महिला हिंसामा राजनीतिक संरक्षण

नारीअधिकार , बालअधिकार प्राप्त र लागु गर्न कठीन र मुस्किल छ । दिनहुँ बालिकाहरु बलात्कार हुँदै मारिएका छन ,अनि राज्य कानमा तेल हालेर बसेको छ । अचम्म त त्यती बेला लाग्छ जब देशका ठुला मिडियाहरु घटनालाई अतिरञ्जित पार्न खोज्दछन् , माडी घटना यसको प्रमाण हो । कान्तिपुर जस्तो ब्रान्ड मिडियाले बलात्कार पुष्टि नभएको समाचार जुन प्रकाशित गर्‍यो , यसले पुष्टि गर्‍यो कि अझै हामी पितृसत्तात्मक राज्य भित्रको लैङ्गिक विभेदमा छौ ।

एउटा नारी घरबाट बजार पुग्दा , आफ्नो इज्जत र पहिचान गुमाएर घर अाइपुग्नु पर्ने र अझै परिवार समाजबाट तिरष्कृत हुनु पर्ने जुन अवस्था आज देखा परेको छ त्यो विडम्बनाको बिषय हो । बलात्कारको शिकार हुने जुन सुकै महिला पनि त्यो कसैको आमा , कसैको छोरी र कसैको बुहारी हो , हाम्रा दाजुभाई किन त्यो अपराध र अपराधी विरुद्ध किन बोल्न सक्दैनन ?

सावित्री सुवेदी (सगरमाथाकी छोरी)

के महिला प्रयोगको साधन मात्र हुन त ?
आमालाई जब सम्म हामीले बुझ्न सक्दैनौ तबसम्म नारी अस्तित्वको पक्षमा हामी लड्न सक्दैनौ । महिलाले गर्ने घरयासी कामलाई अनुत्पादक कामको रुपमा जसरी हेरिन्छ त्यो नितान्त गलत नजिर हो । जुन काम महिलाले घरमा बसेर गर्न सकेका छन के त्यो पुरुषले गर्न सक्छन ? श्रमको समान बितरण अन्तर्गत नै महिला र पुरुष समान हुनु पर्ने होइन र ?

पुरुष बिनाको समाज हामीले खोजेको पनि होइन तर समानतामा आधारित समाजको निर्माण आजको अनवश्यकता हो । रोचक त यती बेला लाग्छ मलाई , जती बेला हामीले महिला हिंसा बन्द गरौ भनेर नारा लगाउछौ तब राजनैतिक दबाब तिब्र आउन पुग्दछ र अपराधी रिहा हुन्छ । अपराधीलाई राजनैतिक संरक्षण कहिले सम्म गर्ने हो ? अपराध अपराध नै हो ,राजनीतिमा जबसम्म अपराधीक मानसिकता मतियारहरुलाई भोट् बैंकको रुपमा प्रयोग गरिन्छ तबसम्म महिला अधिकारको ग्यारेण्टी हुन सक्दैन ।

माडी घटनामा मैले अपराधीलाई कारबाही हुनुपर्छ भन्दा राजनैतिक पार्टीका नेताहरुको निद हराम भो र म उनिहरुको आँखाको कसिङ्गर बन्न पुगे । उहाहरुलाई मान्छे मार्दा छुट हुनु पर्छ भन्ने लागेको होला तर म कानुनको शासन , विधि , पद्धति र न्यायमुलक समाज स्थापना हुनुपर्छ भनेर लागेकी एक महिला हुँ । तपाईंहरुले गलत गर्दै जाने र मैले समर्थन गर्ने भन्ने हुँदैन । अबोध बालबालिकाहरु दिनहुँ बलात्कार पश्चात् मारिदा प्रशासन मौन र निकम्मा बनेको छ ।

दिन प्रतिदिन यस्ता घटना बढ्दो छ, अब पनि हामी नबोले र अभियान अगाडि नबढाए देश अपराध कै सेरोफेरोमा घुम्ने छ । देशमा च्याउ झै उम्रेका संस्था र आयोगहरु डलर मात्र खान जन्मेका हुन कि आवाज पनि उठाउछन ? मैले उत्तर खोजेकी छु र उत्तर चाडै प्राप्त होला भनि आशा पनि छ । बालिकाको हत्यामा चुइक्क बोल्न नसक्ने यस्ता कायर संस्थाहरु तुरुन्त बन्द गरियोस । कमाइ खाने हो भने व्यापार गरियोस तर समाज सेवाको नाममा डलर कमाउने धन्दा बन्द गरियोस । हक अधिकारकै पक्षमा ओकालत गर्ने संस्थाहरुले माडी घटनाको निष्पक्ष छानवीन गरुन यहीँ शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित