हाम्ले खोज्या कस्तो स्थानीय तह हो ?

‘नेपाल’ साप्ताहिकका पत्रकार माधव बस्नेत फेसबुकमा स्टाटस लेख्न माहिर मानिन्छन् । गत बिहीबार उनले स्टाटसमा लेखे –‘२०५१ मा नेकपा (माओवादी), २०७४ सालमा नेकापा (माओवादी), सिर्फ शेरबहादुर–प्रचण्डको लालचा पूरा गर्ने बन्धन, नेता–कार्यकर्ताका निधारमा खरानी चन्दन ।’ लोकतन्त्रको बाटो घुमाउरो भए पनि त्यो अन्ततोगत्वा आम जनताका लागि जीवनयापनका लागि सजिलो बाटो हुनु पर्ने हो । स्थानीय चुनावका मुखमा आएर काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले चुनावी तालमेलमा गरेका नौटङ्की राजनीतिक फन्डा देखेर आम प्रजातन्त्रवादीहरू स्वयम् आश्चर्यमा परेका छन् ।  गएको बिहीबार ‘घटना र विचार’ साप्ताहिकमा पत्रकार देवप्रकाश त्रिपाठीले एक दमदार लेखमा ‘मिल्नु नै थियो भने विपरीत पार्टी खोल्छौ, किन नेता ?’ भन्ने गम्भीर आसय व्यक्त गरे ।
‘चुनाव नजिकिँदै गर्दा ‘अनुमानवाला’ र ‘हनुमानवाला’ चिन्ने मौका मिलेको छ ।’ भन्ने स्टाटस लेख्ने पत्रकार आरसी गिरीको फेसवुकवालमा कमेन्ट गर्दै उनका फलोवर दीपक तामाङ बम्जन भन्छन् –‘चिन्नु र किन्नुको होडवाजी छ । मान्छे चेतनशील चाहिँ हो तर अझै विवेकशील भैसकेको छैन र’छन् । पशुमा र मान्छेमा फरक देखिन । मोलतोलको भाषामा गरिँदैछ यसपालिको रामनवमिको मेला । कृष्णको लीला अपार छ । १६०० गोपिनीहरूको जात्रामा । हनुमानजीको जय होस् ।’

पेशल आचार्य

यो चुनाव इतिहास मै पहिलोपल्ट भएको हो । धेरै राजनीतिक कार्यकर्ता र उम्मेदवारले २० वर्षपछि हुन लागेको भनेर रटान र हौवा पिटेका छन् तर यस्तो प्रकृतिको चुनाव अघि कहिल्यै भएको थिएन भएको थियो । २०५४ मा वामदेव गृहमन्त्री भएका बेला स्थानीय निर्वाचन भएको हो जसमा गाविस र नगरपालिकाको चुनाव भएको हो । त्यसैले यो त्यसकै पुनरावृत्ति भएको होइन । नेपालको संविधान –२०७० को कार्यान्वयनका लागि पहिलो निर्वाचन भने हो ।
‘जहाँ सधैँ मौनयाम छ, जिन्दगी गुमनाम छ, त्यहाँ मौन अविधि शुरू हुनु÷नहुनुले कुनै फरक पार्दैन साइँली ।’ चर्चित युवापुस्ताका कवि तथा फेसबुकमा घातक स्टाटस लेख्ने राजेन्द्र तारकिणी लेख्छन् । यो देशमा बोल्न त के खासखुस गर्न पनि पाइँदैन । जनतालाई न हिजो पञ्चायतले बोल्न दिएको थियो न आज गणतन्त्रको शासनले जनबोली सुन्ने गरेको छ । मिलीजुली सुविधा हजम गर्ने र भागशान्ति ज्यूनारायण गर्ने अनि सोझासाझा जनतालाई बोलीले लङ्का पु¥याइदिने नेता र नेतापछि हिँड्ने पिछलग्गु कार्यकर्ता भएको यो शासनले जनतालाई दिने भनेको ५÷५ वर्षमा आश्वासन मात्रै हो ।
स्थानीय तह निर्वाचन हुँदैछ भन्ने हेक्का दललाई छैन । संसदीय चुनावजस्ता आश्वासन र विकासका केन्द्रीय सपना बाँड्न सबै तम्तयार भए । यी ठूला भनाउँदा पार्टीका चुनावी घोषणापत्र जतन गरी राखेर पछि तुलना गर्ने हो भने को साँचो र को झुठो ? सबै छर्लङ्ग थाहा पाउन सकिन्छ ।  संघीयताविज्ञहरूले भनेका छन् –‘सबैभन्दा बढी अधिकार स्थानीय तहलाई, त्यसपछि केही अधिकार प्रदेशलाई र सीमित अधिकार मात्र केन्द्रलाई हुनु पर्नेमा स्थानीय तहमा थोरै, प्रदेशमा झन थोरै र केन्द्रलाई धेरै अधिकार अझै राखिएको छ । यो भनेको प्रदेशलाई उसले गर्न सक्ने विकासे कार्यमा ठग्ने उपाय हो ।’ स्थानीय तहलाई अधिकार मात्र दिएर हुन्न पउल स्रोत पनि दिनुपर्छ । अहिले दिएको अधिकार सिमित छ । आम जनता यसमा जानकार छैन ।

 
देशका ठूला र साना सबै सहरलाई उम्मेदवारहरू स्मार्ट सिटी बनाउँछौं भनिरहेछन् । कतिपयलाई त थाहा पनि छैन के हो ‘स्मार्ट सिटी’ भनेको ? जनताबाट भोट खोस्नका लागि यो सब चुनावी माहोलमा घोषणापत्रको व्यापार भै’राख्या छ । संकीर्ण सोच राख्ने पुराना पार्टीहरू जसरी पनि आफ्नो विजय माथि पार्न जोर जुलुमसँग लागेका छन् । गर्न सकिने र हुने खालका सार्वजनिक सेवा सुविधालाई जनताका पहूँचमा राख्ने खालका कार्यक्रमहरू दिनु परै जाओस् । राजधानीको स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायात यति धेरै गए गुज्रेको छ कि नयाँ जितेर आउने मेयरले यी तीन क्षेत्रमा काम गरे भने मात्र यो राजधानी हेर्न लायक ठाउँ बन्छ अनि उसले अर्को पटकका लागि समेत भोग माग्ने ‘इसू’ बनाउन सक्छन् ।

 
राजधानीका मतदाताले काँग्रेस, एमाले र माओवादी भनेका छैनन् । विवेकशील, साझा पार्टी र नयाँ शक्ति पनि भनेका छैनन् । जसको भिजन, मिसन र गोल गर्ने तागत छ उसैलाई दिन्छन् –राजधानीका जनता भोट । किनकि राजधानीका मतदाता औधी चलायमान छन् । यहाँ हरेकपल्ट मतदाताको मानसिकता फेरिइरहन्छ ।
काठमाडौँलाई पर्यटकीय र साँस्कृतिक नगरीका रूपमा काम गर्ने हो भने यहाँका सार्वजनिक यातायातका क्षेत्रमा क्रान्ति गर्नै पर्छ । चक्रपथबाहिर र भित्रका चौडा बाटाहरूमा ठूला सवारीलाई व्यवस्थित गर्न सक्नुपर्छ । माइक्रो, टेक्सी र साना बसहरूलाई बाहिरी चक्रपथ निर्माण गरी राजधानी कै ससाना ग्रामीण इलाकामा लैजानु पर्छ । राजधानीलाई दृष्टिविहीन, अपाङ्गमैत्री र सार्वजनिक यातायात प्रयोग गर्नेहरूका हितमा प्रयोग गर्नुपर्छ । बाटा चौडा बनाएर मात्र हुँदैन । बाटामा हिँडनका लागि पैदल मार्ग, साइकल मार्ग र विद्युतीय सवारीको प्रयोगमा सरकारले भारी मात्रामा भन्सार छुटमा विद्युतीय गाडी र मोटर साइकलको आयात गर्नुपर्छ । तल्लो वर्गलाई फाइदा हुने खालका व्यवहारिक कार्यहरू गर्नबाट सबै दल चुकेका छन् । जनताले यो कुरालाई मनमा लिएका छन् ।

 
अहिले लिड बल्ब बारेमा माओवादी र काँग्रेस समर्थकहरू सबै कुलमानका पक्षमा र एमाले समर्थकहरू कुलमान विपक्षमा लागेर एकअर्कालाई गलत सावित गर्न लागेका छन् । यही बहसका बीच देशमै लिड बल्ब उत्पादन गर्ने फ्याक्ट्री किन सञ्चालन गर्न सकिँदैन ? प्रक्रिया घुमाउरो हुने हुँदा कुलमानले मन्त्रिपरिषद्बाट निर्णण गराउने गरी ‘फास्ट ट्रयाक’ रोजे होलान् तर बल्ब खरिद प्रक्रियामा ८३ करोड महँगो परेको भन्ने समाचार समेत आए । यो मामलामा सरकारले जतिसक्यो चाँडो यथार्थ बाहिर ल्याउनु प¥यो । जनतालाई कुहिराको काग बनाउनु भएन ।

 
एउटा चर्चित भनाइ छ –‘यहाँ बेरोजगारहरू बाइक चढ्छन् र कामकाजीहरू साइकल ।’ मार्मिक छ भनाइ । काठमाडौँतिर कै काँठ भेगमा अहिले ‘आना चलान घर ढलान्’ भन्ने भनाइ उखान झैँ चर्चित छ । जहाँका मानिसहरू जो सहरमा काम गर्न या सानोतिनो जागिर खान आउँछन् ती वर्षौंदेखि साइकल चढ्ने गर्दछन् तिनका छोरा, भतिजा र नातिहरूचाहिँ मोटरसाइकल नचढ्ी सक्दैनन् । पुस्तान्तरको यो देखासिकीले नै समाजमा विकृति बढाएको होला ?

 
यो चित्रले अबको राजधानीलाई साइकल मैत्री सहर बनाउनै पर्छ भन्ने सोच स्थानीय सरकारका हर्ताकर्तामा आउन सक्नु प¥यो । यसपाली मेयरमा उठने प्रायः सबै उम्मेदवारले ‘म मेरो कार्यकालमा राजधानीलाई साइकलमैत्री सहर बनाउँछु’ भनेर एकादुई पार्टीबाहेक कसैले भनेनन् । आकासे पुल बनाउने, मोनो रेल, मेट्रो रेल र फ्लाई ओभरका गोलगप्पारूपि सपना देखाउने काम मात्र भयो । बाटा फराकिला भएभने मात्र साइकल वा पैदल यात्रीलाई सुविधा हुन्छ हैन र ? अझ झन् मोटरसाइकल र गाडीलाई पो सुविधा हुने रे ? पैदलयात्रीको कहर कस्ले सुन्ने, कस्ले हेर्ने ? सार्वजनिक सवारीमा चढ्ने यात्रुको सुविधाका लागि को बोल्ने ? यो चुनावमा यस्ता खालका मुद्दामा पनि भोट आउने वा प्रशस्त मात्रामा काटिने सम्भावना हुन्छ ।

 
रञ्जु दर्शना र किशोर किशोर थापाका झीना आवाज आम मतदाताको मनले सुन्यो भने त्यसले एउटा नौलो र गम्भीर परिवर्तन अवश्यमेव हुन सक्छ । युवा मतदाता मात्र होइन सबै मतदाताले नयाँलाई साथ दिनु प¥यो । २१ औं शताब्दीको काठमाडौँलाई साँच्चैको काठमाडौँ बनाउने हो भने अब भिजन र मिसनका साथ नदौडीकन हुँदैन ।
परिणाम १ गते देखिन्छ । केही घन्टा धैर्य गर्नुुस् जनता जनाद्र्धन । चोरैचारमध्ये कम चोर्नेलाई मतदान गर्नु भा’को छ कि नयाँलाई मन पराउनु भा’को छ, स्पष्ट हुने छ । नयाँ आए भने हामीले हाम्रै जीवनको काल खण्डमा परिवर्तन भएको देख्न पाउने छौं नत्र फेरि पाँच वर्षमा पुरानै नेता माला र खादा लगाएर ङिच्च दाँत देखाउँदै तपाईं हाम्रो घर आँगनमा आउने छन् ।
।।समाप्त।।

प्रतिक्रिया

सम्बन्धित