तीन स्रष्टालाई रत्न पुरस्कार

बागलुङ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले पद्य र गद्य विधातर्फका तीन स्रष्टालाई पुरस्कृत गरेको छ । शनिबार यहाँ आयोजित एक समारोहमा ‘चुँदीरम्घामा पुर्नजन्म’ निबन्ध सङ्ग्रहका लागि डा मतिप्रसाद ढकाल पुरस्कृत हुनुभएको हो । गद्य विधातर्फको १९ औँ रत्न श्रेष्ठ पुरस्कार प्राप्त गर्ने ढकाललाई नगद रु २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको गुठीले जनाएको छ ।

यस्तै, पद्य विधातर्फ ‘प्रक्षेपण’ मुक्तक सङ्ग्रहका लागि म्याग्दीका स्रष्टा भक्त कार्की र ‘भोको पेट’ कविता सङ्ग्रहका लागि शारदा सुवेदीलाई पुरस्कृत गरिएको हो । दुवैले सम्मानपत्रसहित नगद रु १२ हजार ५०० प्राप्त गर्नुभएको गुठीका संस्थापक÷संरक्षक प्रेम छोटाले जानकारी दिनुभयो । राजधानी बाहिरको जेठो मानिने यस पुरस्कार संस्थाले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।

देशभरबाट प्राप्त गद्य विधाका आठ कृतिमध्येबाट बागलुङमा जन्मी हाल गैँडाकोटमा बस्नुहुने डा ढकालको निबन्ध कृति पुरस्कारको छनोटमा परेको थियो । पद्य विधामा पनि प्राप्त भएका आठ वटा कृतिमध्येबाट कार्की र सुवेदीको कृति पुरस्कृत भएको हो ।

विसं २०३४ मा साहित्यकार छोटाले आफ्नी ममतामयी माता रत्नकुमारी श्रेष्ठको स्मृतिमा उक्त पुरस्कार गुठी स्थापना गर्नुभएको थियो ।
सोही, समारोहमा गुठीको संरक्षकत्वमा सञ्चालित जगतचन्द्र राष्ट्रिय पुरस्कार तथा सम्मान गुल्मीका डा शिवप्रसाद पौड्याललाई प्रदान गरिएको छ ।

बागलुङकी कवयत्री सन्तु श्रेष्ठले आफ्ना बुबा जगतबहादुर श्रेष्ठ र आमा चन्द्रकुमारी श्रेष्ठको स्मृतिमा २०५८ सालमा स्थापना गर्नुभएको उक्त पुरस्कार तथा सम्मान ‘सामाजिक सांस्कृतिक सन्दर्भका नेपाली उखान’ अनुसन्धानमूलक कृतिका लागि प्रदान डा पौड्याललाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि नगद रु २५ हजार र सम्मानपत्र रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित