सानी अनि बुढीखोला – सुकदेव घिमिरे

  •  सुकदेव घिमिरे

मस्त निन्द्रामा छ शहर
चैनको निन्द्रामा सुतिरहेछन सबै
केवल उ बिउझो छे
सानी ।
एउटा पालको टहरो भित्र
चिलाउने म्याट्रेस माथी
हातको शिरानी लगाएर
जसो तसो निदायो , सानो भाइ
शहर सबै झलमल्ल छ
तर
खण्डहर बनी सकेको उस्को पुरै बस्ती
अन्धकारमा डुबेको छ ।
यहि माटो हो उन्को बुवालाइ खाने
तीन दिन पछि डोजरले निकालेको
क्षत बिक्षत लाश
यहि ठाउँ बाट लग्यो उनकी आमालाइ
उर्लदो भेलले
फेरि कहिल्यै फर्काएर नल्याउने गरि ।
ढुङ्गाको काप बाट निकालिएको
सहोदर दिदिको त्यो मृत शरीर ।
कसरी सक्नु बिर्षिन !
भुस्याहा कुकुर बाहिर सल्याङ्ग बल्याङ्ग गरिरहेछन
सायद पुरिएका जनावरको शिनो
इनिहरुको नाकले
नजिकै कतै पत्ता लगाएको छ ।
अनि केही भुस्याहा दुई खुट्टे
जो प्राय सानीको
या सानीको जवानिको
गन्धे लोभले
वर पर गरिरहेछन
आधा रात सम्म ।
हिजो सम्म त शिबिरमा जसोतसो
आफ्नो पेटको
अनि अल्लारेको मनको
भोक
जसो तसो टर्दै थियो
तर अब ?
सानो , निरीह भाइको जिन्दगी
आनि आफ्नो यौबन
दुबै धरापमा छन ।
” हे भगवान !
फेरि ल्याइदेउ
एउटा ठूलो भेल
अनि हुत्याइदेउ पर
म अनि मेरो भाइ दुबैलाइ
बस्नु छैन मलाइ यहाँ
बाच्नु पनि किन छ र !
बरु जान्छौ हामी पनि
त्यही
जहाँ तिमिले
मेरा बाबुआमा
अनि मेरि दिदिलाइ पुर्यायौ ”
सानी इश्वरलाई पुकार्छे
अनि आँसु झार्छे ।
रात भरी
त्यही बुढीखोलाको बगरमा
जहाँ कयौ सानीहरु
यत्र तत्र छन
अलपत्र छन ।।

 

प्रतिक्रिया

सम्बन्धित