गाई, एमाले भाइभाइ : भोटजति हल गोरुलाई

निर्वाचनको ज्वरो अझै सकिएको छैन । यो थामिन २०७४ असार पूरै बित्न सक्छ । अहिले बजेट, सरकार गठन र भद्र सहमतिका कुरा आएका छन् । प्रचण्डले आफू हारेर पनि देशलाई जिताए । एक किसिमको निकास चुनाव पनि हो । चुनावले समाजमा जमेर बसेको दिशाहीनता, भ्रष्टाचार, अकर्मण्यता, बाहुबली र कामचोर प्रवृत्तिको समूल नष्ट गर्नु पर्ने त हो । तर हाम्रोजस्तो देशमा त्यो गर्दैन । जुन पार्टीका मानिसले जिते पनि नेपाली मानसिकता पुरानै छ । अहिले चुनावमा घोषणापत्रमा गरेका मीठा वाचा र कबोलले देशलाई धपक्कै बल्ने पारिएको छ । ‘फरक छ, सोकेसको मिठाई र चित्रको मिठाईमा । राजधानीको अवस्था देख्दा जो कोहीलाई पनि चाबहेल र कोटेश्वरमा गएर रुन मन लाग्छ । आखिर जनताका समस्या जनतासँगै छन् । हाम्रा नेता त महलमा छन् तिनलाई वास्ता छैन ।’

एकथरी मानिसहरू यसो भन्न थालेका छन् । स्थानीय तहमा स्रोत होला तर सोच पुरानै छ । भवन छैनन् । जग्गा उपलब्ध हुनु पर्यो । प्रतिनिधिहरू कोहीले भाडाको घरमा कोहीले आँगनमा शपथ लिएका छन् । यो स्थितिको अन्त्य हुनु पर्छ –अब आगामी दिनहरूमा । नहुने चुनाव प्रचण्डले गरेर देखाए । अब तास फिट्ने पालो देउवाका भागमा परेको छ । चुनावी तालमेलले राप्रपाका कमल थापाको सत्तामा जाने भरेङ् भाँचियो । उनी पत्ता साफ भए । त्यही हालत गोर्खेली डा. बाबुरामको भएको छ । नयाँ शक्तिले जसरी संगठन र जनतालाई जगाउने काम साझा र विवेकशील नेपालीले गर्न पाएका भए र पार्टीगत चुनाव चिन्हमा चुनाव लड्न पाएका भए नेपालका महानगरमा तहल्का मच्चाउने रै’छन् । नेपालीले खोजेको पुरानो र अल्छे गणतन्त्र पक्कै होइन । फाष्ट ट्रयाकमा सम्बोधन हुने खालका साझा विकासे समस्यालाई समाधान गर्न नेपालीले ¥याडिकल गणतन्त्र नै खोजेको हो ।

पेशल आचार्य

अहिले प्रचण्ड छोरालाई पिए र छोरीलाई मेयरमा उठाएर चौतर्फी आलोचनाका पात्र भए पनि उनले काँग्रेससँग भएको भद्र सहमतिको परिपालना गरेरै छाडे । उनले सजिलै सत्ता छोड्लान भनेर नेपाली काँग्रेसले चिताएको थिएन । अब प्रचण्डको बहिर्गमनसँगै देउवा चैनको निद्रा त सुत्लान् तर उनलाई पनि आफ्नो घाँटी माथि डेमोक्लिसको तरबार झुण्डिएको अवस्थामा कमरेड प्रचण्डले सत्ता हस्तान्तरण गरेका छन् । अब देउवाका पालामा ‘तावाबाट उछिट्टिएको माछो भुङ्ग्रा’मा भनेझैँ भएका छन् । देउवा नेपाली काँग्रेसका बहालवाला सभापति भए पनि उनको राष्ट्रिय छवि यतिखेर धमिलिएको अवस्था छ । ओलीले उनलाई सत्तामा जान अनेक तिकड्म लगाएर रोक्न नखोजेका पनि होइनन् । पहिलो चरणको चुनावी नतिजाबाट ओली र एमाले दुवै उत्साहित भएका छन् । हुन पनि एमालेले पहिलो चरणको चुनावी नारा नै गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार भन्ने दिएको थियो । त्यसलाई पूरा गर्न एमालेका समग्र कार्यकर्ता अहोरात्र लागेकै हुन् । फलतः परिणाम पनि सकारात्मक देखियो । लोकतन्त्रमा चुनाव गहना हो । भलै जसले जिते पनि जनताले अब सकसहीन शासनको प्रत्याभूति भने पाउनु प¥यो ।

पानीले आफ्नो लेबल आफैँ मिलाएझैँ चुनावले पनि क्रमशः सानातिना समस्याहरू मिलाउँदै जान्छ । एमालेले चुनावी तालमेलका गरेको तिकड्मले आफूलाई त फाइदा नै दियो उता राप्रपाको जर्सी गाई नराम्ररी थला परेको स्थिति छ । धेरै स्थानमा उम्मेदवार नै नभएका हलोमा भोट परेका रहेछन् । गाईले यसपाला नराम्ररी नाम्ले रोगको सामना गर्नु प¥यो । केटाकेटीहरूको बालगीतमा भनेझैँ गाईलाई यसपल्ट खोलाले बगायो । चुनावी तालमेलले काँग्रेस र माओवादी केन्द्रलाई भने थाङ्नामा सुताउने लक्षण देखिँदैछ । भरतपुर, पोखरा र काठमाडौँमा काँग्रेस र माओवादीका उम्मेदवारको सम्मानजनक हार हुँदैछ भन्ने न्यूजहरू दिनरात पढ्न पाइरहेको छ । संविधान कार्यान्वयनका सिलसिलामा प्रचण्डले जुन भद्रता देखाए र चुनाव गरे त्यसका लागि उनको नाम इतिहासमा राम्रोसँग दर्ज हुने छ । यसमा कुनै शंका गर्ने ठाउँ छैन । अब रह्यो देउवाको कार्य तराईमा २२ स्थानीय तह थप गरिएका छन् ।

त्यसमा एमालेको विमत्ती रहेको छ । देउवा यस्तो परिस्थितिमा प्रमको हट सिटमा बस्न लागेका छन् जसले हातको चरो उडाएर अर्को उडिरहेको चरो समात्ने प्रयत्न गरेको देखिन्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन् भन्ने कुरा एमालेले राप्रपासँग गरेको चुनावी गठजोड र काँग्रेसले माओवादी केन्द्रसँग गरेको तालमेलबाट थाहा हुन्छ । स्थानीय चुनाव भएका कारण जनता आफ्नो पार्टी र सिद्धान्तमा अडिग भएर भोट हाल्न चाहन्छन् भन्ने कुरा देशैभरिका नतिजाबाट पनि स्पष्ट भैसक्यो । यसमा पार्टीहरूले बेइमान गरेकै हुन् । फरकफरक पार्टी हुनु भनेको पृथक् विचारको बोलबाला हो । जनतालाई एकै ठाउँमा भोट हाल्न लगाएर फेरि अर्कोपल्ट नेताहरूले राजनीतिक बेइमान गरेका छन् । सपनाको सौदा अहिले छापिएका घोषणापत्रहरूमा पउल रुपमा गरिएको छ । यदि ती घोषणापत्रमा लेखिएका र भनिएका कुरा पुगेनन् भने फेरि अर्कोपल्ट आउने र हुने चुनावमा जनता विपरीत दिशातर्फ नढल्केलान् भन्न सकिन्नँ । नेपाली जनताले पुराना पार्टीको विकल्प फेरि पनि पुरानै पार्टीलाई भोट हालेर गरे ।

यो सारै उदेकको चित्र भएको छ । पुराना पार्टीका विकल्पमा नयाँलाई विभिन्न स्थान र पदमा निर्वाचित गराएका भए नेपाली समाजमा पनि परिवर्तनका सन्दर्भहरूले घर गर्न थालेका रहेछन् भनेर सोच्न सकिन्थ्यो । तर त्यो भएन । नहुने भनिएको पहिलो चुनाव सम्पन्न भएपछि अब दोस्रो चरणको चुनाव पनि त्यसैगरी हुनेछ । अनि नेपाली समाज क्रमशः संघीयताको बाटोमा घस्रिपस्री हिँड्न बाध्य हुनेछ । पहिलो पुस्ताले बाटो देखायो भने आउने दोस्रो र तेस्रो पुस्ताले आफ्नो मार्गमा अविचल हिँड्न पाउने छन् । निर्वाचनमा भए गरेका सामान्य र गम्भीर त्रुटिलाई सच्याउँदै अघि बढ्नुको विकल्प पनि हामीसँग छैन । यहीँ भएका नेतालाई पत्याएर यहीँ भएका स्रोत साधनले नै देशको शनैःशनैः विकास गर्ने हो । आखिर सबैथोक आयात गर्न मिले पनि नेतृत्व र नेता आयात गर्न भने नमिल्ने रहेछन् । सत्ता छाड्दै गरेका प्रचण्ड र सत्ताको राप र तापमा बस्दै गरेका देउवा दाजुमा शुभकामना । अब दोस्रो चरणको चुनाव भयरहित र निष्पक्ष वातारणमा निर्वाध सम्पन्न होस् । अहिलेलाई यत्ति ।
।।समाप्त।।

प्रतिक्रिया

सम्बन्धित