भट्ट र भण्डारीले पशुपतिको साँचो भारतीय दूतावासमा बुझाइएर राष्ट्रियतामाथि प्रहार गरेको दिन

म १७–२३ पुस ०६५ मा पशुपतिनाथको भट्ट भएको थिएँ । पशुपतिको पहिलो नेपाली भट्ट म नै हो । तर, राजनीतिक खिचातानी र भारतीय दबाबले सात दिनमा नै हटाइएँ । भट्ट हुँदा मैले हरेक दिन डायरी लेख्थेँ । त्यही डायरीलाई अहिले पुस्तकका रूपमा प्रकाशन गरेको हुँ । ‘पशुपतिमा सात दिन’ मैले सात दिन लेखेको डायरीको आधा भाग मात्र हो ।

पशुपति पूजाको लामो इतिहास छ । पहिला पशुपतिमा जोगीहरूले पूजा गर्थे । त्यसपछि भारतीय भट्टहरूले गरे । ती पूजाको फरक–फरक शैली छ । जोगीहरूको पूजा विधि यसमा उल्लेख गरेको छु । मैले के गरेँ भन्ने कुरा पनि लेखेको छु । तर, भट्टहरूको पूजा विधि यसमा आएको छैन । उनीहरूले गलत गरेका छन् । त्यो अर्को भागमा उल्लेख छ । पशुपतिका ६ वटा शिर छन् । ६ प्रकारले नै पूजा हुन्छ । यो नै मूल पूजाविधि हो । पुस्तकको दोस्रो संस्करण प्रकाशन गर्दा यसलाई पनि समावेश गर्ने विचार गरेको छु । अहिले भने मूलभट्ट हुँदाका मेरा अनुभव मात्र उल्लेख छ ।

म मूलभट्ट नियुक्त भएपछि पूजा थालेँ । त्यसका लागि गुप्तवास बसेँ । बाहिर आन्दोलन सुरु भयो । किनभने मेरो नियुक्तिलाई राजनीतिक रङ दिइयो । भित्र पनि मलाई अवरोध भयो । मैले पूजा गर्ने वेला अन्य भट्ट र भण्डारीले साँचो लिएर भागे । त्यो साँचो भारतीय दूतावास लगेर तत्कालीन राजदूत राकेश सुदलाई बुझाइयो । त्यो राष्ट्रियतामाथिको प्रहार मात्र थिएन कि अनैतिक काम पनि थियो । पशुपतिमा धेरै ठूलो ढुकुटी थियो । देशको ठूलो ढुकुटीको साँचो दूतावासमा बुझाइएको थियो । यी सबै घटना पुस्तकमा उल्लेख छ ।

पुस्तकमा शास्त्रीय विषयको खण्ड पनि छ । धर्म भनेको के हो ? संस्कृति भनेको के हो ? पूजा भनेको के हो ? पूजा भनेको के हो ? भगवान् भनेको के हो ? जस्ता कुरा यो खण्डमा उल्लेख छ । यसलाई पुस्तकका रूपमा प्रकाशन गर्नुको केही कारण छन् । पहिलो कुरा हाम्रो देशको भूगोलभित्र पढाइ हुने धार्मिक र सांस्कृतिक मूल्यका आधारमा पशुपतिनाथको पूजा हुनुपर्छ । दोस्रो, पाशुपत क्षेत्र सनातन धर्मावलम्बीको तीर्थक्षेत्र हो । नेपालीले गौरव गर्ने धार्मिक स्थल हो । तर, समस्या पशुपति क्षेत्र विकास कोषले पारित गरेको नियमावलीमा छ । त्यहाँ नेपालीलाई ठूलो विभेद भएको छ । त्यसमा भारतीय द्रविड ब्राह्मण मात्र भट्ट हुन पाउने उल्लेख छ । जसअनुसार भारतको महाराष्ट्र र कर्णाटक छेउछाउका मान्छे मात्र भट्ट हुन पाउने भए ।

कुनै नेपालीले धर्म, शास्त्र, विधिविधान जानेको छ भने पनि पशुपतिको मूर्ति छुन भारतमा जन्मिएर आउनुपर्छ । पशुपतिको पूजाआजा र व्यवस्थापनमा भइरहेका यस्ता विभेदलाई बाहिर ल्याउन डायरीलाई पुस्तकका रूपमा प्रकाशन गरेको हुँ । यो पुस्तकले उठाएका विषयमा प्राज्ञिक बहस होस् भन्ने मरो आकांक्षा हो । किनभने यो राष्ट्रियता र स्वाभिमानको विषय हो ।

‘भारतीय मन्दिरमा पनि त नेपाली पुजारी छन् नि ?’ भन्ने प्रश्न पनि गरिन्छ । तर, संसारका कुनै पनि देशमा राज्यको महत्वपूर्ण ढुकुटी गैरनागरिकलाई जिम्मा लगाइएको छैन । भारतमा कुनै सेठले मन्दिर बनाएर नेपाली पुजारी राखे होला । तलब दिए होला । तर, पूरै ढुकुटी नेपालीलाई जिम्मा दिइएको छैन । पशुपतिमा पाँचजना पुजारीमा पाँचैजना भारतीय राख्नुपर्छ भन्नु कुतर्क हो । नेपालको सम्पदामा नेपाली प्रवेश नै गर्न नपाउनु राम्रो होइन ।

म मूलभट्ट नियुक्त भएपछि त्यसलाई राजनीतिकरण गरियो । सडकमा आन्दोलन भयो । विभिन्न दलले विज्ञप्ति निकाले । नेपालबाट मात्र नभई भारतबाट समेत हस्तक्षेप भयो । भारतीय जनता पार्टीले पनि विज्ञप्ति निकालेको थियो । सो विज्ञप्ति पनि पुस्तकमा उल्लेख गर्नुपर्छ भन्ने केही साथीको कुरा थियो । राष्ट्रियताको विषयमा देशका राजनीतिक दल विभाजित हुनु र पशुपतिको साँचो फेरि पनि भारतीयलाई बुझाउन संघर्ष गर्नु नेपालको हितमा थिएन र छैन । सो कुरा जनतालाई बुझाउनु आवश्यक छ ।

पाशुपत क्षेत्रका घन्ट र गजुर चोरिएको छ । मृगस्थलीका आधा दर्जन घन्ट र १० वटा जति गजुर चोरिएको मैले पाएको छु । कसले तस्करी गरिरहेको छ भन्ने कुरा बाहिर आएको छैन । भूकम्पपछि त हराउने क्रम झनै बढेको छ । माफियाको साँठगाँठ ठूलो छ । त्यसको छानबिनसमेत भएको छैन । यो कुरा बाहिर ल्याउन पनि पुस्तक प्रकाशन अनिवार्य थियो ।

पुस्तक प्रकाशनपछि केही प्रश्न पनि आए । कतिपयले ‘मूलभट्टबाट निस्कनेबित्तिकै पुस्तक प्रकाशन नगरेर किन आठ वर्षपछि मात्र गर्नुभयो ?’ भन्ने प्रश्न गरेका छन् । हरेक कुराको संयोग हुन्छ । यो पुस्तक प्रकाशनको संयोग यतिवेलै जु¥यो भन्ने लाग्छ । अहिले नयाँ पुस्ता धर्म, संस्कृति, पूजा आदिबारे अनविज्ञ छन् । तर, उनीहरू जान्न उत्सुक छन् । उनीहरूलाई हाम्रो सांस्कृतिक इतिहास र धर्मबारे जानकारी दिन पुस्तक प्रकाशन गरेको हुँ । अन्य साहित्यका बारेमा केही न केही काम भएकै छ । धर्म र संस्कृतिलाई पुस्तान्तर गर्ने काम भने न्यून मात्रामा मात्र भएको छ । गौण देखिएको छ । यी कुरा प्रकाशन हुनुपर्छ भन्ने लागेको थियो ।

मेरो डायरी सुरक्षित राखेकै थिएँ । एक दिन मन्डप बुक्सका राजकुमार गजुरेलले मेरो अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने कुरा गर्नुभयो । पुस्तक प्रकाशन पशुपतिको आराधना नै हो । उहाँलाई मैले मेरो डायरी दिएँ । त्यो डायरीको नाम ‘पशुपतिमा सात दिन’ राखेर प्रकाशन भएको हो ।

साभार नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित