै भ्रूण लिङ्ग पहिचान गर्न सक्ने अल्ट्रा सोनोग्राफी प्रविधिको आविष्कार र प्रयोगले युरोपदेखि पूर्वी तथा दक्षिण एसियाका कतिपय देशहरूमा बालिकाको जन्मदरमा उल्लेख्य कमि आएको छ । सन् २०१६ मा तयार गरिएको अमेरिकी संस्था सिआइएको विवरण अनुुसार जन्मदरमा लैङ्गिक अनुपातको अवस्था हेर्दा चीनमा ११५, भारतमा ११२ र भियतनाम १११ रहेको देखिन्छ ।

त्यसैगरी, युरोपियन देशको सवालमा लिच्तेनस्तेनमा सबैभन्दा बढी असन्तुलित लैङ्गिक अनुपात १२६ र अन्य उच्च दर रहेका देशमा सानमरिनो ११०, अजरबैजान १११ र अरमेनिया ११३ रहेको देखाउँछ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको सन् २०१२ को तथ्याङ्कले पाकिस्तानमा यस्तो दर ११२ रहेको देखाउँछ जहाँ सरकारले नै यो दर १११ रहेको स्वीकार गरेको छ ।

विश्वका कतिपय देशहरूमा जन्मदरमा लैङ्गिक अनुपात १०८ सम्म हुनु स्वीकार्य मानिन्छ । विश्वव्यापी रूपमा नै सामाजिक तथा साँस्कृतिक मान्यतालाई यस खालको गर्भपतनका लागि मुख्य कारकका रूपमा लिइएको छ । तथापि, चीनको सवालमा सन् १९७९ देखि २०१५ सम्म रहेको एक सन्तान नीतिलाई यो प्रवृतिका लागि बढी जिम्मेदार मानिन्छ ।

नेपालमा गर्भ पतनको प्रवृत्ति :

ऐतिहासिक कालदेखि नै गर्भपतनलाई धार्मिक रूपमा महापाप र कानुनी दृष्टिले जघन्य अपराध मानिन्थो । हिन्दूग्रन्थ कै कुरा गर्दा मनु स्मिृतिमा गर्भवतीका लागि पोषण, सुविधा र सुरक्षामा विषेश प्राथमिकता हुनुपर्ने कुरालाई जोड दिएको छ । त्यसैगरी, मनु स्मृतिको पाँचौँ अध्यायमा गर्भ पतनलाई गम्भीर अपराधका ठानी यस्तो कार्यमा सङ्लग्न व्यक्ति सँधै धार्मिक कार्यमा समेत अपवित्र हुने उल्लेख छ । वि.सं. १९१० को मुलुकी ऐनमा गर्भपतन गर्ने गराउनेलाई १ वर्ष कैद तथा पानी नचल्ने सजायको व्यवस्था गरिएको थियो ।

हालको मुलुकी ऐनमा गर्भपतन गराएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरी कानुनी रूपमा निषेध गरे तापनि मुलुकी ऐनको एघारौं संशोधनले वि.सं. २०५९ मा गर्भ पतनलाई विशेष परिस्थितिका लागि वैधानिकता दियो । जसअनुसार गर्भ बोक्ने महिलाको मञ्जुरीले बाह्र हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ त्यस्तो गर्भ बोक्ने महिलाको मञ्जुरीले र गर्भपतन गराएमा गर्भ बोक्ने महिलाको ज्यानमा खतरा पुग्न सक्तछ वा निजको स्वास्थ्य शारीरिक वा मानसिक रूपले खराब हुन सक्तछ वा विकलाङ्ग बच्चा जन्मन्छ भन्ने प्रचलित कानुन बमोजिम योग्यताप्राप्त चिकित्सकको राय भई त्यस्तो महिलाको मञ्जुरीले गर्भपात गराउन सक्ने कुरा उल्लेख छ तथापि लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ ले मुलुकी ऐनमा संशोधन गरी कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ् पहिचान हुने कुनै काम गर्ने गराउने कार्य गरेमा तीन महिनादेखि छ महिनासम्म कैद हुने प्रावधान राखेको छ ।

सोही संशोधनले लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउने व्यक्तिलाई छ महिनादेखि दुई वर्षसम्म कैद हुने व्यवस्था समेत गरेको छ । कानुन बमोजिम र स्वास्थ्य संस्था सम्मको सहज पहूँच कारणले भन्दा अनिच्छित गर्भाधारण र छोराको चाहनाले गर्भ पतनको अवस्था दिनानुदिन भयावह हुँदै गएको विभिन्न अध्ययनहरूले देखाएको छ । संयुक्त राष्ट्र संघीय बाल कोषको अनुमान अनुसार हरेक वर्ष सत्तरी हजारभन्दा बढी गर्भपतन भ्रुण पहिचानबाट बालिका भएको कारणले हुने गरेको दर्साउँछ ।

सन् २०१२ मा गरिएको एक अध्ययनले २४५ वटा स्वास्थ्य संस्थाले गर्भ पतन गराउने अनुमति लिएको देखाउँछ । तर गैर कानुनी रूपमा गर्भपतन गराउने क्लिनिकको संख्या निकै उच्च रहेको छ । यस्तो गर्भपतन लुकीछिपी र अवैध संस्थाबाट बढी हुने गरेको बताइन्छ । अनगिन्ती निर्दोष चेलीहरू जन्मपूर्व नै निर्ममतापूर्वक देहत्याग गर्न विवश गराइएका छन् ।

असन्तुलित जन्मदर :

पश्चिम नेपालका बाँके, बर्दिया र कैलाली जिल्लाका पाँचपाँच तथा सुर्खेत जिल्लाका छ गरी कूल २१ साविक गाविसको जन्मदर्तामा आधारित विवरण अनुसार जन्मदरको लैङ्गिक अनुपातले लैङ्गिक असन्तुलनको विकराल अवस्थातर्फ उन्मुख भएको देखाउँछ ।

जनगणना २०६८ सालको तथ्याङ्क अनुसार यस क्षेत्रका चार वर्ष मुनिको जनसंख्याको लैंगिकअनुपात औषत १०५.५२ रहेको देखिन्छ । यस अवधिमा जिल्लागत रूपमा यो दर बाँकेमा १०४.५६, बर्दियामा १०५.७३, कैलालीमा १०६.१८ र सुर्खेतमा १०५.२९ रहेको छ । तर २०७३ सालको वस्तुगत विवरणमा उल्लेखित जन्मदर्ता विवरण विश्लेषण गर्दा जन्मदरमा लैङ्गिक अनुपात औषत ११७.३८ रहेको देखाउँछ ।

जस अनुसार सबै भन्दा उच्च बाँके जिल्लामा १२७.४४ रहेको छ भने सबैभन्दा न्यून कैलाली जिल्लामा १०९.१५ रहेको देखिन्छ । त्यसैगरी, सुर्खेत र बर्दियामा क्रमशः १२४.३ र ११८.१७ रहेको छ । एक्काइस साविक गाविसहरू मध्ये कैलालीको बसैटीमा मात्र बालिकाको जन्मदर्ता उच्च रहेको छ जहाँ कूल जन्मदर्ता २०० मध्ये १०४ वा लैङ्गिक अनुपात ९२.३ रहेको छ । अध्ययनको क्षेत्र र जन्मदरको अवस्था सम्बन्धी विवरण देहाय बमोजिमको तालिकामा उल्लेख गरिएको छ ।


अन्तमा :
नियतिवादले प्रकृतिलाई सन्तुलनको सर्जक मान्यो तर मानिसले चुनौति दियो र असन्तुलनको कारक बन्यो । प्राकृतिक नियम, नैतिकता र न्यायको मर्मसँग मेल नखाने सामाजिक मान्यता विश्वव्यापी वा स्थानिक रूपमा मौन तर जटिल रूपमा विद्यमान् रहे ।  धर्मले भु्रण हत्यालाई गम्भीर पाप मान्यो । कानुनले अपराध ठान्यो । तर सामाजिक मनोविज्ञानमा छिपेको पुत्र मोहले धर्म र कानुनका मान्यतालाई स्खलित गरायो । लिङ्ग पहिचान र भ्रुण हत्याले अपराधी प्रवृतिको प्रोत्साहनसँगै सामाजिक असन्तुलन र समस्याको नयाँ शृङ्खला सुरू भए । देवीका लागि मन्दिरहरू बनी रहे, आराधना भई नै रह्यो तर जीवित देवीहरू गर्भबाटै निमोठिएर फालिए ।

देवीतुल्य बालिकाको पूजा गर्ने हिन्दू मान्यता पनि हिन्दू समाज मै ओझेलमा प¥यो । फलतः राज्यका महत्वपूर्ण स्थानमा महिलाको सहभागिता र उपस्थिति माथि गर्व गर्ने समकालीन समाज गर्भ भित्रका अबोधहरू माथि भने निर्मम देखियो ।

प्रतिक्रिया

सम्बन्धित