मान, सम्मान र भुक्तमान

हरेक मानिसलाई पुरस्कारले हौसला दिन्छ र दण्डले दुःख । मानव सभ्यताको इतिहासका प्रत्येक सन्दर्भमा त्यो पढिएको, देखिएको र भोगिएको छ । संसारमा हरेक क्षेत्रमा नामी र दामी पुरस्कारका व्यवस्था भएका छन् । संसार प्रसिद्ध ‘सिएनएन हिरो’को पुरस्कार नेपालकै प्रख्यात समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पाए । अझ पुष्षा बस्नेतले त ‘सिएनएन सुपर हिरो’ को पुरस्कार समेत पाएकी थिइन । उनले पाएको पुरस्कार र कोइरालाले पाएको पुरस्कारले नेपाली समाजमा महिला र बालबालिकाका क्षेत्रमा उल्लेखनीय कार्य भएका छन् । त्यसमा कसैले औंला उठाउने कार्य गरेको छैन र गर्दैन पनि । त्यसैले ती पुरस्कार र व्यक्ति समेत सम्मानित हुनु देशकै नाम विश्वमा चम्केको महसुस जनताले गरेका छन् । असल पात्रले पुरस्कारलाई असल कामका लागि प्रयोग गर्छ । खराब पात्रले पाएको पुरस्कारले पात्र मात्र बद्नाम हुँदैन उल्टो पुरस्कार समेत विवादमा पर्छ ।

 
नेपालमा कवि माधव घिमिरेलाई दिइएको राष्ट्रकविको सम्मान र संस्कृतिविद् सत्यमोहन जोशीलाई दिइएको ‘शताब्दी पुरुष’को सम्मानमा आजपर्यन्त कसैले प्रश्न उठाएका छैनन् । त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रका लागि आफ्नो व्यक्तिगत र सामाजिक सम्पत्तिलाई समेत दाउमा राख्दै ‘म्यागासेसे’ पुरस्कार विजेता डा.महावीर पुनले कुनै समयमा आफूले पाएका सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र पदकहरू लीलामीका लागि ठमेलस्थित आफूले खोलेको रेष्टुरेन्टमा राखेका छन् । उनको चाहना जसरी भए पनि देशमा ससानादेखि ठूल्ठूला आविष्कारका क्षेत्रमा काम गर्ने वैज्ञानिक व्यक्ति र व्यक्तित्वलाई सहयोग गर्ने हो । नेपाललाई विज्ञान र प्रविधिका क्षेत्रमा अघि लैजाने हो । त्यसैले उनले देशबाट अपेक्षित सहयोग नपाए पनि विदेशमा बस्ने नेपाली दाजुभाइ र दिदीबहिनीबाट राम्रो रेस्पोन्स पाएका छन् । आविष्कार केन्द्रको उनको कोषमा अहिले पैसा बढ्दै जाँदो छ ।

 
हालै उद्योग मन्त्रालयले उनलाई एक करोड ५० लाख सहयोग गरेको समाचार छापामा आएको छ । यो समाचारले सरकार आफैँ पुरस्कृत भएको देखिएको छ । त्यसैगरी नेत्र चिकित्सा र अन्धोपन निवारणका क्षेत्रमा डा.सेन्दुक रुइतले समेत विख्यात ‘म्यागासेसे’ पुरस्कार पाएका छन् । कानुनी लडाइँ लडेर महिला अधिकार र महिला हिँसाका सन्दर्भमा उल्लेखनीय जनचेतना जगाउने कार्य गरेबापत सपना मल्ल प्रधानले अन्तर्राष्ट्रिय ‘कुपर पुरस्कार’ पाएकी छन् । पत्रकारिता मै विष्ण निष्ठुरीले कोरियाबाट दिइने अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । यी पुरस्कारहरूले नेपाल र नेपाली कै गौरवलाई बढाएका छन् ।

 
नाम चलेका देशी र विदेशी पुरस्कारहरू नेपालीले मात्रै पाउँदा हाम्रो शिर उँचो हुँदैन । हामीले देखे जानेका र पढे बुझेका विश्व चर्चित मानिसहरूले समेत पाउँदा हामीलाई खुसी लाग्छ । भारतका कैलाश सत्यार्थीसँगै संयुक्तरुपमा किशोरी मलाला युसुफ जाईले पाएको ‘नोबेल शान्ति पुरस्कार’ले उनको मात्र व्यक्तित्व बढाएन संसारकै किशोरीको नाम रोशन ग¥यो । नेपालकै फरक क्षमताकी साहित्यकार झमककुमारी घिमिरेले ‘जीवन काँडाकी फूल ?’ कृतिका लागि पाएको मदन पुरस्कारले व्यक्ति मात्र पुरस्कृत भएन कि पुरस्कार समेत ‘पुरस्कृत’ भयो । यी र यस्ता धेरै प्रसङ्गहरू पुरस्कार महिमामा जोडिएर आएका छन् ।

 
उहिले पञ्चायत कालमै राजा वीरेन्द्रले विश्वविख्यात भूगर्भविद् टोनी हेगेनलाई दिएको ‘वीरेन्द्र प्रज्ञा लङ्कार’ ले नेपाल कै नाम संसारमा चिनायो । पुरस्कार कस्तो हो ? कसले के कामका लागि पाएको हो ? त्यो संसारले चियो गरेर हेरिरहेको हुन्छ । भने पनि नभने पनि मानिसहरूका दिल र दिमागमा घर गर्न सकेका चर्चित र स्थापित व्यक्तित्वमा परेको पुरस्कारले देश र जनता नै पुलकित हुने गर्दछन् ।

 
सरकारले हालै गणतन्त्र दिवसको अवसरमा दिएका मान सम्मानहरू एकाएक विवादमा तानिए । नेपाली राजनीतिका धरोहर र प्रजातान्त्रिक योद्धा बीपीलाई ‘नेपाल रत्न’ र राजनीतिज्ञ महेन्द्रनारायण निधिलाई ‘राष्ट्र गौरव’ को सम्मान मरणोपरान्त दिइएको छ । यी दुई महा पात्रलाई दिइएको सम्मानले सरकारको यश भन्दा अपयश नै बढायो । पुरस्कार दिएर अहिले वहाँहरूको विराट छविमा सरकारले अनाहकमा खेल खेलेको आरोप समेत लगाइएका छन् । त्यसैगरी जननेता मदन भण्डारीलाई समेत अनावश्यक उछाल्ने काम उनका नाममा दिइएको पुरस्कारले गरेको छ । बीपी र भण्डारी पुरस्कार भन्दा माथि भइसकेका व्यक्तित्व हुन् । नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा अब बीपी र भण्डारीलाई कुनै पुरस्कारको दरकारै पर्दैन । त्यो पनि मरणोपरान्त अवस्थामा दिइएको पुरस्कारले उत्ति माने नराख्ने जानकारहरूको भनाइ छ ।

 
पञ्चायत कालमा भूकम्प पीडित उद्धार पदकका बारेमा अनेक खिस्सा सुन्नमा आउँथे । एकजना सुर्खेत तिरका चन्द्रबहादुर बूढा नामका पञ्च रापंस सदस्य थिए उनलाई प्रहरीले केही दिनअघि त्रिभुवन विमानस्थलबाट सुन तस्करीमा संलग्न हुँदा पक्राउ गरेको थियो । सोही मुद्दामा थुनामा रहेकै बेलामा २०४५ सालको ‘भूकम्प पीडित उद्धार पदक’ उनले पनि पाए । पञ्चायतमा ब्युरोक्रेट्स र पञ्चहरू पदकका लागि यतिसम्म तल झरेर लविङ्ग गर्थे कि जिल्लाबाट आफ्नो नाम पदकका लागि सिफारिस भएन भने सोझै केन्द्र अझ दरबारसम्मै पहूँच पु¥याएरै पदक उछिट्याउँथे ।
यसपालिका पदक बारेमा कर्मचारीलाई दिइएको सन्दर्भमा त्यति विवाद देखिएन । भएन । तर समाजसेवाका आवरणमा प्रचण्ड पुत्र प्रकाश दहाल र उपराष्ट्रपति पुत्र दिपेश पुनलाई दिइएको पदक भने विवादमा तानिए । सामाजिक सञ्जाल र अनलाइनहरूमा तिनीहरूको व्यापक विरोध भयो । प्रकाशले त आफूले पदक नलिने घोषणा समेत गरिसकेका छन् । दिपेशको अझै कुनै वक्तव्य आएको छैन । यसलाई भनिन्छ –‘आफ्ना हात जगन्नाथ ।’

 
अहिले राजधानीका सडकमा जथाभावी बाटो काट्नेहरूलाई प्रहरीले ३ सय रुपैयाँ जरिवाना र सो तिर्न नसकेमा केही घन्टा थुन्ने गर्छ । कतिपय मानिसहरू जानेर वा नजानेर, आफूसँग पैसा साथमा नहुँदा अनाहकमा प्रहरी हिरासत पुगी आपत्मा परे । कवि राजेन्द्र तारकिणीले आफ्नो फेसबुक स्टाटसमा रायम मिलाएर लेखे –‘बाटो काट्ने खोरमा, मान्छे काट्ने संसदमा ।’ माथिको वाक्यमा निहितांश अर्थले गम्भीर रुपले व्याख्या माग्न खोजेको छ । अहिले जति पनि राजनीतिक पार्टीहरू नेपाली राजनीतिमा स्थापित छन् तिनीहरूले आफ्नो राजनीति उठानका सन्दर्भमा कुनै न कुनै बेला हतियारबन्द आन्दोलनकै सहारा लिएका हुन् । काँग्रेसले २००७ सालमा, एमालेले २०२८ सालमा, माओवादीले २०५२ सालमा र मधेशवादीहरूले मधेश आन्दोलनमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि र राजनीतिक स्पेसका लागि हतियार उठाएकै हुन् । माओवादी विप्लव अहिले पनि हतियार नबिसाइकन विद्रोह गरिरहकै छन् । वैद्य हतियार आवश्यकताका वार्ताहरू दिन्छन् । यसले के देखाउँछ ? आफैँ चिन्तन गर्न सकिन्छ ।

 
राजनीतिमा हतियारको प्रसङ्ग गरिब देशका सत्ता परिवर्तनका लागि आएकै हुन् । एसियाका धेरै देशहरू आफ्नो स्वतन्त्रता संग्राममा हतियार माध्यमले नै स्थापित भएका हुन् । नेपाली क्रान्ति पनि त्यसबाट अछुतो रहने कुरा भएन । ‘अब आउने नयाँ पार्टीहरूले ढुङ्गामुढाका स्थानमा फूल बोकेर समाज परिवर्तनका लागि लाग्नु पर्छ ।’ विवेकशील र साझा पार्टीहरूबाट त्यो नयाँ संस्कारको अपेक्षा गर्न सकिन्छ ।

 
पुराना पार्टीका कार्यकर्ताहरू आफ्ना नेताका रक्तरञ्जित इतिहास र आफ्ना समेत केही राजनीतिकि आरोहणका सवालमा अझै चुनाव र विभिन्न प्रकारका हड्ताल र आन्दोलनका क्रममा हतियारका मतियार देखिएकै छन् । देश अघि लैजाने सवालमा त्यो किमार्थ हिताकांक्षी कदम होइन । गएको स्थानीय तहको निर्वाचन पहिलो चरणमा पनि दोलखामा अन्य जिल्लाका तुलनामा अपेक्षाकृत बढी चुनावी हिंसा भयो । अहिले दोस्रो चरणको निर्वाचन तयारी हुँदैछ । चुनाव सरेको स¥यै छ । चारचोटी सरेको चुनाव पनि हिँसारहित तवरले होला भन्नेमा कसैलाई विश्वास छैन । यसै त तराईका जिल्लाहरूमा चुनावी माहोलमा हिँसा हुने गर्छ । बारा, पर्सा, रौतहट, सप्तरी र सिराहाजस्ता जिल्लाहरूमा जहिले पनि चुनावी माहोलमा अनेक प्रकारका हिँसा भएका इतिहास हाम्रा मानषपटलमा ताजै छन् । कामना गरौं अब तत्तत् स्थानमा त्यस्तो नहोस् । जनताले आफ्नो मत निर्वाध ढङ्गले गोप्य तबरबाट खसाल्न पाऊन ।
हिँसाको अपसंस्कृतिलाई अबको नयाँ यात्राले पूर्ण विराम लगाओस् । अर्कापट्टि पुरस्कारमा भनसुन र डाडु पन्यौ आफ्नो हातमा हुँदा जस्तोसुकै पात्रलाई पनि पुरस्कार दिने कुसंस्कृतिको अन्त्य होस् । स्थापित र धरोहर व्यक्तित्वलाई उहाँहरूको व्यक्तित्वमा खिया लगाउन थप सानातिना पुरस्कारले गिज्याउने काम नहोस् । अहिले यत्ति ।
।।सामप्त।।

प्रतिक्रिया

सम्बन्धित