बाटुली को बैँश

पन्द्र पुगेर सोर्‍ह बर्ख लागि भोलि बाट ‘बाटुली’। एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरि । जन्मदिन परेको साईत मा आफुले हाकेको ताकेको सबै पूरा होस् भनी भगवान लाई बार्गेनिङ गर्न पेरेन्ङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा, घुरेन वारि बाट उचाली नसक्नु को कांक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है डल्ली भन्दै आमाले भारी लगाई दिइन् ।

बाटुली ले आमालाई ढोग गरिन् अनि धरान पुगेर लगत्तै फोन गर्छु भनेर बाचा गरिन्। बुवा बितेपछी घरमा मान्छे भन्नू नै दुई आमा छोरी मात्र थिए। आमा हतार भित्र भन्सा मा छिरेर स्टिलको कचौरामा भरी मोहि लिएर निस्किन् – यो स्वाटै पार डल्ली, भोलि तेरो जन्म दिनको शुभ साईत हुन्छ। बाटुली ले एकै सास मा पिएर – लु आमा म बाटो लागें है भनी। तल डिल मुन्तिर पुगेसी एकफेर आमा लाई हेर्दा, सारिको सप्को ले आँसु  पुछेको देखिन् । धनकुटा सदरमुकाम सम्म पुर्याउनलाई संगै पढ्ने बाटो मास्तिर को साथी बल बहादुर लाई गुहार मागेकी थिई।

ओए बले!

भात नखाई आएको होस् भने चेन् भो पर्दैन है भारी बोक्न सघाउन लाई। भन्दै खिनौटे ज्यान को बल बहादुर लाई ब्यङ्ग हानी। हिजो आज बले लाई बाटुली ले जे जे बोले पनि मीठो लाग्न थालेको छ। प्रतिउत्तर म उ केही बोल्दैन। मुसुमुसु हांस्दै बाटुली लाई अघाउन्जेली हेर्छ।गाउंबाट बस स्टेण्ड सम्म उक्लिंदा ३,४ घण्टा को घुमाउरो बाटोमा, बले ले बाटुली लाई आफ्नो दाजु जस्तै लाहुर लाग्ने बिचार सुनायो। एस. एल. सि. को रिजल्ट आउन्जेल भरपुर कसरत गरेर आफ्नो ज्यान बनाउने कुरा गर्यो। बाटुली असिन पसिन हुँदै बलेको कुरा सुनिरही। उनलाई थाहा थियो यो सब बले ले किन बेलिबिस्तार लगाउंदैछ भनेर ।क्विनेटोमा उक्लिनै लाग्दा बल बहादुर को दाहिने खुट्टा को बुढी औंला ढुंगा मा ठोक्किएर रगत आउन लाग्यो। बाटुली ले मिल्लिक्कै मा कलिलो बनमारा निचोरेर बलेको आलो चोटमाथी छर्किदिई।आफुले बेरेको मजेत्रो को सानो फेरो च्यातेर बुढी औंला लाई पट्टी गरि। बाटुली यतिबेला बिछट्टै राम्री देखिएकी थिई। हिंड्दा हिंड्दा पसिनाले लप्पक्कै भिजेको अनुहार त्यो पाखैभरी फुलेको गुराँस भन्दा कम थिएन। उनको बान्की परेको अनुहार लाई त्यो चन्चल जोर आंखाहरु कति सुहाएको। बले सास रोकेर बाटुलीको सौन्दर्य रस पान गरिरहन्छ । बाटुलिको नाक को फोहरा र ओंठ माथी पुरुक्कै पसिना आएको देखेर-

को भाग्यमानी होला नि बाटुली लाई यतिधेरै माया गर्ने!
थुक्का धेरै नजिस्क्या है बले मार्छु ऐले भन्छिन् बाटुली।
हो यतिबेला ख्याल ख्याल मै सहि ” म तिमिलाई माया गर्छु” भन्न खुब कोशिश गर्यो। तर हरेक चोटी भन्नू अघि बाटुली को मनोभावना मा ठेस लाग्ला, म संग ठुस्केर बोलचालै बन्द होला भनेर ओकल्न लागेको शब्द मुखभित्रै चपाएर राख्यो।
छङछङ बग्ने खोलाको छेवैनेर ओभानो परेको ठाउंमा थचक्कै बसेर बाटुली ले घरबाट बोकि ल्याएको मकै भट्वांस को पोका खोली,भर्ला को पात मा पोको पारी ल्याएको गुन्द्रुक को अचार खोल्दै बले तिर हात बढाई।

ओई बले!
लु खान सुरु गरौं! मलाई अवेर हुन्छ धरान पुग्नुलाई फेरि।
बाटो मा तैंले जे जे भनिस् नि म सबै सुनिरहेकि छु।
तर मेरो बैँस मात्र कल्पेर स्वार्थी हुन सक्दिन हेर् ।
मेरो सपना भित्र आमा, पढाई ,जागिर,माया लुकेको छ ।
म मेरो आमालाई मरुन्जेल सम्म भस्मे फांडेको हेर्न सक्दिन।
म मेरो बैंश खेर फालेर तंलाई लाहुर मा पठाउन पनि सक्दिन।

बरु त भन तेरो दाजुलाई धरान मा बसेर उच्च शिक्षा को लागि खर्च पानी को बन्दोबस्त गरिदिनु भनेर।

तेरो जस्तो भाग्य मेरो कहाँ ?
भोलि बुढा सुब्बा मन्दिर मा भाकल सम्म गर्न सक्छु- कि म गाउंमा सबैभन्दा अब्बल नम्बर लिएर पास हुनपाउं। उच्च शिक्षाको लागि गाउँ बिकास समितिले मेरो नाम सिफारिस गरिदेओस् भनेर। बाटुली बोलिरहंदा – एक शान्त तलाउ मा साना साना ढुंगा फ्यांकेर तरङ्ग उत्पन्न भएको महसुस गर्यो बले ले । एक ठूलो परिवर्तनको मुस्लो मडारिंदै आफुतिर आएको देख्यो। निश्चित भएर अब उप्रान्त लाहुर जाने सपना त्यतिबेलै तुहाईदियो। चुपचाप्  चुपचाप् दुबै बसस्ट्याण्ड तिर लागे, बाटुली गहिरो सोंचमा थिई। बले ले अब बाटुली संगै सपना देख्ने मनमनै प्रण गर्दैथियो। पेरेङो मा चेपिएको भाले कयक! कयक! कराउंदै थियो।

लौ आउनुहोस् ! धरान धरान !
खै म टिकट काटिदिन्छु- बले ले मायालु एक नजर फ्यांक्यो बाटुलितिर।
बसभित्र छिर्नेबेलामा बलेले एक सोलि सुकेको बदाम अनि २,४ दाना सुन्तला हातमा थम्याईदियो। भाले मर्छ है होस गर् भन्यो।

बाटुली भित्र छिरेर झ्याल नेर गएर टाउको बाहिर निकाली।
टिं टिं— पंप्ंप — गुड्यो अब बस धरान तर्फ।

बाटुली ले हात हल्लाउंदा बले ले आफ्नो मुटु छाम्यो। ढुकढुकी ज्यादै बढेको थियो, छातिमा नजानिंदो तातो अनुभूति भयो। धुलो ले बाटो नढाकुन्जेल बले ले घांटि उतैतिर तेर्स्याईरह्यो।

प्रतिक्रिया

सम्बन्धित